एनएमबी बैंकको सेयरमा किन बढिरहेको छ आकर्षण ? (समग्र विश्लेषण)

  २०७६ फागुन १५ गते १३:३७     विकासन्युज

काठमाडौं । लामो समयसम्म एनएमबी बैंक बिस्तारै आफ्नो गतिमा अगाडी बढ्ने मध्यम बैंकको रुपमा रहदै आयो । चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंक बनिसकेपछि भने बैंकको व्यवसायको दर, नाफा मात्र उच्च छैन, सेयर कारोबारमा देखिने गरी गतिविधि बढेको छ ।

गत साताको सेयर कारोबार रकम आधारमा बैंक प्रमुख १० भित्र अटाएको छ भने बजार पूँजीकरणको आधारमा सूचीकृत कम्पनीहरुमध्ये चौंथो स्थानमा छ । लामो समयसम्म मर्जरको कारण कारोबार रोकिएको बैंकबाट लगानीकर्ताले कारोबार खुला भएपछि मात्रै करीब ३६ प्रतिशत प्रतिफल पाएका छन् ।

यस्तो प्रतिफल बुधवारसम्मको मूल्य परिवर्तनबाट मात्रै सम्भव भएको हो । आज हामी बैंकको वित्तीय अवस्था, सेयर कारोबारमा रहेको आकर्षण लगायतको आधारमा विश्लेषण गर्दैछौं ।

परिचय

२०६५ सालमा स्थापना भएको एनएमबी बैंक पछिल्लो समय मर्जर र प्राप्तमा जोड दिदै अगाडी बढ्यो । हालै ओम डेभलपमेन्ट बैंक प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजीमा करीब २० प्रतिशतले वृद्धि भएको हो । हाल बैंक कञ्चन विकास बैंकलाई प्राप्ति गर्ने तयारीमा समेत छ । बैंकले क्लिन इनर्जी डेभलपमेन्ट, भृकुटी डेभलपमेन्ट बैंक, प्रुडेन्सियल फाइनान्स लगायतलाई समेत मर्ज गरेको थियो ।

–बजार पूँजीकरण आधारमा चौंथो स्थानमा आयो बैंक

–सेयर अत्यधिक खरिद चाप क्षेत्रमा

–ओमबाट आएको प्रिमियम लाभांश पाइने आशमा आकर्षण

–खराब कर्जा र कर्मचारी खर्च वृद्धि

मर्जरसँगै बैंकको कर्मचारी संख्या पनि निकै बढेको छ । हाल बैंकमा १ हजार ५ सय २३ कर्मचारी छन् । संख्यामा भएको वृद्धिको कारण कर्मचारी खर्चमा उच्च वृद्धि देखिएको छ । गत आव अन्त्यमा यस (बोनस बाहेक) मा ४३.२५ प्रतिशतले वृद्धि भएर १ अर्ब नाघेको छ ।

बैंकका लगानीकर्ता

वार्षिक वित्तीय विवरण अनुसार बैंकमा नेदरल्याण्ड्सको एफएमओको १७ प्रतिशत लगानी छ भने मलेशियाको यङ लियनको ५.२३ प्रतिशत सेयर लगानी छ । गोल्याण समूहको समेत बैंकमा पकड छ ।
हाल बैंकमा यही समूहबाट अध्यक्षको रुपमा पवनकुमार गोल्यान छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी छन् ।

उपाधी

बैंकले लगातार दुई वर्ष बैंक अफ दी इयरको अवार्ड पाएको छ । लण्डनको फाइनान्सियल टाइम्स् दी बैंकरबाट एनएमबी बैंकले सन् २०१७ र २०१८ मा यस्तो उपाधी पाएको थियो ।

सहायक कम्पनी

बैंकको शतप्रतिशत लगानीमा सहायक कम्पनी एनएमबी क्यापिटल सञ्चालनमा छ । कम्पनीले मर्चेन्ट बैंकरको रुपमा मात्र नभई सामुहिक लगानी कोष पनि सञ्चालन गरिरहेको छ । त्यस्तै बैंकको ५१ प्रतिशत सेयर स्वामित्वमा एनएमबी लघुवित्त कम्पनी पनि सञ्चालनमा छ । बैंकले लगानीको रुपमा सूचीकृत भएको सेयरमा ६० करोड ६८ लाख र सूचीकृत नभएको सेयरमा ६३ करोड ३२ लाख लगानी गरेको छ ।

बैंकले गत आव अन्त्यसम्म १० करोड २९ रुपैयाँ बराबरको सम्पती खराब भएका ऋणीहरुबाट सकारेको छ ।

कानुनी काम कारवाही

बैंक र त्यसअघि मर्जर भएका संस्थाहरुको कर निर्धारणको विषयमा सर्वोच्च र पुनरावेदन अदालतमा मुद्दा चलिरहेको छ । करीब १७ करोड ५० लाख रुपैयाँ करमा विवाद रहेको हो । बैंकले सकारेको जग्गाको विषयमा समेत मुद्दा परेको छ । यो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचराधिन अवस्थामा छ ।

लाभांश दर

बैंकले यसपटकको ३५ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । बैंकले विगत ५ वर्षमा बार्षिक औषत २१.८४ प्रतिशत लाभांश दिएको छ ।

