गभर्नर नियुक्ति प्रसंगः शिवाकोटीलाई प्रधानमन्त्रीले दिएको ‘निर्विवाद शुभकामना’को अर्थ के होला ?

  २०७६ फागुन १४ गते १२:५०     विकासन्युज

काठमाडौं । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ नामक पुस्तक प्रधानमन्त्री केपी शर्मा ओलीले गत विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गरे ।

प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीबाटै पुस्तक विमोचन गरिनुले पुस्तक वा लेखकको राष्ट्रिय महत्व वा प्रधानमन्त्रीसँगको सम्बन्धको संकेत राम्रैसँग दिन्छ । अझ आगामी ६ चैतमा रिक्त हुने गभर्नर पदका स्वभाविक प्रतिस्पर्धीको पुस्तक प्रधानमन्त्रीले नै विमोचन गर्नुले शिवाकोटीको पहुँच प्रष्ट्याइसकेको छ ।

नेपाल राष्ट्र बैंकको लागि आगामी गभर्नर खोजिदै गर्दा शिवाकोटी नै प्रधानमन्त्रीको रोजाईका पात्र हुन त ? भन्ने प्रश्न पनि छ । यो प्रश्नलाई प्रधानमन्त्रीको एक्लो प्रयासमा अर्थमन्त्री बनेका डा. युवराज खतिवडालेको क्रियाकलापले बल प्रदान गरेको छ ।

शिवाकोटीको पुस्तक विमोचन कार्यक्रममा अर्थमन्त्री डा. खतिवडालाई पनि निम्ता गरिएको थियो । प्रधानमन्त्रीको एक्लो प्रयासले अर्थमन्त्री भएका र पछि राष्ट्रियसभाको सांसद पनि हुन पाएका डा. खतिवडा सो कार्यक्रममा गएनन् । प्रधानमन्त्री ओलीको पहलमै शिवाकोटीलाई डेपुटी गभर्नर बनाइएको थियो ।

प्रधानमन्त्री ओलीले मन पराउने शिवाकोटीको प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीबाटै पुस्तक विमोचन कार्यक्रममा डा. खतिवडा किन गएनन् ? शिवाकोटीप्रति डा. खतिवडाको पूर्वाग्रह वा इष्र्या त होइन भन्ने शंका पनि उब्जिएको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर मन्त्रिपरिषदले नियुक्त गर्ने हो । मन्त्रिपरिषदले गर्ने निर्णयमा विभागीय मन्त्री मात्रै होइन, सबै मन्त्री विपक्षमा भएपनि प्रधानमन्त्रीले चाहेको निर्णय गर्न गराउन सक्छन् । त्यसैले अर्थमन्त्रीको चाहना नभए पनि प्रधानमन्त्रीको चाहना भएको अवस्थामा शिवाकोटीलाई गभर्नर बन्नबाट कसैले रोक्न सक्दैन ।

तर, केही प्राविधिक समस्या भने हुन सक्छन् । जस्तो कि गभर्नर सिफारिस समितिको अध्यक्ष अर्थमन्त्री हुने कानुनी व्यवस्था छ । त्यसैले अर्थमन्त्री असाध्यै नकारात्मक भएभने शिवाकोटीको नाम सिफारिसमै नपर्न सक्छ । गभर्नर सिफारिस गर्दा ३ जनाको नाम सिफारिस गर्नुपर्ने र त्यसमध्ये एक जना डेपुटी गभर्नरको नाम हुनै पर्ने कानुनी व्यवस्था छ । तर, अर्थमन्त्रीले शिवाकोटीको साटो अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठको नाम सिफारिस गरिदिन पनि सक्छन् ।

यो भनेको कोरा सैद्धान्तिक विषय हो । केपी ओली प्रधानमन्त्री रहेको अहिलेको समयमा डा. युवराज खतिवडा जस्तो ओलीकै कृपाले मन्त्री भएका व्यक्तिले ओलीको नजिकका मान्छे शिवाकोटीको नाम सिफारिस नगर्लान भनेर अनुमान गर्नु नै बेकारको कुरा हो । अर्थमन्त्रीले शिवाकोटीको नाम नराखी गभर्नरको नाम सिफारिस गरेभने प्रधानमन्त्रीले एउटा कुनै नाम काटेर शिवाकोटीको नाम त्यही थप्न अर्थमन्त्रीलाई लगाउने छन् ।

बरु अर्थमन्त्री डा. खतिवडाले गभर्नर सिफारिस गर्न पाउँलान् कि नपाउँलान् भन्ने शंका छ । उनको राष्ट्रियसभा सदस्यको पद आगामी २० फागुनमा सकिदैछ । उनी पुनः राष्ट्रियसभामा मनोनित नभएमा उनको सांसदसँगै मन्त्री पद पनि गुम्नेछ । राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेब गौतमलाई सिफारिस गर्ने नेकपा सचिवालयले निर्णय गरिसकेको चर्चा छ ।

गत विहीबारको पुस्तक विमोचन कार्यक्रममै प्रधानमन्त्री ओलीले शिवाकोटीलाई ‘कुटनीतिक भाषामा गभर्नर बनाउने बचन सार्वजनिक रुपमै दिएको’ बुझ्नेहरु पनि छन् ।

‘शिवाकोटीजीको पढाइको विषय म्यानेजमेन्ट, फाइनान्स, इकोनोमिक्स हो, उहाँ राम्रो साहित्य सिर्जना पनि गर्नुहुन्छ, उहाँका सिर्जनाहरु हामीले पहिला पनि पढ्न पाएका थियौं, यो पुस्तक पनि असाध्यै राम्रो छ, उहाँ बहुमुखी प्रतिभाको धनी हुनुहुन्छ, उहाँलाई शुभकामना छ, सफलता अघि बढ्दै जाओस्, हामी सबैको निर्विवाद शुभकामना छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

प्रधानमन्त्री ओलीको ‘निर्विवाद शुभकामना’लाई लिएर शिवाकोटीलाई गभर्नर बनाउने सार्वजनिक रुपमा बचन दिएको अथ्र्याउनेहरुको कमी छैन ।

‘कसैलाई पनि विवादित शुभकामना दिइदैन, निर्विवाद शुभकामना भित्र लाक्षाणिक अर्थ लुकेको छ, केपी ओली जस्तो चलाख राजनीतिज्ञले नबुझेर यो शब्द प्रयोग गर्नुभएको होइन, गभर्नर शिवाकोटी नै हुन् भन्ने संकेत दिन खोज्नुभएको हो,’ सोही कार्यक्रममा सहभागी एक बैंकरले भने ।

अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठले पनि आफूलाई भावी गभर्नरको लागि दाबी गरिरहेका छन् । यस्तै, अर्थसचिवबाट भर्खर अवकाश पाएका डा. राजन खनाललाई पनि भावी गभर्नरको रुपमा चर्चा गर्ने गरिएको छ । यस्तै, राष्ट्र बैंक संचालक समिति सदस्य डा. सुवोदकुमार कर्णलगायत अन्य केही अर्थशास्त्री पनि गभर्नर बन्ने दौडमा छन् ।

तर, प्रधानमन्त्री ओलीले पार्टीको समिकरण मिलाउन तत्काल मन्त्रिपरिषद पुनरगठन गरे, नयाँ व्यक्ति अर्थमन्त्री भएर आयो भने परिस्थिति फरक हुन सक्छ । तर, अहिलेसम्मको अवस्थामा शिवाकोटीको पल्ला भारी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.