पर्खौैं र हेरौंको रणनीतिमा एफएनसीसीआई

  २०७६ चैत ३ गते १३:२७     विकासन्युज

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । १ सय ५५ भन्दा बढी देशमा फैलिसकेको कोरोना भाइरसको नियन्त्रण तथा यसबाट बच्नका लागि विभिन्न देश र त्यसका निजी क्षेत्रहरु सर्तकता अपनाइरहेका छन् ।

चीनबाट सुरु भएको भनिएको यो भाइरससँग लड्न सरकार आफै र विभिन्न देशका निजी क्षेत्रहरु विविध रणनीति तथा कार्यक्रमहरु बनाइरहेका छन् ।

नेपालले पनि यो भाइरस नभित्रियोस् भनेर सतर्कताका विभिन्न उपायहरु अवलम्बन गरिएको छ । भलै कोरोना भाइरस नेपालमा देखा परेको छैन ।

एक जनामा देखा परेको भनिएपनि निको भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको संज्ञा दिइसकेको छ । अमेरिकाले पनि संकटकाल घोषणा गरी आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा तल्लीन छ । नेपाल सरकार पनि कोरोना भित्री हाले त्यसको तीव्र पूर्व तयारीमा जुटेको छ ।

नेपालले स्वास्थ्य सेवा विस्तारदेखि यात्रामा कडा निगरानी तथा चेकजाँच गरिरहेको छ । यसमा सरकार मात्र होइन, निजी संस्थाहरुको सहकार्य र समन्वय पनि उतिकै अपरिहार्य हुन्छ । विश्वभरका निजी क्षेत्रले कोरोनाको महामारी नियन्त्रण गर्न योगदान दिइरहेका छन् । बिलगेट्स फाउण्डेसन्, ज्याकमा फाउण्डेसन लगायतले यसको न्यूनिकरणमा ठूलो योगदान र समन्वय गरिरहेका छन् । तर, नेपालको सबैभन्दा ठूलो भनिएको निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ भने यसप्रति त्यति गम्भीर देखिँदैन ।

हाल नेपालमा कोरोनाको त्रासकै कारण सर्जरी माक्स, स्यानिटाइजर लयागतका सामानहरुमा कालोबजारी मौलाएको छ । तर, यसको सहज उपलब्धतामा भूमिका खेल्न सक्ने सबैभन्दा ठूलो निजी क्षेत्र महासंघ यी सबै कूराहरुप्रति अनविज्ञ जस्तै बनेर चुनावमा होमिएको छ । यतिखेर निर्वाचनका लागि महासंघका प्रतिनिधिहरु तीव्र प्रचार प्रसारमा जुटेका छन् । सरकारले भेला, सभा–सम्मेलन नगर्न भनेर औपचारिक रुपमै आग्रह गरिसकेको छ ।

तर, आगामी चैत २८ मा तय भएको नेपाल उद्योग महासंघको साधारण सभा भने अहिलेसम्म पनि स्थगित गरिएको छैन । बरु महासंघ चुनाव गररै छोड्ने दाउमा छ ।

महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले यस्तो संकटको समयमा महासंघ चुनावमा होमिनु अस्वभाविक र दुर्भाग्य भएको बताए ।

‘निजी क्षेत्रले आफ्नो सम्पूर्ण ध्यान अहिलेको स्थितिमा औद्योगिक व्यावसायिक जगतले खेल्न सक्ने भूमिका हुनु पर्छ, यसमा निजी क्षेत्रको दायित्व के हुने भन्ने तय गरेर रचनात्मक काममा उनीहरु लाग्नु पर्दछ, उनले भने ।

जो–जो व्यवसायीले कालोबजारी गरिरहेको छ, त्यसलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने उनले बताए । त्यसमा निजी क्षेत्रले सरकारलाई सहयोग गर्नु पर्ने र कोलो बजारी गर्नेका सूचना पनि सरकारलाई निजी क्षेत्रले दिन सक्नु पर्ने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघको गत शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको चुनाव सार्ने वा नसार्ने बारे १० दिनपछि मात्र तय हुने निर्णय गरेको थियो । तर महासंघको चुनाव सर्न सक्ने सम्भावना न्यून छ ।  किनकि सबै प्रतिनिधिहरु प्रचार प्रसारमा जुटेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठ सरकारले चुनाव अहिले गर वा नगर केही पनि भनेको कारण महासंघको चुनाव सार्ने सम्बन्धि भन्न नसकिने अवस्था नभएको बताउँछन् । उनले महासंघले सरकारले भने बमोजिम गर्नु पर्ने बताउँदै सरकारको निर्देशन बमोजिम महासंघले चल्नु पर्ने धारणा राखे ।

विश्वमा यति ठूलो आतंक तथा संकट सिर्जना भइरहेको बेला देशकै ठूलो निजी क्षेत्र यसरी निष्कृय देखिनु विडम्बना हो । उल्टै महासंघमा आवद्द व्यवसायीहरु कसरी कमाउन सकिन्छ भन्ने रणनीति तथा कमाउ धन्दामा लागेको देखिन्छ । सरकारले त्यस्ता कालोबजारी गर्ने विभिन्न व्यवसयाीलाई पक्राउ गरी कारबाहीको प्रक्रियामा लिइसकेको छ ।

कोरोना भाइरसका कारण संसारभरि डरलाग्दो अवस्था सिर्जना भएको छ । यो अवस्थामा हामी सबैको पहिलो प्राथमिकता अहिलेको परस्थितिलाई सबै मिलेर सामना गर्ने हो । यो अवस्थामा निजी क्षेत्रको पनि धेरै ठूलो भूमिका र दायित्व हुन्छ । अहिले नेपालमा कोरोना फैलिएको छैन । यदि भइहाल्यो भने हामीसँग ब्याकअप केही पनि छैन ।

आम जनमानसमा यसको त्रास कायम रहेको यो अवस्थामा निजी क्षेत्रले सरकारसँग सहकार्य गरेर रोग आउन नदिने आइहाले पनि नियन्त्रण गर्ने, जनजीवन सहज बनाउन भूमिका खेल्नुपर्छ । तर, यही अवस्थामा महासंघ चुनावमा होमिएको छ । महासंघले मानव जीवन महत्वपूर्ण कि चुनाव महत्वपूर्ण हो भन्ने कूरा बुझ्न आवश्यक छ ।

यसमा नेपाल चेम्बर अफ कमर्सले सानै भएपनि माक्स उत्पादनको काम सुरु गरेको छ । अहिलेको लागि यो राम्रो सुरुवात हो । तर महासंघले पनि यसतर्फ ध्यान दिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.