उपत्यकाभित्रका ढुंगेधारा र पोखरीहरुलाई जीवन्तता दिनेछौं : खानेपानी मन्त्री मगर

  २०७६ फागुन १६ गते १९:१३     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले उपत्यकाभित्रका ढुंगेधारा र पोखरीहरुलाई जीवन्तता दिने बताएकी छन् । शुक्रबार खानेपानी मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री  मगरले साे कूरा बताएकी हुन् ।
काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा र पोखरीहरुको संरक्षण गर्ने खानेपानी मन्त्रालयको योजनामा प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच शुक्रबार समझदारी भएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै खानेपानी मन्त्री मगरले उपत्यकाभित्रका सबै ताल तलैया पोखरी र ढुंगेधाराहरुको संरक्षण र सौन्दर्यीकरण गर्दै जाने बताइन् । मन्त्रालयको योजना अनुसार नै ढुंगेधारा र पोखरीहरुको संरक्षणमा जुट्न सबै स्थानीय तह र समुदायको सहयोग अति आवश्यक रहेको उनकाे भनाइ छ ।
 मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र भ्याली बोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
मध्यपुर थिमी र महालक्ष्मी नगरपालिकाभित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको संरक्षण र पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता दुवै नगरपालिकाले गरेको छ ।
बोर्डले उपत्यकाभित्रका १० वटा नगरपालिकाहरुमा रहेका ढुंगेधारा र पोखरीहरुको अवस्था बारे अध्ययन गरेर संरक्षणका लागि सबै नगरपालिकाहरुसँग समझदारी गर्ने योजना अनुरुप पहिलो चरणमा यी दुई नगरपालिकासँग समझदारी गरेको हो ।
बोर्डले काठमाडौं उपत्यका भित्रका महानगर सहित १० वटै नगरपालिका भित्र रहेका कूल ५ सय ७३ ढुंगेधारा र २ सय ७३ पोखरीहरुको विस्तृत अध्ययन र नक्सांकन गरेको थियो । जसमध्ये ४ सय ७९ वटा ढुंगेधाराहरु स्थलगत रुपमा भेटिएका र ९४ वटा ढुंगेधाराहरु हराएको अध्ययनले देखाएको छ । त्यसैगरी १ सय ९३ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएका र ४० वटा पोखरीहरु हराएको बोर्डले जनाएको छ ।
मध्यपुर थिमी नगरपालिका भित्र ५९ वटा ढुंगेधाराहरु रहेका छन् भने १७ वटा पोखरीहरु छन् जसमा ३ वटा पोखरीहरु लोप भएका छन् । त्यस्तै महालक्ष्मी नगरपालिकाभित्र १० वटा ढुंगेधारा र १४ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएको देखिएको छ भने ६ वटा पोखरीहरु विभिन्न कारणले लोप भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.