होटल व्यवसायीले एक महिनामै गुमाए २ अर्ब, हेलिकोप्टर व्यवसाय पनि ९० प्रतिशतले खस्कियाे

  २०७६ चैत ३ गते १८:२१     विकासन्युज

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण नेपाली होटलहरुले ठूलो नोक्सान बेहोर्नु परेको छ । नेपाली होटल तथा रेष्टुरेन्टले एक महिनामै करिब २ अर्ब रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको बताइएकाे हाे ।

होटल संघ नेपालका अनुसार होटल तथा रेष्टुरेन्टले अहिले मासिक १ अर्ब ८० करोड रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको छ । होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले होटल व्यवसायीहरुले काेराेनाकाे कोरोना भाइरसको कारण नेपाली होटल तथा रेष्टुरेन्टहरुले धेरै नोक्सान व्यहोर्नु परेको बताइन् । उनले व्यवसायीहरुले बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आएको बताइन् ।

‘अहिले बैंक कर्जा करिब एक अर्ब रहेको छ, होटलको अकुपेन्सी रेट १० प्रतिशतमा झरेकाे छ, हामी बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा छाै,’ उनले भनिन् ।

सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरेकाे छ । नेपालमा कोरोना भाइरसको संक्रमण नदखिएपनि पर्यटन क्षेत्रमा समस्या देखा परेको गुनासो पर्यटन व्यवसायीहरुले गरेपछि सरकारले समस्याहरु स्पस्टसँग राख्न आग्रह गरेकाे हाे।

उनले भावनात्मक रुपमा भन्दा पनि प्राथमिकताका आधारमा पर्यटन व्यवसायमा परेका समस्याहरु पर्यटन मन्त्रालयसँगको सहकार्यमा सरकारलाई उपलब्ध गराउन आग्रह गरेकाे हाे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा‍. धनन्जय रेग्मीले धेरैजसो एयरलाइन्सले उडान रद्ध गरेको र एयर टिकेटहरु समेत रिफण्ड गर्नुपर्ने अवस्था आएको बताए । उनले पर्यटन व्यवसायीहरुले तिर्नुपर्ने करमा ५० प्रतिशत छुट दिन अथवा करमा लाग्ने जरिवाना नलगाइदिन पहल गर्न बोर्डलाई आग्रह गरिरहेको बताए ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले तीन क्याटागोरीको एयरलाइन्स रहेकोमा सबैभन्दा बढी हेलिकोप्टर व्यवसायको बिजनेस घटेको बताए । उनले हेलिकोप्टर व्यवसायमा ९० प्रतिशत, सर्ट टेकअफ स्टलमा ६० प्रतिशत र ट्रंकरुटमा २० प्रतिशत सम्मको बिजनेस घटेको बताए ।

नोभल कोरोना भाइरसको संक्रमण विश्वभर फेलिएपछि नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको छ । व्यवसायीहरुले छोटो सयमा देखिएको संकटले व्यवसायिक क्षेत्रमा एक दुई वर्षसम्म असर पार्न सक्ने भन्दै सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । हाल विदेशीले बुकिङ गरेका होटलहरुका पनि धमाधम रद्द हुन थालेका छन् ।

विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिरहँदा विदेशी पर्यटकहरु पनि नेपाल आउन छोडेका छन् । अहिले नेपालको होटल, लज तथा रेष्टुरेन्टको व्यवसाय सुस्ताएको छ ।

विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्द हुन थालेका हुन । यही अवस्था रहे नेपालको पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको अर्थतन्त्र नै चौपट हुने देखिन्छ ।  होटल व्यवसायी संघका महासचिव साजन शाक्यले बुकिङ भइसकेका होटलहरुको करिब ९९ प्रतिशत बुकिङ रद्द भइसेको बताए । उनले होटलमा विदेशी ग्राहकको आगमन धेरै घटेको बताए ।

यो वर्षको फेब्रअरी सम्म १ लाख ग्राहक आएको बताँदै उनले सबैभन्दा बढी होटल बुकिङ रद्ध युरोपियन अमेरिकन र भारतीय ग्राहकबाट भएको विकासन्यूजलाई जानकारी दिए । शाक्यका अनुसार चिनियाँमात्र नभएर अन्य युरोपेली मुलुकबाट समेत पर्यटक नेपाल आउन छाडेका छन् ।

यही अवस्था रहे नेपालको पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको होटल व्यवसाय नै चौपट हुने उनी बताउँछन् । पर्यटन व्यवसाय सुधारका लागि अहिले सार्क राष्ट्रहरुमा केन्द्रित हुने नीति लिइएको छ । अहिलेको हवाई भाडामा समेत सहुलियत दिएर पर्यटक आकर्षित गर्ने रणनीति बनाइदैँ छ । त्यसका लागि अहिले सम्बद्ध निकायहरुबीच छलफल चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.