२०७६ फागुन २५ गते १२:५३ विकासन्युज
कैलाली । धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय आज फिर्ता लिएको छ ।
कोरोना भाइरस (कोभिड– १९) महामारीका रुपमा फैलिँदै गइरहेको र यसको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै शुक्रबार बसेको सरोकारवालाको बैठकले सम्पूर्ण शैक्षिक संस्थामा अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा र पठनपाठन रोक्ने निर्णय गरेको थियो ।
तर उपमहानगरपालिकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सम्पन्न गरिसक्नुपर्ने भनी पत्राचार गरेको पत्र प्राप्त भएको भन्दै आज पुनःशिक्षा सरोकारवालाको बैठक बोलाएर निर्णयमा पुनःविचार गरिएको नगर प्रमुख नृपबहादुर वडले बताए ।
उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई यथाशीघ्र परीक्षा सञ्चालन गरी चैत ५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको बताइएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.