कोरोनाको असर निर्माणाधीन परियोजनामा, समयावधि लम्बिने सम्भावना बढ्यो

  २०७६ चैत ५ गते ११:१९     सन्ताेष राेकाया

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को असर निर्माणाधीन परियोजनाहरुमा पनि देखिएको छ । नेपाल सरकारले राष्ट्रिय गौरवका आयेजनाका रुपमा लिइएका परियोजनाहरुमा कोरोनाको असर देखिएको बताइएको हो । यसले पनि निर्माणाधीन आयोजनाहरुको काम समयमै सम्पन्न हुनेमा शंका उब्जिएको छ ।

निर्माणाधीन परियोजनाका लागि प्रायःजसोे सामग्रीहरु विदेशबाट आयात हुन्छन् भने धेरै कामदारहरु पनि भारत र चीनबाट आउने गर्दछन् । यसले पनि ती आयोजनाहरुमा असर परेको सरोकारवालाहरुले बताएका छन् । अहिले निर्माणाधीन परियोजनाहरुमा काम गर्ने कामदारहरुको देश भारत र चीनमा कोरोनाको प्रकोप छ ।

नयाँ वर्षका लागि घर फर्केका धेरै विदेशी कामदारहरु नेपाल फर्किएका छैनन् । नेपालका निर्माणाधीन परियोजनामा काम गर्ने अधिकांश कामदारहरु भारत र चीनका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोरोना भाइरसको प्रत्यक्ष असर निर्माणाधीन परियोजनामा परेको बताएको छ ।

यस्तै, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले कोरोनाका कारण निर्माणाधीन आयोजनाहरु सुस्त भएको बताएका छन् । सिँहका अनुसार सबैभन्दा बढी असर नेपालको हाइड्रो र विमानस्थलमा परेको छ ।

‘कोरोनाको कारण अब निर्माण सामाग्रीको मूल्य बढ्न सक्ने सम्भावना छ । नेपालमा निर्माण भइरहेका धेरै परियोजनमा चीनियाँ र भारतीय कामदारहरु छन, कोरोनाको कारण उनीहरु आफ्नै देशमा छन्, यसले पनि काम सुस्त छ’, उनले भने ।

हाल अमेरिकी डलरको मूल्य बढेकोले पनि निर्माण सामाग्रीको मूल्य पनि बढ्ने संकेत देखिएको उनको भनाइ छ । यसले निर्माणाधीन परियोजनाका लागत पनि बढ्नेछ भने आयोजनाको निर्माण समायावधि पनि लम्बिने सम्भावना बढेको छ । हाल कोरोनाको कारण निर्माण कार्य न रोक्न सकेको नत तीव्र गतिमा अगाडि बढाउन सकिएको सिँहको भनाइ छ ।

आयोजना निर्माणको ठेक्का लिएको ठेकेदाहरुले पनि कोरानाको कारण निर्माण कार्य सुस्त भएको बताएका छन् । उनीहरुले निर्माण कार्यमा निर्माण सामाग्री र जनशक्तिको अभावले काममा तीव्रता दिन नसकिएको बताएका हुन् । स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आउँदो असारबाट विद्युत उत्पादन गर्न सुरु गर्ने बताए पनि कोरोनाको कारण यसको काम लम्बिने सम्भावना बढेको छ ।

चीनियाँ कामदार भएको परियोजनामा कामदारको त्यति समस्या नभए पनि विज्ञहरुको टोलीले कामको निरिक्षण गर्ने कार्य नभएकोले काम पछाडि धकलिन सक्ने आयोजनामा प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए ।

‘अहिलेसम्म त्यस्तो प्रत्यक्ष असर परेको छैन, विस्तारै यसको असर पर्न सक्ने संकेतहरु देखा परेका छन्, मुभमेन्टहरुमा पनि कमि आउन थालेका छन, युरोपका परामर्शदाताहरु आउन सकिरहेका छैनन्, अस्ति नै तीन जना आउनु पर्ने थियो तर आएनन्, यसको इम्प्याक्ट आयोजनालाई पर्ने देखिन्छ’, उनले भने ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालका अनुसार देशभर निर्माधीन अवस्थामा रहेको सबै विमानस्थलहरुमा कोरोनाको असर देखिएको छ । विशेष गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानथल र पोखरा क्षेत्रिय विमानस्ग.थलमा कोरोनाको असर बढी देखिएको उनको भनाइ छ ।

उनले कोरोना कति सम्म रहन्छ त्यहि अनुसारको निर्माणाधीन विमानस्थलमा असर पार्ने उनले बताए । अब निर्माणाधीन आयोजनाहरुको तोकिएको समयमा निर्माण कार्य नसकिने खतरा बढेको उनले बताए । यस्तै, पोखरा क्षेत्रिय विमानस्थलको निर्माणको निर्माण कार्यमा पनि कोरोनाकै कारण समस्या आएको बताइएको छ । हाल विमानस्थलको निर्माण कार्य ५६ प्रतिशत भइसकेको छ ।

परियोजना प्रमुख विनेश मुनाकर्मिले कोरोनाको कारण दुई महिनादेखि निर्माण कार्य निरन्तर रुपमा गर्न नसकेको बताए । कामदारहरु चीनकै भएकोले काम निकै प्रभावित भएको उनको भनाइ छ । उक्त विमानस्थलको कुल लागत २द्द अर्ब हो । २०२१ जुलाईमा निर्माण कार्य सक्ने भनिएको विमानस्थलको ६ महिना अगावै काम सक्ने आयोजना कार्यालयको दावि थियो । अब भने कोरोनाको कारण काम लम्बिने खतरा बढेको छ ।

हाल कोरोना भाइरसकै कारण धेरै राष्ट्रिय गौरवका आयोजनाहरु प्रभावित भएका छन् । यस्तै, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा कोरोनाले खासै असर नपारेको बताइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ ।

आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई तीन जना मात्रै अहिले चीन गएका छन् । उनीहरु नहुँदा पनि अहिले काममा कुनै अवरोध नपुगेको आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर कमलराज श्रेष्ठले बताए । उनका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरु त्यसपछि फर्किएका छैनन् ।चीन गएकामध्ये एकजना परियोजना व्यवस्थापक र एक जना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) रहेका छन् ।

उनीहरु केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ‘फास्ट ट्र्याक’ निर्माणमा पनि हालसम्म कुनै असर नपरे पनि अब भने पर्ने खतरा छ । मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएकोे द्रुतमार्ग निर्माण सेनाले इतिहास रच्ने अवसरका रूपमा लिएर कामलाई तीव्रता दिएको छ ।

उक्त आयोजनामा हालसम्म कुनै पनि चिनियाँ ठेकेदार र कामदार संलग्न नभएका कारण कोभिड–१९ को असर नपरेको हो । खरिद ऐनको प्रक्रिया र केही नीतिगत निर्णयका कारण हुने ढिलाइबाहेक आयोजना अघि बढाउने सन्दर्भमा हालसम्म कुनै बाधाअड्चन नभएको हुँदा कार्ययोजनानुसार नै काम भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्पष्ट पारे ।

राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक चासो दिएर हेरिएको ७२ दशमलव ६ किलोमिटर लम्बाइको उक्त राजमार्गको निर्माणले नेपालको आर्थिक विकासमा कायापलट ल्याउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.