मौलाकाली केबलकारलाई जग्गा प्राप्ति गर्न सरकारले दियाे स्वीकृति

  २०७६ फागुन १५ गते १९:३९     विकासन्युज

काठमाडाैं । सरकारले विभिन्न आयोजना तथा संरचनाको पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । यही फागनु १२ गतेको मन्त्रिपरिषद् बैठकले मौलाकाली केबलकार आयोजनाको क्षेत्रभित्र पर्ने (१०-१० मिटरसहित केही टावर संरचना रहनेगरी) र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्तापूर्व नवलपुर) को गैँडाकोट नगरपालिका-१ मा पर्ने मौलाकाली सामुदायिक वन र मौलाकाली धार्मिक वनसमेतको गरी कूल २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सिद्धार्थ केबलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-१ स्थित राष्ट्रिय वन क्षेत्रको थप २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका साविक आरुबोटे गाविस-५ को ४२ रोपनी जग्गा एकीकृत कृषि नमूना केन्द्र स्थापना, गोरखाको पालुङटार नरगपालिका साविक च्याङ्ली गाविस-५ को एक रोपनी जग्गा प्रहरी चौकी भवन, साविक खोप्लाङ गाविस-८ को ३-१-०-० रोपनी पर्यटकीय पूर्वाधार, साविक पालुङटार गाविस-७ को ०-५-२-० रोपनी वडा कार्यालय भवन निर्माण र साविक आँपपिपल गाविस-४ को १६-८-०-३ रोपनी लिगलिगकोट दरबार र गढी संरक्षणको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए।

सिरहाको नराहा गाउँपालिका-५ को ०-८-० बिघा जग्गा प्रशासकीय भवन, साविक बर्छवा गाविस-६ को ०-३-१ बिघाा दिनाभद्री प्राविको भवन र वडा नं ८ को ०-५-९ बिघा एक विद्यालयको भवन निर्माणको प्रदान गरिएको छ । बाराको देवताल गाउँपालिका साविक रौवाही गाविस-७ को ३-१२-१० बिघा बहुउद्देश्यीय रङ्गशाला निर्माण, झापाको गौरीगङ्ज गाउँपालिका-२ को ३-०-० बिघा ‘ल्याण्डफिल साइट’ निर्माण, गोरखाको धार्चे गाउँपालिका-५ को ४-२-०-० रोपनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको छ ।

बैठकले बागलुङको गलकोट नगरपालिका साविक मल्म गाविस-३ को २-७-०-२ रोपनी वडा कार्यालय भवन निर्माणको लागि, रौतहटको राजपुर नगरपालिका साविक राजपुर गाविस-३ को ०-१०-० बिघा नगरपालिकाको प्रशासकीय भवन निर्माण र वडा नं ५ को ०-५-० बिघा स्वास्थ्य चौकी भवन निर्माणको लागि स्वीकृति दिएको छ ।

यसैगरी बैठकले स्टाण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) नियमावली, २०७६ स्वीकृत गरेको छ । यस्तै संस्था दर्ता (नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत र काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.