२०७६ फागुन २७ गते १५:२६ विकासन्युज
जाजरकोट । प्रदेश मातहतमा रहेका कार्यालयले अघिल्लो वर्ष जिल्लामा गरेका कामको अनुगमन गरिएको छ । कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले सोमबार र आज (मंगलबार) अनुगमन गरेको हो ।
समितिका सभापति अमरबहादुर थापा, सदस्य वीरबहादुर शाहीलगायतको टोलीद्वारा जिल्लाका पूर्वी क्षेत्रमा रहेका विकासका आयोजनाको निरीक्षण गरिएको हो । प्रदेश मातहत कार्यालयबाट अघिल्लो आर्थिक वर्षमा भए, गरेका कामको निरीक्षण तथा अनुगमन गरिएको छ ।
सम्पन्न भनि बजेट भुक्तानी दिइसकेका विकास निर्माणका काममा अनियमितता भएको गुनासो बढेपछि समितिको टोलीले अनुगमन गरेको सभापति थापाले बताए । उनले भने “प्रदेशबाट वितरण गरिएका सबै कार्यक्रम वितरणमुखी भएको र हुने खानेले मात्र पाएको बुझियो ।” समितिले खानेपानी, सिँचाइ, सडक, कृषिबाली अन्य व्यवसायको अनुगमन गरेको थियो ।
पूर्वी क्षेत्रमा मात्र दुई दर्जन अयोजना सम्पन्न भएका भनि प्रदेशका कार्यालयले भुक्तानी गरेका थिए । त्यस्तै समितिका सदस्य शाहीले भने, “सबै काम खराब भन्न त मिल्दैन, केही कुरामा बदमासी भएको रहेछ, हामी तुरुन्तै सच्याउनका लागि ताकेता गछौँ, यदि समाधान भएन भने त्यसको परिणाम महँगो हुने छ ।”
जिल्ला सदरमुकाममा तत्कालीन घरेलु कार्यालयबाट वितरण गरिएका भनिएको अधिकांश सामग्री पुराना भएको तर बिल मात्र नयाँ प्रयोग भएको पाइएको समितिका सभापति थापाले जानकारी दिनुभयो । त्यस्तै सिँचाइ कार्यालयबाट गएको अनुदानबाट नलगाड नगरपालिका–८ कोरिञ्चेमा निर्माण भएको सिँचाइ आयोजनाका सेवाग्राहीले काम सम्पन्न गरे पनि रकम नपाएको खुलासा भएको छ ।
कार्यालयले उपलब्ध गराएको रकमबाट सिँचाइका पाइप, सिमेन्ट मात्र खरीद गरिएको बाँकी रकम निकासा नहुँदा स्थानीयवासी ऋणमा डबेर योजना सम्पन्न गरेको खुलासा भएको हो । योजनाको झण्डै रु १० लाख भन्दा बढी रकम भुक्तानी नगर्दा कृषकले ऋणमा डुबेको बताएका छन् । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.