पुनर्बीमा कम्पनीले चैत ४ गतेदेखि साधारण शेयर बिक्रीमा, प्रतिकित्ता १ सय रुपैयाँ

  २०७६ फागुन २४ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आगामी चैत ४ गतदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । साधारण शेयर बिक्रीका लागि कम्पनीले शुक्रबार एक आह्वानपत्रसमेत सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार प्रतिकित्ता १ सय रुपैयाँको दरमा कूल एक करोड ६० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो । बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।

यस्तै कूल आठ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । आह्वानपत्रअनुसार कूल एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता शेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

सो कम्पनीको शेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आगामी चैत ४ गतेदेखि बिक्री हुने उक्त साधारण शेयर बढीमा चैत ७ गतेसम्म रहनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ । साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.