जनताको निसानामा नेता, को को परे थप्पडदेखि जुत्ता खानेसम्म ?

  २०७६ फागुन १८ गते १९:०१     विकासन्युज

काडमाडौं । पछिल्लो समय नेताहरु बारम्बार कार्यकताको आक्रमणको निसानामा परेका छन् । वि‍.स २०६३ पछि नेताहरु आक्रमणको निसानामा पर्दै आएका छन् । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  झलनाथ खनाल, स्व सुशील कोइराला , बाबुराम भट्टराईदेखि माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीसम्मलाई विभिन्न समयमा विभिन्न हिसावले निशानामा परेका थिए ।

प्रचण्डलाई झाप्पड र जुत्ता प्रहार

बाग्लुङको राजकुट गाविस वडा नम्बर २ का पदम कुँवरले पूर्वबिद्रोही नेता एंव पूर्वप्रधानमन्त्री प्रचण्डमाथि झापड हानेका थिए । कुँवरको परिवारका सदस्यहरु सशस्त्र दन्द्धका क्रममा माओवादी पार्टीमा सक्रिय भएर लागेका थिए ।

उनीहरुको परिवारको घर सम्पत्ति सुरक्षा फौजले माओवादी आतंककारी भन्दै २०६० सालमा ध्वस्त पारिदिएको थियो ।

वैदेशिक रोजगारका लागि कतार गएर फर्केपछि उनले प्रचण्डलाई झाप्पड हानेका थिए । आक्रोश विस्फोट भएर झापड हानेको अभिव्यक्ति त्यतिबेला उनले दिएका थिए ।

आज पनि पुन: ‘प्रचण्ड’लाई ताकेर जुत्ता प्रहार भएको छ । पूर्व अर्थमन्त्री समेत रहेका कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभा गृहमा आइतवार आयोजित सभामा सम्बोधन सकेर फर्किने क्रममा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा जनयुद्धमा बुबा गुमाएका मोहन तिरुवाका छोरा रहेको खुलेको छ ।

झलनाथलाई झाप्पड

वि‍.सं २०६७ साल माघ ७ गते नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई सुनसरीका देवीप्रसाद रेग्मीले झापड हाने । सुनसरी भरौलका रेग्मी एमालेका पूर्व कार्यकर्ता थिए । उनले इनरुवामा आयोजित सार्वजनिक कार्यक्रममा खनाललाई झापड हानेका थिए । पार्टी प्रवेशीहरुको लाइनमा बसेर खनालकै हातबाट टीका लगाइसकेपछि उनले गालामा थप्पड हानेका थिए ।

उनले नेताहरुलाई चेत आओस र सुध्रिउन भन्ने उद्देश्यले झापड हानेको बताएका थिए । उनले झापड हानेको केही हप्तामै झलनाथ खनाल प्रधानमन्त्री भए । खनालले झापडलाई आर्शिवादका रुपमा लिएको भन्दै एक अन्तरवार्तामा हासो गरेका थिए ।

सुशिल कोईरालामाथि फ्रेम प्रहार

वि‍.सं २०६८ सालमा कांग्रेस सभापति सुशील कोइरालामाथि फ्रेम प्रहार भयो । काठमाडौँको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा नेविसंघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले कोइरालालाई आक्रमण गरेका थिए ।

कार्यक्रममा कोइरालालाई सम्मानस्वरुप खादा ओढाउँदै गर्दा अगाडिबाट एक्कासी उनले काठको फ्रेमले हानेका थिए । पाटी भित्रको आन्तरिक विवादको कारण आक्रमण भएको बताइएको थियो ।

झक्कुप्रसादलाई झाप्पड

वि.सं २०६८ साल बैशाखमा माओवादी सभासद झक्कुप्रसाद सुवेदीले पनि झापड खाएका थिए । तिनकुनेस्थित कफी सपका संचालक प्रेमराज देवकोटाले उनलाई बोलाएर झापड हानेका थिए ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडाबाट फर्किंदै गरेका सभासद सुवेदीलाई तिनकुने सुविधानगरमा रहेको कफी पसल संचालकले संविधान कहिले बन्छ भन्दै झापड हानेका थिए ।

आफूले पसल बन्द गरेर भोट हालेको नेताले सविंधान कहिले बन्छ भन्न नसकेको कारणले झापड हानेको भनि देवकोटाले दिएको अभिव्यक्ति चर्चित बनेको थियो ।

बाबुरामलाई जुत्ता प्रहार

पछिल्लो समय नयाँशक्तिका संयोजक बाबुराम भट्टराई ताकेर जुत्ता फालियो । पोखराको पृथ्वीनारायण क्याम्पस हाताभित्र नयाँशक्ति निकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा भट्टराईलाई लक्षित गरेर कैलालीका सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.