अब भ्रमण वर्ष होइन, भ्रमण दशक मनाउने तयारीमा सरकार

  २०७६ चैत २ गते १४:१८     सन्ताेष राेकाया

काठमाडौं । सरकार अब भ्रमण दशक मनाउने तयारीमा जुटेको छ । यसअघि दुई पटक भ्रमण वर्ष मनाइसकेको सरकारले अब भने भ्रमण दशक मनाउने तयारी गरिरहेको हो । याे वर्ष अर्थात २०२० पनि नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको थियो ।

तर, विश्वभरी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको कारण नेपाल सरकारले भ्रमण वर्ष २०२० स्थगित गरिसकेको छ । अब सरकारले एक वर्षलाई मात्र भ्रमण वर्षका रुपमा नभइ एक दशकलाई नै भ्रमण दशकका रुपमा मनाउन तयारी गरिरहेको बताइएको छ ।

आइतबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा सातै प्रदेशका पर्यटन मन्त्रालयसम्बन्धि अधिकारी र विभिन्न स्थानीय तहका जनप्रतिनिधीहरुबीच भ्रमण  दशक मनाउने छलफल भइरहेको छ । यसका लागि विभिन्न प्रदेशका प्रतिनीधिहरुले प्रादेशिक अवधारणा पनि प्रस्तुत गरिरहेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले पनि सरकार अब भ्रमण दशक  मनाउने तयारीमा जुटेको बताए । उनले कोरोना भाइरसले विश्वमा ल्याएको क्षति र महामारीले नेपाली पर्यटन र समग्र अर्थतन्त्र पनि नराम्रो गरी असर पारेको बताउँदै अब सरकार भ्रमण दशक मनाउने तयारीमा रहेको बताए ।

यसका लागि सातै प्रदेशका पर्यटन सचिव, र स्थानिय तहका जनप्रनिधिहरुबीच छलफल भइरहेको उनले बताए । ‘हामी अब २०३० सम्म भ्रमण दशकको रुपमा मनाउँछौं, बरु प्रत्येक वर्षलाई विशेष तरिकाले मनाउँछौं, २०३० सम्म विभिन्न कार्यक्रम तथा पर्यटकीय प्याकेजहरु ल्याएर नेपालमा पर्यटक भित्र्याउँछौं’, उनले भने ।

यस्तै, मन्त्रालयका पर्यटन महाशाखाका प्रमुख घनश्याम उपाध्यायले नेपालको संविधान, दीगो विकास लक्ष्य पर्यटन र पन्ध्रौं योजनाका लक्ष्य, सहकार्य आयोजना सञ्चालनका लागि मार्गदर्शन, सावटै प्रदेशमा सञ्चालित पर्यटन विकास आयोजना तथा हिल स्टेशनको लागि प्रस्तावित स्थलहरुको प्रस्तुति दिँदै नेपाल भ्रमण दशक २०२०–३० मनाउने तयारी भइरहेको बताए ।

उनले पर्यटनमा पन्ध्रौं योजना गरेका प्रमुख लक्ष्यहरु प्रस्तुत गर्दै त्यसमा ३५ लाख पर्यटक, पर्यटकको बसाई अवधि १५ दिन, प्रति पर्यटक प्रतिदिन औसत खर्च ८० अमेरिकी डलर र यसले ५ लाख ९० हजारलाई रोजगारी सिर्जना गर्ने बताए । नेपाली पर्यटनले नेपालको कूल ग्राहस्थ उत्पादनमा १० प्रतिशत योगदान गर्ने उल्लेख गर्दै उनले सबै प्रदेशमा भएका भौतिक संरचना को निर्माण तथा पुनर्निर्माणमा ध्यान दिने बताए ।

भ्रमण दशकका लागि आयोजना बैंक

सरकारले अब भ्रमण दशकका लागि आयोजना बैंक स्थापना गर्ने भएको छ । आयोजना बैंक अन्तर्गत विभिन्न प्रदेशमा विभिन्न पर्यटकीय हबहरु स्थापना गरी पर्यटकीय स्थलहरुको प्रचार तथा प्रचार गरिने बताइएको हो । सरकारले भ्रमण दशक २०२०–३० सम्म विभिन्न प्रदेशमा पर्यटन बसपार्क, प्रदेश पर्यटन सूचना केन्द्र, नमस्ते सेन्टर, एक प्रदेश– एक पर्यटन उपज निर्माण गर्ने बताइएको छ । एक प्रदेश एक पर्यटन उपजका लागि पचास करोड रुपैयाँ आवश्यक हुने बताइएको छ ।

यस्तै, प्रत्येक प्रदेशमा एक आयोजना सहकार्य निर्माण गरिने उल्लेख गरिएको छ । उपत्यका आसपासमा हाइकिङ रुटहरुको विकास गर्ने बताइएको छ । आयोजना बैंक अन्तर्गत कालिगण्डकी हाली र्याफ्टीङ धार्मिक महत्वका नदिको मूल बिन्दु समेट्ने, नारायणी नदि लगायतमा रिभर बिच विकास, विभिन्न ठाउँमा क्यासिनो जोनलगायतका काम गरिने अवधारणामा उल्लेख छ।

पर्यटन तथा भ्रमण दशकका लागि वार्षिक अवधारणागत कार्यक्रम, अन्तर्राष्ट्रिय मिडियामा नेपालको प्रचार प्रसार, उपत्यकाका विभिन्न सम्पदाहरु जोड्ने संरचना निर्माण गर्ने कार्यक्रमहरु राखिएका छन् । भ्रमण दशकमा पर्यटकहरुका लागि पर्यटक उद्दार अस्पताल सञ्चालन गर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।

सातै प्रदेशमा हिल स्टेशन

उपाध्यायले प्रस्तुत गरेको अवधारणामा सातै प्रदेशका विभिन्न ठाउँमा हिल स्टेशन निर्माण गरिने उल्लेख गरिएको छ । सातवटै प्रदेश अन्तर्गत प्रदेश एकको श्रीअन्तु, इलाम, प्रदेश दुईको गढीमाई सिम्रौनगढ,बारा, बागमती प्रदेशको इन्द्रसरोवर क्षेत्र मकवानपुर, गण्डकीको हुस्पेकोट, नवलपरासी पूर्व, प्रदेश पाँचको नरपानी, अर्घाखाँची, कर्णालीको गुराँसेडाडा, दैलेख र सुदूरपश्चिम प्रदेशको भातकाँडा,कैलालीमा हिल स्टेशन निर्माण गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.