कोरोना असर कन्सल्टेन्सीमाः वैदेशिक अध्ययन ठप्प

  २०७६ फागुन २९ गते १२:२५     डोमी शेर्पा

काठमाडौं । वैदेशिक अध्ययनको लागि विद्यार्थीलाई सहयोग गर्ने शैक्षिक परामर्शदाता संस्थाहरु संसारभरमा कोरोनाको प्रभावको कारण केही समय ठप्प हुने भएका छन् ।

संसारभर कोरोनाको संक्रमण बढेसँगै वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई सरकारले अर्काे सुचना जारी नभएसम्म रोक लगाए पछि कन्सल्टेन्सीहरु ठप्प हुने भएका हुन् ।

सरकारले विद्यार्थीलाई सात देशको लागि रोक लगाएको भनेर भने पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च संक्रमण देशको रुपमा उल्लेख गरेपछि सबै देशहरुमा सरकारले वैदेशिक अध्ययन अनुमति पत्र रोक लगाएको हो ।

स्कोप कन्सल्टेन्सी सर्भिसेसका प्रबन्ध निर्देशक विक्रम केसी यो समय कन्सल्टेन्सीहरुको लागि अध्ययन र अनुसन्धान गर्न समय भएको बताउँछन् । अध्ययनको लागि विदेश जाने विद्यार्थीको संख्या करिब ठप्प भएकोले अन्य काममा समय दिइएको उनले बताए ।

‘कोरोना सन्त्रासका कारण हरेक क्षेत्रमा असर देखिएको छ, तर यो समय बिजनेस भएन भनेर बस्नेभन्दा पनि महामारीबाट जोगिनु ठूलो कुरा हो, अझ हामीहरु त आफैमा अध्ययन गरिरहनु पर्ने क्षेत्रको संस्था भएकोले अध्ययन र अनुसन्धानमा समय दिइरहेका छौं,’ केसीले भने ।

प्लस टुको परीक्षापछि मात्र विदेश जाने विद्यार्थीको चाप बढ्ने गर्दछ । कन्सल्टेन्सी व्यवसाय सिजनल व्यवसाय भएकोले पनि यो समय शान्त रहने समय हो । कोरोनाले झन् शान्त बनाएको बुझ्नुपर्ने केसी बताउँछन् ।

जापानको लागि सबैभन्दा बढी विद्यार्थी अप्रिल महिनामा उड्ने गरेको साकुरा ईन्टरनेसनलका संचालक अनुज कुमार श्रेष्ठ बताउँछन् ।

तर, अहिले सरकारले कोरोनाको कारण वैदेशिक अध्ययन अनुमतिपत्र दिन रोक लगाएपछि कन्सल्टेन्सी क्षेत्र नै डामाडोल भएको छ ।

भिसा आइसकेका विद्यार्थी पनि कहिले उड्ने ठेगान नभएको उनले बताए । यद्यपि जापानले ३ महिना अध्यागमन पत्रलाई बढाएर ६ महिना बढाएको छ, जसले केही राहत भने दिएको श्रेष्ठले बताए ।

‘वैदेशिक अध्ययन अनुमतिपत्र लिएर कलेजमा फी पठाएका विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन्, यहाँबाट धेरै अभिभावकले ऋण लिएर पठाएका हुन्छन् तर कहिले उड्ने ठेगान नहुँदा यहाँ व्याज मात्र बढ्ने र विद्यार्थी अभिभावकहरुले यसमा केही गर्न पनि नसक्ने अवस्था सिर्जना भएको छ,’ श्रेष्ठले भने ।

सरकारले कोरोना संक्रमणलाई लक्षित गर्दै एनओसी बन्द गरेको पाटोलाई प्रशंशायोग्य रहेको नेपाल शैक्षिक परामर्श संघका उपाध्यक्ष तथा अर्बिट ईन्स्टिच्युटका निर्देशक शेषराज भट्टराई बताउँछन् ।

‘व्यवसाय हो, कहिले नाफा र कहिले घाटा हुन्छ तर यो अवस्थामा नाफा घाटाभन्दा पनि नागरिकको सुरक्षा देशको हितले प्राथमिकता पाउनु पर्छ,’ उपाध्यक्ष भट्टराईले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.