कोरोना संक्रमणः विश्व अर्थव्यवस्थाको उचित औषधी के होला ?

  २०७६ फागुन २७ गते १८:१३     विकासन्युज

काठमाडौं । महामारीको सामना गर्न स्वास्थ्य क्षेत्रको मात्र नभएर सरकार पक्षकै संलग्नता आवश्यक पर्दछ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईं सवै देशहरु मिलेर संयुक्त प्रयास गर्नु आवश्यक देखिएको छ । यो भाइरसको महामारी हरेक हप्ता दुई गुणाले बढेको देख्न सकिन्छ ।

संसारका ८० भन्दा बढी देशहरुमा प्रवेश गरिसकेको यो भाइरसले गर्दा विश्वव्यापी रुपमा १ लाखभन्दा बढी संक्रमित छन् । संक्रमितमध्ये साढे ३ हजारभन्दा बढीले ज्यान पनि गुमाइसकेका छन् । यद्यपि यो भाइरसको जाँच एकदमै थोरै मानिसमा मात्र गरिएको हुनाले संक्रमणको असली तथ्याङ्क निक्कै धेरै हुनसक्ने अनुमान गरिएको छ । यो भाइरसको चीनबाहेक इरान, दक्षिण कोरिया र इटालीमा धेरै संक्रमित छन् ।

कुनै देशमा भाइरस देखापरेपछि त्यसलाई फैलिन नदिन हम्मेहम्मे पर्छ । यस विरुद्ध कसरी लड्ने भन्ने कुरामा धेरै मुलुकले चीनबाट राम्रो पाठ सिक्न सक्दछन् ।

देशहरुले गर्न सक्ने पहिलो काम भनेको अस्पताललाई पैसा र जनशक्ति प्रदान गर्नु हुन सक्छ । चीनले हुवेइ प्रान्तमा ४० हजार स्वास्थ्य कर्मचारी परिचालन गरेको थियो । बेलायतले रिटायर्ड चिकित्सकहरुलाई पुनः काममा खटाउने सम्भावना रहेको छ ।

यस हप्ता विश्व बैंकले १२ विलियन अमेरिकी डलर र अन्तर्राष्ट्रिय मौद्रिक कोषले ५० विलियन अमेरिकी डलर कोरोना भाइरसको विरुद्धमा खर्चेको छ । त्यसैगरी ग्लोवल फण्ड, मलेरिया र क्षयरोग जस्ता रोग विरुद्ध लड्ने संस्थाले देशहरुलाई ती रोगको सट्टा कोरोना भाइरसको लागि अनुदान प्रदान गर्न अनुरोध गरेको छ । अमेरिकामा मात्र त्यहाँको संसद्ले ८.३ विलियन डलर कोरोनाको विरुद्ध भनेर छुट्याएको छ ।

भाइरसको लक्षण देखिनेजति सवैले आफैं आएर चेक गराउने हो भने त्यसले भाइरसलाई फैलिन धेरै हदसम्म कम गर्दछ । तर, त्यो चेकजाँच गर्न आफ्नो खर्च लाग्ने भएकोले सवै चेकजाँच गर्न तत्पर नहुन सक्छन् ।

उदाहरणका लागि अमेरिकामा २ करोड ८ लाख मानिसले हेल्थ कभरेज पाउँदैनन् । र, धेरैले आफ्नो इलाजको लागि ठूलो खर्च व्यहोर्नु पर्दछ । त्यसैगरी लक्षण देखिएको खण्डमा मानिसहरुले आफूलाई अलग्याएर एक्लै बस्नु पर्दछ । यस्तो अवस्थामा ‘सिक पे’ले ठूलो अर्थ राख्छ । किनभने धेरैजसोले आफ्नो काम छोडेर जिविकोपार्जन गर्न सक्दैनन् ।

एकदमै थोरै देशहरुले मात्र विरामी भुक्तानको व्यवस्था गरेका छन् । अमेरिकाका २५ प्रतिशत कर्मचारीहरुले ‘सिक पे’ पाउँदैनन् । एउटा अध्ययनले पत्ता लगाएअनुसार ‘सिक पे’ले अमेरिकामा फ्लुलाई फैलिनबाट ४० प्रतिशतले रोक लगाएको छ । ‘सिक पे’ले माग र आपूर्तिलाई पनि एकरुपता प्रदान गर्दछ ।

चीनको अर्थतन्त्रमा ठूलो धक्का लागेको भएर विरामी भुक्तानीले त्यसलाई केही हदसम्म सुधार ल्याएको थियो । त्यहाँको उत्पादन गतिविधि गत फेब्रुअरी महिनामा सवैभन्दा तल्लोस्तरमा पुगेको थियो । त्यसैगरी मार्चको त्रैमासिकमा त्यहाँको अर्थतन्त्रमा माओत्सेतुङ्गको मृत्युपश्चात् पहिलो पल्ट संकुचित हुने सङ्केत देखिएको छ ।

ओईसीडीले सन् २००९ पछि यो वर्ष विश्वव्यापी वृद्धि एकदमै सुस्त गतिमा हुने आँकलन गरेको छ । अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका शिक्षाविद्हरुको नमुनाले अमेरिका र युरोपमा जीडीपी २ प्रतिशतले कम हुने र यदि त्यो मुत्यु दर अपेक्षित भन्दा धेरै गुणा बढी हुने हो भने ८ प्रतिशतले कम हुने बताएका छन् ।

