माक्स र सेनिटाइजरमा व्यापारीले शतप्रतिशत नाफा खाँदा हुन्छ : उद्याेग राज्यमन्त्री

  २०७६ फागुन २९ गते ११:५०     राजाराम न्यौपाने

काठमाडौं । नेपालको कानुन अनुसार व्यापारीले २० प्रतिशतभन्दा धेरै नाफा लिएर बस्तु बिक्री गरे भने कालो बजारी ऐन अनुसार कसुर गरेको हुन्छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले माक्स र सेनिटाइजर शतप्रतिशतसम्म मूल्य वृद्धि गरेर बेच्न पाउने बताएका छन् ।

माक्स र सेनिटाइजर नेपालमा अभाव भएको र व्यापारीले विदेशबाट आयात गर्न असहज भएकोले पनि व्यापारीले शतप्रतिशत नाफा खान पाउने दुगडले बताए ।

‘संक्रटको बेला छ, व्यापारीले माक्स र सेनिटाइजर ल्याउनै छाडे भने झन धेरै समस्या हुन्छ, त्यसैले पनि यी दुईवटा बस्तुुमा शतप्रतिशत नाफा खादा हुन्छ, अहिले बजारमा १० रुपैयाँको माक्सलाई ५० रुपयौंमा बिक्री गरिरहेका छन्, त्यस्ता व्यापरीहरुलाई भने कारवाही गर्नुपर्छ,’ दुगडले भने ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यापार गर्दा २० प्रतिशतभन्दा धेरै नाफा खान नपाउने र २० प्रतिशतभन्दा धेरै नाफा खाएमा कार्वही हुने बताए ।

‘हामी त कानुन अनुसार बोल्ने हो, बस्तु उत्पादनदेखि बिक्रीसम्मको हिसाव जोड्दा कुनै बस्तुको मूल्य शतप्रतिशत वृद्धि भएको हुनसक्छ तर व्यापारीले नै शतप्रतिशत नाफा खाएर सामान बिक्री गरेको पाइएमा हामी कारवाही गछौं’, महानिर्देशक सुवेदीले भने ।

सरकारले भन्सार पनि छुट दिने

सरकारले भन्सारबाट आयात हुने माक्स र सेनिटाइजरमा छुट दिने बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माक्स र सेनिटाइजरको आयातमा सहज बनाउने गरी भन्सार छुट गर्ने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोराना भाइरसबाट नेपालसमेत उच्च जोखिममा रहेको उल्लेख गर्दै मास्क र सेनिटाइजरको भन्सार छुट दिने भएको हो ।

अहिले बजारमा माक्स र सेनिटाइजर चरम अभाव देखिएको छ । बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीलाई समेत मन्त्रालयले अनुगमन गर्दै कारबाही गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.