बैंकले बोनस सेयरलाई चुक्ता पूँजीमा समायोजन गरिसकेको देखिदैन । चालु आवको हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई १ अर्ब ११ करोड रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको बोनस सेयर समायोजन पछिको चुक्ता पुँजीको आधारमा ८ प्रतिशत हो । निश्चय नै आव अन्त्यमा यो दर बढ्नेछ ।

बैंकको मर्जर अघि २ अर्ब ५१ करोड सेयर प्रिमियम रहेकोमा हाल २ अर्ब २४ करोड रहेको विवरण प्रकाशित गरेको छ । यसबाट समेत लाभांश दिन केही रकम प्रयोग भइसकेको देखिन्छ ।

तर, बैंकले सेयर प्रिमियममा ओम डेभलपमेन्टबाट आएको रकम देखाएको छैन । प्राप्तिको क्रममा एनएमबी र ओमको सेयर स्वाप रेसियो १ सय बराबर ७६ अनुपात कायम भएको थियो । यसको अर्थ बैंकको सेयर प्रिमियममा ६० करोड रुपैयाँ बढ्नु पर्ने हो । तर यस्तो वृद्धि भएको छैन । यता बैंकले ६२ करोड रुपैयाँ गैरसञ्चालन आम्दानी देखाएको छ । भविष्यमा प्रिमियम वापतको रकम समेत लाभांश दिन सक्ने व्यवस्था छ ।

वित्तीय अवस्था

एनएमबी बैंकले चालु आवको दोस्रो त्रैमाशमा ४७.४० प्रतिशतले नाफा बढाएको छ । बैंकको नाफा १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । नाफा रकमको आधारमा समग्र वाणिज्य बैंकहरुमध्ये एमएमबी बैंक सातौं स्थानमा छ ।
बैंकको जगेडा तथा सञ्चित कोषमा ७ अर्ब ६६ करोड रुपैयाँ छ । बैंकको व्याज आम्दानी ३२ प्रतिशत बढेको छ भने खुद व्याज आम्दानी ३६ प्रतिशतले वृद्धि भएको छ । ७ अर्ब १ करोड ब्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानीमा २ अर्ब ७३ करोड पुगेको छ ।

खुद व्याज आम्दानीसँगै फि, कमिशन र अन्य आम्दानी बढेको छ । तर, यसले पनि कुल सञ्चालन नाफा भने २ प्रतिशतले घटेको छ । १ अर्ब ५१ करोड सञ्चालन नाफा भएको छ ।

गत वर्ष ९ करोड १४ लाख प्रावधान राखेको बैंकले यो रकम बढाएर ६० करोड पु¥याएको छ । खराब कर्जा अनुपात बढेर १.९६ प्रतिशत छ । नोक्सानी व्यवस्थामा १ सय ३१ प्रतिशत रकम राखेको छ ।

निक्षेप प्राथमिक पुजीको आधारमा कर्जा लगानी अनुपात ७७.५५ प्रतिशत छ । बैंकलाई थप लगानीको लागि स्पेस कम भइसकेको छ । कोष लागत ७.३२ प्रतिशतबाट बढेर ७.७० मा पुगेको छ । बैंकको पूँजी लागत उच्च रहेको, कर्जा दिदा लिने व्याजदर (१०.१२) उच्च रहेकोले प्रतिस्पर्धी क्षमतामा यसले केही कमि ल्याएको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३०.४० प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ८८ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.८१ प्रतिशत छ । प्रतिसेयर आम्दानी र नेटवर्थ औसतभन्दा माथि नै रहेपनि मूल्य आम्दानी अनुपात भने औसतभन्दा निकै तल छ । यसले बैंकको सेयरले अझै उचित मूल्य नपाएको देखाउँछ । बैंकले हाल घोषणा गरेको बोनस सेयर समायोजनपछि प्रतिसेयर आम्दानी केही घट्नेछ ।

बुलिश प्रवृत्ति

विगत एक वर्षमा १ सय ३४ दिन मात्र कारोबार भएको बैंकको सेयर हालसम्मकै उच्च विन्दुमा छ ।बैंकको सेयर १४ दिने आरएसआई सुचकको स्केल ९६.०९ मा छ । बैंकको सेयरमा अत्यधिक खरिद चाप रहेको देखाउँछ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ ।

२१ दिने सिम्पल मुभिङ एभरेज रेखालाई ७ दिने रेखाले काटेर केही माथि लागेको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्छ ।

३० कारोबार दिनको पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे आगामी ३० दिनमा ५ सय २९ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ३ सय ९५ मा पहिलो टेवा पाउने देखाउँछ ।

बैंकको सेयर मूल्यले अन्तिम दिन डोजी मैनवत्ति बनेको छ । यसले मूल्य घट्न सक्ने सम्भावनालाई पनि देखाइरहेको छ । यो संकेत दरिलो होइन । तर, वर्षकै उच्च विन्दुमा मूल्य रहेकोले प्रोफिट बुकिङमा लगानीकर्ता लाग्न सक्ने सम्भावना छ ।

हालसम्म अत्यधिक खरिद चाप नै देखिएकोले डराई हाल्नु पर्ने अवस्था छैन । तरपनि ध्यान दिनुपर्ने अवस्थामा भने मूल्य आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.