रेडियो नेपालको प्रसारण पहुँच ७७ वटै जिल्लामा पुर्याउन सञ्चारमन्त्री डा. खतिवडाको निर्देशन

  २०७६ फागुन २३ गते १३:४४     विकासन्युज

काठमाडौं । अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा पुर्याउने गरी योजना बनाउन निर्देशन दिएका छन् ।

डा. खतिवडाले शुक्रबार सिंहदरबारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयको निरिक्षणका क्रममा रेडियो नेपालको आधुनिकिकरणको प्रयास सकारात्मक रहेको बताए । उनले प्रशारणको नियमित अनुगमन गरी समय अनुरुप परिमार्जन गर्दै देशैभर सुनिने रेडियो प्रशारण सेवालाई प्रभावकारी बनाउँन निर्देशन दिएका छन् ।

मन्त्री खतिवडाले पछिल्लो समय फैलिएको कोभिड १९, कोरोना भाईरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर सचेत र सतर्कता अपनाउने गरी सबैमा जनसचेतनामुलक सुचना प्रचार सामग्री प्रसारण गर्न पनि आग्रह गरे ।

रेडियो नेपालको वजेटको अर्धवार्षिक समिक्षा गर्न र त्यस अनुरुपको योजना बनाउन, रेडियो नेपालका बैद्धिक सम्पतिको संरक्षण तथा व्यवसायिक उपयोगमार्फत् आम्दानी बढाउन, त्यसबाट पेन्सन कोषको व्यबस्था गराउन र रेडियो नेपालबाट प्रसारित गीत संगीतको डिजिटिलाईजेशन गरी त्यसबाट समेत आम्दानी गर्न खतिवडाले निर्देशन दिएका छन् ।

उनले रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थानलगायतका राज्यका संचार माध्यम बीचको अनतरसम्बन्ध बलियो हुनुपर्नेमा जोड समेत दिए ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री समक्ष रेडियो नेपालले गरिरहेका कामकारवाही र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

त्यस अवसरमा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष समेत रहेका सञ्चार मन्त्रालयका सचिव दिपक सुबेदीसहित मन्त्रालयका पदाधिकारीहरु पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.