२०७६ फागुन १६ गते १५:५६ विकासन्युज
इटहरी । इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शैय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । उक्त अस्पतालकाे उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् ।
उनले नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल निर्माण गरेको बताएका छन् ।
अस्पताल सञ्चालनमा आएपछि प्रदेश एक तथा आसपासमा बसोवास गर्ने सेनाका आफन्त तथा उनीहरुका आश्रितले सामान्य रोगको उपचार गराउन काठमाडौँ जानु नपर्ने बताए । यहाँ उपचार हुन नसक्ने बिरामीको लागि विराट अस्पतालसँग सम्झौता भएकाले तुरुन्तै यहाँबाट रेफर गरेर पठाइने बिरामीको त्यस अस्पतालमा सबै किसिमको उपचार हुने समेत उनले बताए ।
प्रधानसेनापति थापाले अहिले यस अस्पतालमा बहालवाला सेना तथा उनका आश्रितको मात्र उपचार हुने भए पनि पछि यहाँका जनप्रतिनिधि तथा उद्योगी व्यापारीको अनुरोधमा सर्वसाधारण नागरिकको पनि उपचार गराइने बताए ।
हाल यस अस्पतालबाट छातीरोग, बालरोग, स्त्रीरोग, दन्त चिकित्सा, हाडजोर्नी तथा मेडिकल सेवा उपलब्ध हुने बताइएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.