सुनसान बने होटल, बेतलवी घर फर्किए कर्मचारी

  २०७६ चैत ८ गते ११:५३     सन्ताेष राेकाया

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै नेपाली होटहहरु पनि सुनसान बनेका छन् । होटलमा ग्राहक नआएपछि धेरै होटलले व्यवसाय बन्द गरिसकेका छन् । यतिखेर काठमाडौं उपत्यकालगायत देशभरका होटलहरु बन्द हुने क्रम बढेको छ ।
कतिपय होटलहरुले व्यवसाय बन्द गरिसकेका छन् भने कतिपय बन्द हुने क्रममा छन् । होटलहरु बन्द भएसँगै त्यहाँ काम गर्ने कर्मचारीहरु पनि बेतलवी घर फर्किरहेका छन् । उनीहरु अनिश्चित समयको लागि घर फर्फिएको जनाइएको छ ।

काठमाडौंका अधिकांश पाँच तारे होटलहरु पनि बन्द भइसकेका छन् भने कतिपय बन्द हुने अवस्थामा छन् । काठमाडौंको पाँच तारे होटल हायात बन्द भएको छ। हायात ब्यवस्थापनले आगामी ६ साताका लागि होटल बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि सावधानी अपनाउन होटल बन्द गरिएको जनाइएको छ ।

अर्को पाँच तारे होटल सोल्टीले दुई वटा विङ्मध्ये एउटा बन्द गरिसकेको छ। बत्तीसपुतलीस्थित होटल द्वारिकाज्ले पनि आफ्नो सेवा बन्द गरेको जनाएको छ। अहिले कोरोनाका कारण पर्यटक आवगमन ठप्प छ। नेपाल सरकारले पनि पर्यटक भिसा दिन बन्द गरेको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले भिडभाड हुने ठाउँमा नजान सर्वसाधारणलाई अपिल गरेको छ।

यस्तै, मेरियट ग्लोबलले नेपालको मेरियटलाई बन्द गर्न सुझाब दिइसकेको छ। होटलका अुसार मेरियट पनि अब बन्द हुने अवस्थामा छ । होटलले अहिले बिजुली र पानीकै खर्च पनि धेरै भएको भन्दै अन्य खर्च पनि उस्तै हुने भएकाले बन्द गर्नुको बिकल्प नरहेको जानकारी दिएको छ । बन्द गरेपछि कर्मचारीलाई के गर्ने भन्ने बिषय टुङ्ग्याउन भने बाँकी रहेको बताइएको छ ।

अर्को होटल र्याडिसन पनि बन्द गर्ने पक्षमा छ। त्यहाँ पनि कर्मचारीसँग कुराकानी मिलाएर बन्द गर्ने तयारी भइरहेको छ। र्याडिसनमा अहिले ३ वटा कोठामा मात्र पाहुना छन्। अन्नपुर्ण र याक एण्ड यति होटलले पनि अहिले कर्मचारीसँग कुराकानी गरिरहेका छन्। बन्द गर्ने भएपछि उनीहरुलाई के कति हर्जाना दिने भनेर छलफल भइरहेको छ।

अहिले अधिकांश होटलहरुले फागुन महिनासम्मको तलब दिएर अनिश्चितकालको लागि कर्मचारीहरुलाई घर पठाएका छन् । सुरक्षा गार्ड र केही सीमित कर्मचारीहरु बाहेक बाँकी सबै कर्मचारीहरुलाई एउटै निर्णयबाट बिदाई गरिएको पर्यटन व्यवसायी एवं होटल सञ्चालकहरुले जनाएका छन् । तर, कतिपयले भने बेतलवी घर फर्काएको बताइएको छ ।

काठमाडौंको प्रमुख पर्यटकको गन्तव्य ठमेलका होटलहरु पनि क्रमिक रुपमा बन्द भइरहेका छन् । सरकारले लगभग सबै देशबाट नेपाल आउन बन्द गरेपछि होटलहरुले कर्मचारीलाई बेतलवी बिदामा घर पठाउन थालेका हुन् । होटल संघ नेपालका महासचिव साजन शाक्यले सरकारसँग ती कर्मचारीहरुलाई तलबको २५ प्रतिशतसम्म खर्च दिनेबारे पहल भइरहेको भए पनि त्यसबारे निर्णय भइनसकेकाले अहिलेसम्मका लागि सबै कर्मचारीहरुलाई बिना तलब अनिश्चितकालको लागि बिदाई गरेको बताए ।

तर, उनीहरुको पुनरागमन हुन्छ भन्ने यकीन नरहेको सञ्चालकहरु बताउँछन् । होटलले ८५ प्रतिशतभन्दा धेरै कर्मचारीहरुलाई अनिश्चितकालको लागि बिना तलब बिदा गरिएको जनाएको छ ।  साक्यले अहिले होटलहरुको व्यवसाय ठप्प भएकोले बन्द गर्नुको विकल्प नरहेको बताए । सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो।

अत्यावश्यक कामका बाहेक आवतजावत र हिँडडुल नगर्न सरकारले आग्रह गरेको छ। सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.