नेपाल ट्रष्टको जग्गाबारे पाेखरेलकाे स्वेतपत्रः अनाधिकृत मोही कायम भएको १ सय ७४ रोपनी जग्गा खोजिदै

  २०७६ फागुन १३ गते १६:३६     विकासन्युज

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाल ट्रष्टको जग्गाबारे स्वेतपत्र जारी गरेका छन् । सो जग्गा विभिन्न व्यक्ति तथा व्यापारिक फर्मलाई शंकास्पद रुपमा दिइएको आरोप लागिरहेका बेला ट्रष्टको अध्यक्षसमेत रहेका पोखरेलले स्वेतपत्र जारी गरेका हुन् ।

२०७० सालयता मन्त्रिपरिषदबाट निर्णय गराएर ट्रष्टको जग्गामा मोही कामय गरिएको विषयमा खोजविन गरिने मन्त्री पोखरेलले जानकारी दिए । सो समयपछि ट्रष्टको नाममा रहेको १ सय ७४ रोपनी जग्गामा मोही कायम गरिएको मन्त्री पोखरेलको भनाइ छ ।

ट्रष्टमा पूर्वराजा विरेन्द्र र उनको परिवारको जग्गा ल्याइएको हो । यस्तो जग्गामा मोही नलाग्ने भएपनि शंकास्पद ढंगबाट मोही कायम गरी व्यक्तिगत फाइदा लिएको हुन सक्ने मन्त्री पोखरेलले संकेत गरे ।

नेपाल ट्रष्टको नाममा देशभर २१ हजार ५ सय ६२ रोपनी जग्गा छ । काठमाडौंका केही महंगा स्थानको जग्गा बिभिन्न कम्पनीले भाडामा लिएका छन् । यसरी जग्गा भाडामा लगाउँदा अपारदर्शी गतिविधि भएको भन्दै जग्गा भाडा प्रकरण विवादित बनेको छ ।

ट्रष्टको जग्गा १२ जिल्लामा रहेको स्वेतपत्रमा उल्लेख छ । यसममध्ये धादिङमा सबैभन्दा धेरै जग्गा छ । धादिङमा १५ हजार १ सय १ रोपनी जग्गा छ । तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५ सय ६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ । सबैभन्दा बढी जग्गा हुने दोस्रो नम्बरमा ४ हजार ४ सय ४२ रोपनी जग्गा काठमाडौं जिल्ला भेटिएको छ ।

दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, छाउनी जस्ता महत्वपूर्ण ठाउँका जग्गा व्यापारिक प्रयोजनमा भाडामा दिइएको छ ।  नेपाल ट्रष्टको घरजग्गा प्रयोग गर्नेमा थामसेर्कु ट्रेकिङ, टाउन डेभलपर्स, कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंकलगायतका निजी कम्पनीहरु छन् ।

काठमाडौंका काँठ क्षेत्रमा रहेका घरजग्गा भने मोहीले बसोबास र खेती प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको छ । ताहाचलमा बिभिन्न सरकारी कार्यालयहरुले भाडा तिरेर बसेका छन् ।

ट्रष्टमा तत्कालिन राजपरिवारको नामबाट आएको रकम अमेरिकी डलर एक लाख ४८ हजार ५ सय ८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १ सय २४ बैंकमा छ । ट्रष्टले विभिन्न बैंक तथा बित्तिय संस्थाको सेयरसमेत खरिद गरेको छ ।

धादिङ र काठमाडौंसहित भक्तपुर, ललितपुर, नुवाकोट, मकनवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक , धनकुटा, सुर्खेत, कास्की र चितवन तत्कालिन राजपरिवारको जग्गा जमिन भेटिएको छ । रामेछाप दोलखा लगायतका जिल्लामा जमिन खोज्ने क्रम चलिरहेको नेपाल ट्ष्टले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.