नेपालको करः गाडी किन्दा २५६, पेट्रोलमा ८६, आम्दानी ३६ र टेलिफोनमा २८ प्रतिशत

  २०७६ फागुन १६ गते १८:०६     राजाराम न्यौपाने

काठमाडौं । अचाक्ली कर थोपरेको भनेर जनस्तरबाट सरकारको आलोचना भइरहेको छ । पछिल्लो समयमा पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर बढाएपछि सरकारको आलोचना झन् बढेको हो ।

अघिल्लो साता बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लिने पूर्वाधार कर शतप्रतिशत बढाएर प्रतिलिटर १० रुपैयाँ पुर्याएको छ । पूर्वाधार कर बृद्धिसँगै पेट्रोलियम पदार्थमा कर ८६ प्रतिशत पुगेको छ ।

पेट्रोलियम पदार्थ मात्रै होइन, अन्य बस्तुमा पनि सरकारले धेरै कर लिने गरेको छ । सवारी साधन खरिदमा २ सय ५६ प्रतिशतसम्म, आम्दानीमा ३६ प्रतिशतसम्म तथा दूरसंचार सेवामा २८ प्रतिशतसम्म कर तिर्नुपर्छ ।

सवारी साधनमा २ सय ५६ प्रतिशत कर

नेपाल अटोमोबाइल्स डिलर एसोसिएसन नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सवारी साधरी आयत गर्दा भन्सार, अन्तशुल्क र मूल्य अभिविद्धि कर गरी २ सय ५६ प्रतिशतसम्म कर लाग्ने जानकारी दिए ।

गाडीमा पनि सबैभन्दा धेरै निजी सवारी साधनमा कर लाग्छ । पार्टपूर्जा खरिदमा पनि ५ देखि ३० प्रतिशतसम्म कर लाग्ने गरेको छ ।

‘सवारी साधनमा लाग्ने करमध्ये सबैभन्दा सस्तो सर्वजनिक सवारी साधनको लागि प्रयोग हुने बसको छ,’ अध्यक्ष दुलालले भने ।

पेट्रोलियम पदार्थमा ८६ प्रतिशत कर

नेपाल आयाल निगमले इन्डियन आयाल कर्पाेरेसनबाट पेट्रोल प्रतिलिटर ५१ रुपैयाँ ८४ पैसामा खरिद गरिरहेको छ । सो पेट्रोलमा सरकारले प्रतिलिटर १५ रुपैयाँ २३ पैसा भन्सार शुल्क, १० रुपैयाँ पूर्वाधार विकास कर, ४ रुपैयाँ सडक मर्मतसम्भार कर, १ रुपैयाँ ५० पैसा प्रदुषण शुल्क, १ रुपैयाँ १० पैसा मूल्य स्थिरीकरण कोष र १२ रुपैयाँ ६५ पैसा मूल्य अभिबृद्धिकर गरी ४४ रुपैयाँ ४८ पैसा लिन्छ । सरकारले विभिन्न नाममा लिने कर तथा शुल्क खरिद मूल्यको आधारमा ८६ प्रतिशत देखिन्छ ।

दूरसंचार सेवामा २८ प्रतिशत

नेपालको दूरसंचार सेवा पनि धेरै कर लाग्ने क्षेत्रमध्येमै पर्छ । दूरसंचार सेवामा १३ प्रतिशत दूरसंचार सेवा शुल्क, २ प्रतिशत स्वामित्व शुल्क र १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने नेपाल टेलिकमको उपभोक्ता हित संरक्षण महाशाखाका उपनिर्देशक झलक बहादुर थापाले जानकारी दिए ।

इन्टरनेटमा २६ प्रतिशत

उपभोक्ताले इन्टरनेट प्रयोग गरे वापत २६ प्रतिशत कर सरकारलाई तिर्ने गरेका छन् । यसमध्ये दूरसंचार सेवा कर १३ प्रतिशत र मूल्य अभिविद्धि कर १३ प्रतिशत लाग्ने नेपाल दूरसंचार प्राधिकरणको उपभोक्ता हित संरक्षण महाशाखाका उपनिर्देशक झलक बहादुर थापाले जानकारी दिए ।

मदिरामा प्रतिलिटर ९ सय ५० रुपैयाँ र १३ प्रतिशत भ्याट

गुणस्तरीय (२५ युपी) मदिरामा सरकारले प्रतिलिटर ९ सय ५० रुपैयाँ अन्त शुल्क लिन्छ । अन्तशुल्कमा आयातकर्ताको नाफा जोडेर तय गरिएको विक्री मूल्यमा फेरि १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) तिर्नुपर्छ ।

पछिल्लो समय साइकल गुडाएको कर, खोला तरेको कर, चट्पटे बेच्नेसँग कर, कपाल काट्नेसँग कर, जन्मदर्ता गरेको १ हजार रुपैयाँ कर, मृत्यु दर्ताको पनि कर लाग्न थालेको छ ।

आम्दानीमा ३६ प्रतिशतसम्म

उपभोग्य बस्तु तथा सेवा खरिदमा चर्काे कर तिरेर बाँकी रहेको आम्दानीमा सरकारले फेरि ३६ प्रतिशतसम्म आयकर लिन्छ । सरकारले विवाहित व्यक्तिको लागि वार्षिक साढे ४ लाख रुपैयाँसम्म र अविवाहित व्यक्तिको लागि वार्षिक ४ लाख रुपैयाँसम्मको आम्दानीमा भने कर छुट दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.