कोरोना भाइरसको असरले आपूर्ति प्रणाली बिग्रन सक्छः अर्थमन्त्री

  २०७६ फागुन २१ गते १७:५८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनो भाइरसका कारण नेपाली अर्थतन्त्रमा पनि असर पर्ने बताएका छन् ।

अर्थमन्त्रीको रुपमा पुनः पदबहाली गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

नेपालको अर्थव्यवस्था आयातमुखी छ, विश्वभर फैलिएको कोरोना भाइरसको कारण आपूर्ति प्रणालीमा असर पर्न सक्छ, हामी त्यतातिर सचेत हुनुपर्छ,’ मन्त्री खतिवडाले भने ।

कोरोना भाइरसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने भन्दै मन्त्री खतिवडाले त्यसको कति असर पर्छ भनेर अहिले नै यकिन गर्न नसकिने पनि बताए । पछिल्लो समय विश्व अर्थतन्त्रमा नै नयाँ नयाँ प्रकारका चुनौति थपिदै गएको मन्त्री खतिवडाको भनाइ छ ।

डा. खतिवडाको सांसद पद सकिएको दिन उनले राजीनामा दिएका थिए भने राजीनामा दिएको भोलिपल्ट नै उनलाई मन्त्रीमा नियुक्त गरिएको थियो । मंगलबार (२० फागुन) मन्त्रालयमा गएर काम गरेका मन्त्री खतिवडाले अपरान्ह मन्त्रीपदबाट राजीनामा दिएका थिए । उनले राजीनामा गरेको भोलिपल्ट (२१ फागुन) नै प्रधानमन्त्रीको सिफारिसमा भन्दै उनलाई मन्त्री बनाइएको छ ।

प्रधानमन्त्री ओली मिर्गाैला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । बुधबार विहान प्रधानमन्त्रीले गरेको सिफारिसका आधारमा खतिवडालाई मन्त्री बनाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । सो दिन विहान करिब ९ बजेतिर प्रधानमन्त्री मिर्गाैला प्रत्यारोपणका लागि अस्पतालको आईसीयू लगिएको थियो । प्रधानमन्त्रीलाई आइसीयू लगिनु अघि डा. खतिवडालाई मन्त्री पदमा सिफारिस गरिएको हो ।

डा. खतिवडा पहिलो पटक मन्त्रीमा नियुक्त हुँदा पनि सांसद थिएनन् । उनी २ वर्ष अघि १४ फागुनमा अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी नियुक्त भएपछि २१ फागुनमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा सांसदमा मनोनित भएका थिए । उनको सांसद पदको कार्याकाल २० फागुनमा सकिएको छ । दोस्रो पटक अर्थमन्त्रीमा नियुक्त हुँदा पनि डा. खतिवडा सांसद बन्ने सौभाग्यबाट भने बन्चित छन् । सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संविधानको व्यवस्था अनुसार डा. खतिवडाले २ पटक यस्तो सुविधा पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.