कोरोना प्रभावः वायुसेवा संचालकले मुख फोरेपनि अरु मौन, के होला बैंकहरुको १ खर्ब ३५ अर्ब ऋण ?

  २०७६ फागुन २९ गते १०:४८     विकासन्युज

काठमाडौं । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणको असर नेपाली अर्थतन्त्रमा पनि गम्भीर रुपमा पर्ने भएको छ ।

कोरोना संक्रमणको कारण अर्थतन्त्रको प्रमुख अंगहरु आपूर्ति प्रणाली, उत्पादन, वितरण र रोजगारी सिर्जनामा गम्भीर असर पर्न सक्ने सरोकारवालाले बताएका छन् । विश्व बजारमा देखिएको असरको कारण नेपाली अर्थतन्त्रको मेरुदण्ड जस्तै बनेको रेमिटान्स आप्रवाहमा कमी आउने, बैदेशिक रोजगारीमा संकुचन देखिने, प्रत्येक्ष बैदेशिक लगानी घट्ने, पर्यटन क्षेत्र धराशायी हुने, आन्तरिक उत्पादन र आपूर्ति प्रणालीमा समस्या आउने आकलन नेपाल राष्ट्र बैंकले गरेको छ ।

रेमिटान्स, पर्यटन आय र प्रत्येक्ष विदेशी लगानीमा संकुचन आउँदा देशको शोधनान्तर अवस्थामै समस्या देखिन सक्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । यस्तै, कोरोना सन्त्रासको कारण मान्छेको आवतजावत रोकिएको, आर्थिक शिथिलतासँगै उत्पादन र उपभोगमा कमि आएको, उत्पादन र सेवामुलक व्यवसायमा संलग्नहरुको रोजगारी कटौति तथा उद्योग वा बन्द व्यापारमा आएको शिथिलताले मान्छेको उपभोग क्षमता घटाएको जस्ता कारणले विश्व अर्थव्यवस्था नै कमजोर हुनेछ । यसको प्रत्येक्ष असर नेपाली अर्थतन्त्रमा पनि देखिने विज्ञको भनाइ छ ।

सरकारले चालु आर्थिक वर्ष ८.५ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । तर, कोरोना संक्रमणले विश्वव्यापी असर देखाउनु र नेपालमा यसको प्रभाव पर्ने आकलन गर्नुअघि नै नेपाल राष्ट्र बैंकले सो बराबरको आर्थिक बृद्धिदर हासिल नहुने प्रतिबेदन अर्थमन्त्रालयलाई बुझाएको थियो । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षा गर्नुअघि राष्ट्र बैंकले पठाएको सुझावमा यो वर्षको आर्थिक बृद्धिदर ७.१ प्रतिशतको हाराहारीमा हुने प्रक्षेपण गरेको थियो ।

कोरोना असर देखिएपछिको अवस्था भने अझ कमजोर छ । चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर बजेटको प्रक्षेपणभन्दा निकै कम हुने सरकारी अधिकारीहरु नै बताउँन थालेका छन् ।

यस्तो प्रतिकूल अवस्थामा नेपाली अर्थतन्त्रका कुन कुन क्षेत्रमा के कस्तो असर र प्रभाव देखिएला भन्ने सन्दर्भमा सरकारी निकायले आधिकारिक रुपमा केही बताएको छैन । तर, नेपालको पर्यटन, रेमिटान्स, प्रत्येक्ष विदेशी लगानी, शोधनान्तर अवस्था र वित्तीय स्थायित्वमा धेरै असर पार्ने राष्ट्र बैंकले संकेत गरेको छ ।

पर्यटन क्षेत्र बढी प्रभावित

विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरसको असर सबैभन्दा पहिला नेपालको पर्यटन क्षेत्रमा देखिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको थियो । सरकारको यस्तो घोषणा र तयारीलाई केन्द्रीत गरेको निजी क्षेत्रले पनि पर्यटन क्षेत्रमा लगानी बढाएको थियो ।

सरकारले नेपाल भ्रमण वर्ष मनाउने भएपछि निजी क्षेत्रले एयरलाइन्स, होटल, रेष्टुरेन्ट तथा लज, ट्राभल, ट्रेकिङ जस्ता पर्यटकीय व्यवसायसँग सम्बन्धित क्षेत्रमा लगानी बढाएका थिए । तर, विश्वभर कोरोना संक्रमण बढेसँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रचार प्रसार लगायतका प्रायः सबै गतिविधि अनौपचारिक रुपमा रोकिएका छन् ।

