सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

  २०७६ चैत ६ गते १७:३८     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक बस्ने तय भएको हुनाले शुक्रबार सुनुवाइ स्थगन गरेको हो ।

शुक्रबार बिहान ११ः०० बजे बस्ने तय भएको पूर्ण बैठकले अदालत बन्द गर्ने वा अतिआवश्यकबाहेक अरु बन्द गर्ने भन्ने विषयमा निर्णय गर्ने भएको छ । यही चैत ४ नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालत समक्ष अपिल गरेको थियो ।

बारले प्रेस विज्ञप्तिमा मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न जनाएको छ ।
अदालतले नियमित परीक्षण गरेर मात्र सेवा प्रवाह गर्न शुरु गर्ने व्यवस्था मिलाउनुपर्ने वा उक्त व्यवस्था गर्न नसकिएमा बन्दी प्रत्यक्षीकरणको अत्यावश्यकबाहेकको सेवा प्रवाह नगर्ने निर्णय गर्न बारले अपिल गरेको हो ।

अदालतसँग धेरै सेवाग्राहीको भीडभाड हुने र भीडभाडमा कोरोनाको सङ्क्रमणको सम्भावना हुनेहुँदा सङ्क्रमणको सम्भावनालाई न्यूनीकरण गर्न माग गरिएको थियो । सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन हप्ताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो ।

सर्वोच्च अदालतले बारको अपिललाई ध्यानमा राख्दै शुक्रबारका लागि पूर्ण बैठक तय गरको हो । शुक्रबारका लागि सम्पूर्ण मुद्दाको सुनुवाइ बन्द गर्ने भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.