अहिले वित्तीय बजार डरैडरमा मूल्य निर्धारण गर्दैछन् । अमेरिकाको बजार परिसुचक एसएण्डपी–५०० फेब्रुअरी १ देखि ओरालो लाग्न थालेको छ । वालस्ट्रीटमा कर्पोरेट ऋण जारी गर्ने काम पनि रोकिए वरावर छ । त्यसैगरी १० वर्षे ऋणपत्रको येल्ड पहिलो पल्ट १ प्रतिशतले घटेको देख्न सकिन्छ ।

धनी देशहरु आफ्नो वित्तीय संस्थालाई शान्त गराउन धेरैजसो आर्थिक प्रयासहरु गरिरहेका छन् । मार्च ३ मा अमेरिकाको फेडेरल रिजर्भले आफ्नो मौद्रिक नीतिको वैठकको १५औं दिन अगाडि असामान्य रुपमा आधि प्रतिशत अङ्कको दरमा बैंकदर कटौति गरेको छ । अष्ट्रेलिया, क्यानाडा र इण्डोनेशियाको केन्द्रीय बैंले पनि सोही अनुरुप गरेका छन् । बैंक अफ इंग्ल्याण र युरोपियन सेन्ट्रल बैंक दुवैले पनि आफ्नो नीतिलाई खुकुलो बनाउने अनुमान गरिएको छ ।

कम दरले उधारो लिन त सजिलो बनाउँछ तर सस्तो कर्जाको कुनैपनि रकमले मानिसहरुलाई विरामी हुनबाट भने रोक्न सक्दैन । मौद्रिक नीतिले टुक्रिएको आपूर्ति सृंखलाको मर्मत गर्न सक्दैन वा चिन्तित मानिसहरुलाई वाहिर निस्कन पनि लोभ्याउन सक्दैन । यी सिमितताहरुले यो वर्णन गर्न मद्दत गर्दछन् कि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंकको दर कटौतिपछि सेयर बजार फेरि किन पुनर्जिवित हुन विफल रह्यो ।

बरु प्रभावित व्यक्ति तथा कम्पनीहरुलाई विल भुक्तान गर्न र पैसा उधारोमा लिन मद्दत गरेर अर्थव्यवस्थालाई प्रत्यक्ष समर्थन गर्नु राम्रो हो । व्यक्तिहरुको लागि प्राथमिकता भनेको स्वास्थ्य सेवाको लागि भुक्तानी गरिदिनु र विरामी विदा प्रदान गर्नु हो । ट्रम्पको सरकारले भाइरसले संक्रमित भएका व्यक्तिहरुका लागि अस्पतालको विलको भुक्तानी गर्नेतर्फ विचार गरिरहेको छ । जापानको सरकारले ती आमाबुवाको ज्याला कटौती गर्ने छैन जो बच्चा वा विरामी आफन्तहरुको हेरचाह गर्न घरमै बस्ने छन् । सिंगापुरले क्याब ड्राइभर तथा भाइरस संक्रमित कर्मचारीहरुको मालिकलाई मद्दत गर्नेछ । त्यस्ता थप विचारहरुको आवश्यकता पर्दछ ।

यो समयमा कम्पनीहरुको लागि सवैभन्दा ठूलो चुनौति भनेको तरलता हुनेछ । राजश्व गुमाउने कम्पनीहरुले अझै कर, पारिश्रमिक र व्याज विलको सामना गर्नुपर्नेछ । यो बोझलाई कम गर्नाले महामारी रहुञ्जेलसम्म कम्पनीहरु टाट पल्टिनबाट र कामदार गुमाउनबाट बच्न सक्छन् । यहाँ कर र ज्याला लागतमा अस्थायी राहतले मद्दत गर्न सक्छ ।

रोजगारदाताहरुलाई उनीहरुका केही कर्मचारीहरुको जागिर कटौती गर्नुभन्दा बरु सवै स्टाफहरुलाई थोरै घण्टा काम प्रदान गर्न प्रोत्साहित गर्न सकिन्छ । सरकार पक्षले पीडित कम्पनीहरुलाई ऋण दिनको लागि बैंकहरुलाई फण्ड गर्न सक्छन् । चीनले अहिले यही गरिरहेको छ । चीनले आफ्ना बैंकहरुलाई लामो समयसम्म कर्जा नतिरेकाहरुसँग पनि सजिलो हुने प्रबन्ध गर भनेर आदेश दिएको छ ।

स्वास्थ्य नीतिको उद्देश्य महामारीको चरमलाई घटाएर अस्पतालहरुको चापलाई कम गर्नु हो ताकि महामारी लामो समयसम्म रहे तापनि कम प्रभावकारी होस् । यसको विपरीत, आर्थिक नीतिले लामो समयसम्म कारखाना बन्द र कर्मचारी अनुपस्थितलाई न्यूनतम् बनाउने लक्ष्य राख्छ । अन्ततः सरकारहरुले यी दुई नीतिबीच सन्तुलन कायम गर्ने काम गर्नुपर्दछ । तथापि आजको सवैको प्राथमिकता भनेको कोरोनाको संक्रमणलाई निस्क्रीय गर्नतर्फ केन्द्रित हुनु पर्दछ ।

(द इकोनोमिष्टबाट भावानुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.