निर्माण उपकरणमा भइरहेको आगजनीबाट महासंघ आक्रोशित, दोषीलाई कडा कार्बाहीकाे माग

  २०७६ चैत ५ गते १६:४४     विकासन्युज

काठमाडौं । देशका विभिन्न भागमा निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरण माथि अज्ञात समुहबाट भइरहेको श्रृखंलावद्ध आगजनीका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन दाहालले बुधवार विज्ञप्ति जारी गर्दै आगजनीका घटनाका बारेमा प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुख लगायतलाई पटक पटक लिखित तथा मौखिक रुपमा जानकारी गराइएको उल्लेख छ ।

तर आगजनीका त्यस्ता घटनामा कुनै कमी नआई निर्माण व्यवसायीहरुलाई अझ बढी आतंकित पार्ने निन्दनीय कार्य निरन्तर भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार बेनी, दरबाङ सडक आयोजना अन्र्तगत विरुवा–क्याराभान जेभीले सडक निर्माण कार्य प्रयोजनका लागि फिल्डमा प्रयोग गरेको क्याराभान कन्स्ट्रक्सन प्रा लि को स्वामित्वमा रहेको एक्साभेटर र ब्याक–हो लोडरमा आइतबार राति अज्ञात समूहबाट आगजनी गरिएको छ ।

त्यस्तै दानबहादुर खड्का संचालक रहेको रेगन निर्माण सेवा सुर्खेतको १ थान एक्साभेटरमाथि जाजरकोट जिल्ला बोरकोट गाउँपालिका वडा नम्बर ९ स्थित पृथ्वीबहादुर बोहराको घरमा रहेको क्याम्पमा रासायनीक पदार्थ प्रयोग गरी आगजनी गरिएको महासंघको विज्ञप्तिमा जनाइएइको छ ।

उक्त एक्साभेटर जाजरकोट–जुम्ला सडक निर्माणमा प्रयोग भइरहेको थियो । आगजनीका यस्ता घटनाले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा सहित भौतिक पूर्वाधारको विकासमा खटिएको सिंगो मुलुकलाई नै अपूरणीय क्षति हुने महासंघको ठहर छ ।

विगतमा यस्ता घटनामा संलग्नलाई कार्वाहीको दायरामा नल्याएका कारण नै एकपछि अर्को आक्रमण तथा आगजनीका घटना भइरहेको महासंघको भनाइ छ । महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न गृह प्रशासन समक्ष आग्रह गर्दै देशभरका निर्माण व्यवसायी सहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न माग गरेको छ ।

साथै पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि महासंघले आग्रह गरेको छ । व्यवसायीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले व्यवसायीहरु माथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाकालागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुन चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.