नेपाल टेलिकमको फोरजी सेवा पर्यटकीय स्थल स्याङ्बोचेमा

  २०७६ चैत २ गते १४:३६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात गरेको हो ।

विश्वकै सबभन्दा अग्लो शिखर सगरमाथा आरोहणका लागि जाने आरोहीहरु लगायत हिमालको दृश्यावलोकनका लागि विश्वभरबाट आउने पर्यटकहरुले यसबाट प्रत्यक्ष लाभ उठाउन सक्नेछन्
। पर्यटकीय मौसममा स्याङ्बोचे हुँदै खुम्जुङ, खुण्डे तथा चर्चित गोक्यो ताल जाने पदयात्रीहरुको आवतजावत बाक्लो हुने गर्दछ ।

स्याङ्बोचे नजिकै रहेको एभरेष्ट भ्यु होटलबाट सगरमाथाको दृश्यावलोकन गर्ने विदेशीहरुको संख्या पर्यटकीय मौसममा दैनिक ५ सयभन्दा बढी पुग्ने गरेको छ । यसका साथै यहाँ नेपालकै सबैभन्दा अग्लो स्थानमा अवस्थित स्याङ्बोचे विमानस्थल समेत रहेको छ ।

पर्यटकीय दृष्टिबाट अत्यन्त महत्वपूर्ण सो स्थान आसपास पर्यटकीय मौसममा दैनिक ७ सयभन्दा बढी विदेशी पर्यटकहरु आउने गरेका इलाका प्रहरी कार्यालय नाम्चेका इन्सपेक्टर केशबकुमार कटुवालले बताए ।

स्याङ्बोचेमा स्थापित मोबाइल बीटीएसबाट त्यहाँ पुग्ने विदेशी तथा स्वदेशी यात्रुहरुले पनि उच्च गतिको डाटा र गुणस्तरीय भ्वाइस सुविधा सहितको फोरजी मोबाइल सेवा उपभोग गर्न सक्ने छन् । सगरमाथा आरोहणका लागि वेस क्याम्प जाने मार्ग समेत स्याङ्बोचे हुँदै अघि बढ्ने भएकाले आरोहीहरुले यो सेवाको प्रयोग गर्न सक्ने छन् ।

यही मार्ग हुँदै पर्यटकीय मौसममा दैनिक आउने र जाने गरी एक हजारभन्दा बढी पर्यटकले फोरजी सेवा प्रयोग गर्न सहज हुनेछ । फागुन १५ देखि जेठ १५ सम्म र असोज, कात्तिक र मंसिरलाई त्यस क्षेत्रको भ्रमणका लागि उपयुक्त समय मानिन्छ । ती दिनमा नाम्चे, स्याङ्बोचे, खुम्जुङ, खुण्डे, चर्चित गोक्यो ताल लगायत स्थानहरु भ्रमण गर्ने तथा सगरमाथा आरोहण गर्ने पर्यटकको आवतजावत अत्याधिक हुने गरेको छ ।