बालबालिकामा कोरोनाको प्रभाव न्यून, किन रहन्छन् सुरक्षित ?

  २०७६ फागुन १३ गते १८:५२     विकासन्युज

काठमाडौं । कोभिड १९ (नोबल कोरोनाभाइरस) को कारण मंगलबार बिहानसम्म २ हजार ७ सय मानिसको मृत्य भएको छ ।

दुई महिनाअघि चीनको हुवेई प्रान्तको वुहान शहरमा पहिलो पटक देखापरेको कोभिड १९ को कारण ३६ देशका ८० हजार १ सय ३० लाई संक्रमित भइसकेका छन् ।

यसमा सबैभन्दा बढी ७७ हजार ६ सय ५८ संक्रमितको संख्या चीनको रहेको छ । यस्तै मृत्यु हुने संख्यामा २ हजार ६ सय ६३ जना चीनकै छन् ।

गत फागुन ७ गते चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले कोभिड १९ (नोबल कोरोना भाईरस) लागेको ७० हजार मानिसको विवरणको आधारमा अध्ययन सार्वजनिक गर्याे ।

उक्त अध्ययन अनुसार हालसम्म कोरोना भाईरसको कारण जन्मेदेखि ९ वर्ष उमेरसम्मका बालबालिकाको मृत्यु भएको छैन । यस्तै, १० देखि ३९ वर्षसम्मको उमेर समुहको मृत्युदर ०.०२ प्रतिशत छ ।

विश्वभर ७७ हजार मानिसमा संक्रमण भई २ हजार ७ सय मानिसको मुत्यु हुँदा ९ वर्षसम्मको एक बालबालिकाको पनि मृत्यु भएको छैन ।

बालबालिकामा कोरोनाको प्रभाव किन कम देखिरहेको छ भन्ने कुनै यकिन तथ्य भने सार्वजनिक भएको छैन । तर, वयस्कहरुको तुलनामा बालबालिकाहरुमा फरक किसिमको रोग प्रतिरोधात्मक क्षमता एक कारण हुनसक्ने विज्ञहरु बताउँछन् ।

कोरोना भाईरसको परिवारको रुपमा रहेको सार्स, मर्स जस्ता संक्रमणको असर पनि बालबालिकामा कम देखिएको छ । सार्स र मर्सको बढी प्रभाव सन् २०१२ तिर बढी देखिएको थियो ।

यद्यपि, यसको मतलब बालबालिकामा कोरोना भाईरसको सक्रमण बालबालिकामा हुदैन भन्ने होइन । बालबालिकामा पनि कोरोना भाईरसको संक्रमणका कारण निमोनियको लक्षण देखिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले विज्ञलाई उदृत गर्दै समाचार सम्प्रेषण गरेका छन् । तर, बलियो रोग प्रतिरोधात्मक क्षमताको कारण कोरोनाले वयस्कलाई जस्तो बालबालिकालाई प्रभाव पार्न सकेको छैन ।

बालबालिकाको दाँजोमा २५ गुणा बढी वयस्कको ठेउला (चिकेन पक्स) को कारण मुत्यु हुने गरेको छ । यस्तै, सिजनल फ्लुको कारण बालबालिकाको दाँजोमा वयस्कको मृत्यूदर १० गुणा बढी रहेको विज्ञ बताउँछन् ।

श्वासप्रश्वासका रोगहरुसँग बालबालिका पनि वयस्क जत्तिकै प्रभावित हुन्छन् । तर, बालबालिका वयस्कको दाँजोमा सजिलै निको हुने विज्ञहरु बताउँछन् ।

विज्ञका अनुसार वयस्कको तुलनामा बालबालिका धुलो, धुवाँ र धुम्रपानसँग कम सम्पर्कमा हुने भएकोले उनीहरुको श्वासप्रश्वास प्रणाली स्वस्थ हुन्छ र यो उनीहरुको रोगसँग लड्न सक्ने एक कारण हो ।

यस्तै, बालबालिकामा दीर्घ रोग कम हुन्छ । यो कारण पनि बालबालिका यस्ता संक्रमणबाट जोगिने गरेका छन् । सन् २०१२ र २०१३ मा सार्स र मर्सले पनि मोटोपन, चिनी रोग, मुटुरोग जस्ता दीर्घकालिन रोग लागेका वयस्कहरुलाई बढी प्रभाव पारेको थियो ।

हरेक वर्ष फ्लुको कारण ६५ वर्षभन्दा बढी उमेर समुहका मानिसको मृत्युदर धेरै हुने गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.