मौरिसस एफएटीएफको ग्रे-लिष्टमा, नेपाली अर्थतन्त्रमा कस्ताे प्रभाव पर्ला ?

  २०७६ फागुन १५ गते १७:२५     सन्ताेष राेकाया

काठमाडौं । नेपाललगायत देशमा विदेशी लगानी भित्रने गरेको मौरिससमाथि सम्पत्ति शुद्धीकरण विरुद्ध काम गर्ने अन्तराष्ट्रिय निकाय फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) ले ग्रे लिष्टमा राखेको छ । सम्पत्ति शुद्धीकरण निवारणमा प्रभावकारी काम नगरेको, आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्न प्रभावकारी कदम नचालेको जस्ता आरोपमा एफएटीएफले मौरिससलाई ग्रे लिष्टमा राखेको हो ।

एफएटीएफले मौरिससलाई ग्रे लिष्टमा राखेसँगै नेपाली अर्थतन्त्रमा के कस्तो असर पर्छ भन्ने लेखाजोखा सुरु भएको छ ।

एफएटीएफको ग्रे लिष्टमा परेपछि नेपालको अर्थतन्त्र र लगानीमा के कस्तो प्रभाव पर्न सक्छ भन्ने विषयमा सरकारी अधिकारीहरुले गृहकार्य थालेका छन् । नेपालमा आउने विदेशी लगानी तथा यसअघि नै आएको लगानीप्रति के कस्तो व्यवहार गर्ने भनेर अधिकारीहरुले गृहकार्य थालेका हुन् ।

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले मौरिसस एफएटीएफको ग्रे लिष्टमा पर्दैमा नेपालमा समस्या नहुने दाबी गरे । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले विदेशबाट आउने लगानीको स्रोत खोज्न बैंकिङ उपकरण र प्रविधि प्रयोग गरिएकोले खतरा नहुने बताएका हुन् ।

‘विश्वमा धेरै ट्याक्स हेवनहरु छन्, त्यस्ता ठाउँबाट नेपालमा पनि लगानी आउँने गरेको छ तर बैकिङ प्रणालीबाट र स्रोत खुलेर विधिवत रुपमा आएका लगानीमा समस्या हुँदैन । स्रोत नखुली आएको, पैसा पठाउने संस्थाको क्षमता परिभाषित नभएको र त्यस्ता कम्पनी तथा संस्थामार्फत आएका पैसाहरु त अहिले पनि समस्यामा छन् नि,’ मन्त्री खतिवडाले भने ।

एफएटीएफले कुनै देशलाई ग्रे लिष्टमा राख्दैमा अर्काे देशलाई ठूलो समस्या नपर्ने मन्त्री खतिवडाको दाबी छ । तर नेपालको व्यवसायिक तथा अन्य सम्बन्ध धेरै भएको देश ग्रे लिष्टमा पर्दा भने समस्या हुने उनले बताए । नेपालले अहिले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित धेरै कानुन तथा विधिहरु प्रयोगमा ल्याएकोले धेरै खतरा नभएको उनको भनाइ छ ।

मौरिसससँगको श्रम सम्झौता कार्यान्वयनतर्फ सरकार

यसैबीच नेपाली कामदारलाई मौरिसस पठाउनका लागि गरेको श्रम सम्झौतालाई कार्यान्वयन गर्न नेपालले अग्रसरता देखाएको छ । नेपाली कामदारको सम्भावित आकर्षक गन्तव्य बन्न सक्ने भन्दै मौरिसस सरकारसँग नेपाल सरकारले श्रम सम्झौता गरेको थियो ।

त्यसलाई कार्यान्वयन गर्नका लागि बिहीबार मन्त्रिपरिषदमा छलफल हुने बताइएको थियो । मौरिससलाई एफएटीएफले ग्रे लिष्टमा राखेपछि नेपाल सरकारले सम्झौता कार्यान्वयनमा अघि बढ्ने वा पछि हट्ने के निर्णय गर्छ भन्ने यकिन हुन सकेको छैन ।

नेपाल सरकार र मौरिसस सरकारबीच गत जेठमा कामदार लैजानेबारे सम्झौता भएको थियो । मन्त्रीस्तरीय छलफलबाट कामदार भर्ना प्रक्रियालगायत विषयमा छलफल भएको जनाइएको छ ।

यो प्रक्रिया खुला भइसकेपछि पनि समस्या भने देखापर्नेछ । नेपाली कामदार लैजाने प्रक्रियाअघि बढेपनि एफएटीएफको ग्रे लिष्टमा परेको मौरिसससँग वित्तीय परिचालन तथा लगानी सेयरीङ गर्न भन्ने समस्या आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.