अपडेट: कोरोना भाइरसबाट विश्वभर ११ हजार ४ सय १७ जनाको मृत्यु, इटालीमा सबैभन्दा बढी

  २०७६ चैत ८ गते १३:४२     विकासन्युज

जेनेभा । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९ सय ५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २ सय ५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए ।

चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहान सहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।

हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ३७ हजार ८ सय ६० जना सङक्रमित रहेको इटालीमा ५ हजार १ सय २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ४ सय ३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४ सय ६६ जना सङक्रमित रहेका छन् । ६ हजार ७ सय ४५ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ८ सय ९० जना सङक्रमित रहेका छन् । शनिबार प्राप्त समाचार अनुसार एक हजार ५ सय ८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ भने १९ हजार ६०० जना सङक्रमित रहेका छन् । उपचारपछि १ सय ८० जना घर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार ३ सय ५२ जना सङक्रमित रहेका छन् भने १ सय ४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ४ सय ५० जनाको मृत्यु भएको छ । हाल १० हजार ५ सय ७५ जना सङक्रमित रहेका छन् । दक्षिण कोरियामा १ सय २ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ८५ जनामा अझै पनि सङ्क्रमण छ ।

कोरोनाभाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा १ सय ७७ जना, नेदरल्याण्ड्समा १ सय ६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कम्तीमा २ सय ७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको छ ।

दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना सङ्क्रमित देखिएका छन् । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्, र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.