सागरबारे लेखिएको सिलवालको पुस्तक फिकुरीको हिउँमा विमोचन

  २०७६ फागुन २२ गते १०:०२     विकासन्युज

काठमाडौं । सामान्यतः मान्छेले सन्दर्भ खोज्छ । हिमालबारे लेखिएको पुस्तक सगरमाथाको टाकुरोमा विमोचन गर्ने रहर हरेक लेखक र प्रकाशकको हुन सक्छ । यस्तै, नदीबारे लेखिएको पुस्तक विमोचन महासगरमा गर्न पाए राम्रो हुन्थ्यो भन्ने मनोकामना धेरैको हुन सक्छ । यसो हुन सकेमा सन्दर्भ मिल्छ होला ।

तर, लेखक तथा पत्रकार अशोक सिलवालको सन्दर्भमा भने यस्तो भएन । उनले महासगरले घेरिएको टापु देश श्रीलंका यात्राका क्रममा समेटेका अनुभव र फेला पारेका तथ्य समेटेर लेखेको पुस्तक ‘श्रीलंका स्मृति’ हिउँले ढाकिएको उनकै जन्मथलो फिकुरीमा गरियो ।

लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ ।

फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३ हजार ४ सय ६० मिटर उचाइमा रहेको भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन् ।

३ हजार ८ सय मिटरको उचाईंमा रहेको फिकुरी डाँडाबाट लाङटाङ लिरुङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्णमात्र होइन, तिब्बती हिमश्रृंखला समेत देख्न सकिन्छ । एक्कासी परेको भारी हिमपातका कारण पदयात्री समुह भेडीखर्कबाट फर्किएको थियो ।

‘हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब हो यो, महासागरले घेरेको एउटा टापु देशमा यात्रा गर्दाको अनुभुति समेटिएको पुस्तक भारी हिमपातबीच हिमाली एड्भेन्चरका प्रोफेसनलहरुबाट सामुहिक रुपमा विमोचित हुनु पुस्तक विमोचनकै इतिहासमा एउटा विशेष घटना हो,’ बाक्लो हिउँमा उभिएर नेपाल पर्यटन बोर्ड (एनटीवी) सदस्य दीपक महतले भने ।

कृतिमाथि शुभकामना टिप्पणी गर्दै यात्रा आयोजक रसुवा–नुवाकोट पर्यटन समाज (आरएनपीएस) का कार्यवाहक अध्यक्ष शिव लामिछनेले लेखक सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्नेछ भन्ने अपेक्षा गरे ।

फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा एनटीवी सदस्य महत, आरएनपीएसका कार्यवाहक अध्यक्ष लामिछाने, लेखक सिलवाल, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बिर गुरुङ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका द्धितीय उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) का कोषाध्यक्ष ऋतु ग्यामदान, चराविज्ञ जयनाथ भण्डारी, टिम लिडर उर्जा तामाङ, दिनेश तामाङ, गगन न्यौपाने लगायतलगायत ३० पदयात्री सहभागी थिए ।

श्रीलंका प्रेस एशोसिएसन (एसएलपिए) को ६३ औं बार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथीका रुपमा श्रीलंकामा निम्त्याइएका टुर–ट्रेकिङ गाइड तथा ट्रेकिङ प्रशिक्षकसमेत रहेका सिलवालले त्यही बेलाको एक साता लामो श्रीलंका यात्रालाई पुस्तकमा समेटेका छन् ।

‘सागरबारे लेखिएको किताब हिमालमा आइपुग्यो, त्यहाँका मानिस पनि पदयात्रीका रुपमा यहाँ आउन्, त्यसका लागि यात्रा आयोजक आरएनपीएस र यात्रामा जोडिएका विदुर, सूर्यगढी, किस्पाङ, उत्तरगया र कालिका गाउँपालिकाका जनप्रतिनिधी, स्थानीय र सहयात्री सबै धन्यवादका पात्र हुन्,’ कन्फिडिरेसन अफ एशियन जर्नलिस्ट युनियनका उपाध्यक्ष समेत रहेका किस्पाङनिवासी सिलवालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.