कोरोना प्रभावको कारण विश्वका अधिकांश देशले अन्तराष्ट्रिय हवाई उडान रद्द गरेका छन् । कतिपय देशहरुमा त अन्य देशसँगको हवाई सम्पर्क नै टुटेको छ । आफूहरुको व्यवसाय चौपट भएको भन्दै हवाई सेवा संचालक संघले बैंकबाट लिएको ऋणको नियमित किस्ता, बीमा शुल्क जस्ता भुक्तानीमा समेत समस्या भएको बताएको छ ।

वायुसेवा संचालक संघले आफूहरुको व्यवासय चौपट भएको भन्दै राहत कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । संघले बैंकहरुलाई तिर्नुपर्ने व्याजलाई राष्ट्र बैंकमार्फत रिफाइनान्स गरी भुक्तानीको व्यवस्था मिलाइदिन माग गरेको छ । यस्तै वायुसेवा प्रदायकहरुले विभिन्न बैंक वित्तीय संस्थाहरुबाट अमेरिकी डलर तथा नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनरतालिकिकरण र पुनसंरचनाको व्यवस्था मिलाउन भनेको छ ।

वायुसेवा प्रदायकले लिएको ऋणको व्याजसमेत साँवामा गाभ्ने (क्यापिटलाइज्ड) व्यवस्था मिलाउनु पर्ने पनि संघको माग छ । अमेरिकी डलरमा लिइएको ऋणको साँवा र व्याजलाई नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउनु पर्ने, हवाई इन्धनमा सरकारले लगाउदै आएको मूल्य अभिबृद्धि कर (भ्याट) हटाउने र हवाई इन्धनको मूल्य कम्तिमा पनि ३० प्रतिशतले घटाउनु पर्ने, प्लेनको बीमा शुल्कमा लाग्दै आएको भ्याट पूर्णरुपमा छुट दिइ विदेशी पुनरबीमा स्वीकार गरेको अवस्थामा विदेशी पुनरबीमा कम्पनीले दिएको क्रेडिट अवधी अनुसार बीमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरिदिन पनि संघको माग छ ।

संघका यी मागमा अन्य विषय समेटिएका भएपनि प्रमुख गरेर बैंक ऋणको किस्ता तिर्न समस्या हुने स्पष्ट संकेत छ । यो संकेतसँगै बैंकहरुले दिएको ऋण नियमित असुल भएन भने नेपालको वित्तीय स्थीरतामै असर पर्नेछ ।

पर्यटन क्षेत्रमा कति छ ऋण ?

वायुसेवा संचालक संघले बैंक ऋणको किस्ता तिर्न सुविधा मागेसँगै अन्य क्षेत्रबाट पनि यस्तै प्रकारको माग आउन सक्ने देखिएको छ । पर्यटन क्षेत्रमा मात्रै गत पुस मसान्तसम्ममा बैंक वित्तीय संस्थाबाट १ खर्ब ३५ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

गत पुस मसान्तसम्ममा बैंक वित्तीय संस्थाहरुले ३१ खर्ब ६१ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यसमध्ये पर्यटन क्षेत्रमा कूल ऋणको ४.२७ प्रतिशत कर्जा गएको तथ्यांकले देखाएको छ ।

यसमध्ये एयरक्राफ्ट तथा एयरक्राफ्ट पार्टस खरिदमा ७ अर्ब ३४ करोड ५६ लाख रुपैयाँ, ट्रेकिङ पर्वतारोहण, रिसोर्ट, र्याफ्टीङ जस्ता क्षेत्रमा २६ अर्ब ६६ करोड ८१ लाख रुपैयाँ र होटल क्षेत्रमा १ खर्ब १ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

सम्बन्धित सामग्री

अर्थतन्त्रमा कोरोना असरः राष्ट्र बैंकको नजरमा ५ क्षेत्र बढी जोखिममा

कोरोनाले नेपाली अर्थतन्त्रको खम्बा हल्लायो, आधा रेमिटान्स आउने देशमा नेपालीलाई ‘नो इन्ट्री’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.