नागरिक लगानी कोषले ल्यायो सबै नेपालीलाई पेन्सन दिने कार्यक्रम, सामाजिक सुरक्षा कोषकोभन्दा फाइदा धेरै

  २०७६ चैत ४ गते १४:४८     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले सबै नेपालीलाई पेन्सन दिनेगरी नागरिक पेन्सन योजना सुरु गरेको छ । कुनै पेशा व्यवसाय वा क्षेत्रमा आवद्ध भएका र नियमित आम्दानी गर्ने नेपालीलाई लक्षित गरी नागरिक पेन्सन योजना ल्याइएको हो ।

कोषले ल्याएको पेन्सन योजनामा आफ्नै बन्द व्यापार गर्नेहरु पनि सहभागी हुन सक्नेछन् । जागिर गर्नेहरुलाई पनि यो योजनाले समेट्ने कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए ।

नागरिक पेन्सन योजनामा सहभागी भएकाहरुले पेन्सन योजनाबाट बाहिरिन पनि पाउने सुविधा राखिएको छ । कट्टेलका अनुसार पेन्सन योजनामा सहभागी भएका नागरिकको मृत्यू भएमा उसको श्रीमान वा श्रीमतीले पूरै पेन्सन पाउने व्यवस्था गरिएको छ ।

यस्तै, कोषमा जम्मा भएको रकमको ८० प्रतिशतसम्म ऋण लिन पाइने, मासिक ५ सय रुपैयाँदेखि आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सकिने, बैदेशिक रोजगारीमा हुनेले पनि यो योजनामा सहभागी हुन पाइने लगायतका सुविधा छन् ।

यस्ता छन् योजनाका विशेषताहरु

सहभागिता

यस योजना अन्र्तगत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् ।

बचत गर्न सकिने सीमा

यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रूपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक, वा वार्षिक रुपमा रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । यस्तो किस्ता बुझाउँदा मासिक ५ सय रुपैयाँभन्दा कम नहुने गरी बुझाउनु पर्नेछ ।

किस्ता रकम नियमित बुझाउनु पर्ने

सहभागीले आफूले छनौट गरेको किस्ता अनुसारको रकम नियमित रुपमा बुझाउनु पर्नेछ । यसरी निर्धारण गरिएको किस्ता रकम समयमा दाखिला नगरेमा कोषले निर्धारण गरेको विलम्ब शुल्क तिरी किस्ता नियमित गर्न सकिने छ ।

योजनाबाट अलग हुने अवस्था

बचतकर्ताको आय स्रोत गुमेमा वा असक्तताको कारणले आय आर्जन गर्न असक्षम भएमा वा वसाई सरी अन्य मुलुकमा गएको खण्डमा यस योजनाबाट अलग हुन सकिने छ । यसरी योजनाबाट अलग हुदा बचतकर्ताहरुले शर्त बमोजिम नियमित रुपमा बचत गरेको कम्तीमा २ वर्ष पुरा भएको हुनु पर्नेछ । यस्तो अवस्थामा बचतकर्ताको नाममा जम्मा रहेको साँवा रकम एकमुष्ठ भुक्तानी गरिनेछ ।

पेन्सन पाउन योग्य हुने अवस्था

–पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ ।

–बचतकर्र्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भूक्तानी लिन वा पेन्सनको रुपमा भूक्तानी लिन सक्नेछन् ।

–कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् ।

पेन्सन गणना विधि

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् ।

पति वा पत्नीले पेन्सन पाउने

– पेन्सन पाउन योग्य सहभागीले पेन्सन प्राप्त गर्न शुरु गरेपछि निजको मृत्यु भएमा मृतकको पति वा पत्नीलाई निजले पाइरहेको रकम वराबर नै पारिवारिक पेन्सन प्रदान गरिनेछ । तर, सहभागीसँग निजको अंशबण्डा भएको भए वा वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान गरिने छैन ।

–बचतकर्ताको निबृतिभरण शुरु भएपछि निज र निजको श्रीमान वा श्रीमति दुबैको मृत्यु भएमा कोषमा सम्बन्धित ब्यक्तिको नाममा बॉकी रहेको बचत रकम निजहरुको कानुनी हकदारलाई प्रदान गरिनेछ ।

– कुनै बचतकर्ताको निबृतिभरण प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको नजिकको हकवालालाई निजले जम्मा गरेको रकम, त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ रुपमा प्रदान गरिने छ ।

– नेपाल सरकार वा अन्यत्रबाट पेन्सन पाइरहेको व्यक्तिले कोषमा योगदान गरी निवृत्तिभरणको लागि योग्य भएमा कोषबाट पेन्सन लिन बाधा पर्ने छैन ।

योजनामा रकम जम्मा गर्ने विधि

– सहभागी बचतकर्ताले जम्मा गर्नु पर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा बिद्युतीय भूक्तानीमार्फत जम्मा गर्न सक्ने छन् । बचतकर्ताले बैंकमा रकम दाखिला गरेपछि सोको जानकारी कोषलाई दिनु पर्नेछ । कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकमप्रति कोषको कुनै दायित्व रहने छैन ।

–कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नु पर्ने छ ।

–रकम जम्मा गर्दा आफ्नो सही नाम र कोषले प्रदान गरेको परिचय नम्बर उल्लेख गर्नु पर्ने दायित्व सम्बन्धित बचतकर्ताको हुनेछ । गलत नाम वा परिचय नम्बर उल्लेख भई रकम जम्मा भएमा त्यसको जिम्मेवारी कोषले लिने छैन ।

कोषमा जम्मा भएको रकममा ब्याज तथा प्रतिफल दिइने

– योजना अन्तर्गत कोषमा जम्मा भएको रकममा समितिले समय समयमा निर्धारण गरे अनुसार दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा ब्याज प्रतिफल प्रदान गरिने छ ।

सहभागीहरुलाई सापटी तथा अन्य सुबिधा

– कोषले योजनाका सहभागी बचतकर्तालाई निजको नाममा जम्मा रहेको रकममा बढीमा ८० (असी) प्रतिशतसम्म सापटी प्रदान गर्न सकिनेछ ।

– जुनसुकै कारणले बचतकर्ताको मुत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई दश हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइनेछ ।

– बचतकर्ताले कोषद्वारा तोकिएका प्राइभेट अस्पतालमा औषधी उपचार गर्दा लाग्ने खर्चमा छुट सुविधा प्रदान गर्न सकिने छ ।

– दुर्घटनामा परीे बचतकर्ता मृत्यु हुन गएमा निजको नजिकको हकवालालाई दुर्घटना वीमा बापत एक लाख रुपैयाँ प्रदान गरिने छ ।

सम्बन्धित सामग्री

सबै नेपालीलाई पेन्सन दिने महत्त्वाकांक्षी कार्यक्रम संचालनको अन्तिम तयारीमा सीआईटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.