जागिरको लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ ? अब यसरी जित्नुस् प्रश्नकर्ताको मन

  २०७६ फागुन १३ गते १३:१३     विकासन्युज

काठमाडाैं । राम्रो तयारीका साथ उपयुक्त ढंगबाट रोजगारीका लागि दिइने अन्तर्वार्ताको माध्यमबाट तपाईंले जागिर हासिल गर्ने मात्रै नभएर रोजगारदाताको मनमा आफ्नो विशेष छाप समेत बसाल्न सक्नुहुन्छ ।

सामान्यतया रोजगारदाताले आवेदन दिएका आवेदकहरुमध्ये उचित ठहर्याएर अन्तर्वार्ताका लागि तपाईंलाई डाक्नुको मतलब रोजगारदाता तपाईंप्रति अहिलेसम्म सकारात्मक छन् र तपाईं रोजगारीको अर्को एक कदम नजिक आइपुग्नुभएको छ भन्ने हो । यस अवस्थामा प्रश्न-उत्तरमार्फत आफ्नो सीप, दक्षता, कार्यअनुभव र क्षमता प्रमाणित गरी खुल्ला गरिएको पदमा तपाईंले आफूलाई स्थापित गराउन सक्नुहुन्छ ।

यदि अन्तर्वार्ताको क्रममा तपाईंले प्रदर्शन गर्नुभएको सीप, दक्षता, कार्यअनुभव र क्षमता लगायतका कारण नै तपाईंले रोजगारी हासिल गर्दै हुनुहुन्छ भन्ने तपाईंलाई लाग्छ भने तपाईं गलत हुनुहुन्छ । त्यसोत आजको दिनमा सीपको आधारमा रोजगारी पाइन्छ वा आवेदकको आचरण, व्यवहार, आत्मविश्वास तथा सो कम्पनी वा कार्यालयप्रतिको प्रतिबद्धताको आधारमा काम गर्ने अवसर हासिल हुन्छ भन्नेमा फरक-फरक रोजगारदाता र व्यवस्थापकहरुको भिन्न मत रहेको छ ।

तर, अन्तर्वार्ता नै त्यस्तो माध्यम हो जसमार्फत रोजगारदाताले आवेदकको यि सबै गुण एवं विशेषताको निर्क्यौल गरी तपाईंको रोजगारी पाउने सम्भावनाको निर्धारण गर्दछन् । तसर्थ, रोजगारी खोज्ने जोसुकैका लागि अन्तर्वार्ता निकै नै महत्वपूर्ण कोशेढुंगा हो ।

तर यहाँ विचार गर्नुपर्ने कुरा के हो भने रोजगारी खोज्ने मानिसका लागि अन्तर्वार्ता जवाफ दिनेमात्र नभइ प्रश्न सोध्ने थलो पनि हो । तपाईंले रोजगारीका लागि अन्तिम पटक कहिले अन्तर्वार्ताको सामना गर्नुभयो ? यदि हालसालै गर्नुभएको छ भने, तपाईंले याद गर्नुभयो, रोजगारदाताको समूहले तपाईंलाई आफ्नो प्रश्नहरु सोधिसकेपछि अन्तमा ‘अब हामीलाई तपाईंले सोध्नुपर्ने केहि प्रश्न छन् कि ?’ भनेर तपाईंको जिज्ञासा मेटाउने अवसर दिएको ?

रिक्रुटिङ्ग फर्म (कर्मचारी नियुक्ती गर्ने जिम्मेवारी लिएको कम्पनी), इसिए पार्टनर्स्का संस्थापक तथा इभिडेन्स बेस्ड रिक्रुटिङ्ग पुस्तकका लेखक अट्टा टार्कीका अनुसार कुनै पनि रोजगारीका लागि दिइने अन्तर्वार्ताको सफलता तपाईंले दिने जवाफहरुमा मात्रै नभएर तपाईंले रोजगारदातालाई सोध्ने प्रश्नमा पनि निर्भर गर्दछ ।

विभिन्न कम्पनीहरुका लागि नियुक्ती प्रक्रियाको जिम्मेवारी सम्भालेका टार्की आफ्नो अनुभव यसरी उल्लेख गर्छन्, ‘यस काममा एक दशक बिताइसकेपछि मैले के पाएँ भने अधिकांश जागिरका आकांक्षीहरु डर वा आत्मविश्वासको कमीका कारण रोजगारदातालाई प्रभावित गर्ने साहसिक प्रश्न गर्न सक्दैनन् ।’

उनी अगाडी बताउँछन् कि यसरी उचित प्रश्न गर्न नसक्ने ब्यक्तिहरु रोजगारदाताको नजरमा कम जिम्मेवार, दृष्टिकोणविहिन र काम एवं संस्थाप्रति लापरवाह व्यक्तिको रुपमा चित्रित हुन्छन् ।

तसर्थ, अन्तर्वार्ताको क्रममा तपाईंले सोधेर रोजगारदातालाई प्रभावित तुल्याउन सक्ने केहि प्रश्नहरु निम्न उल्लेखित छन् जुन ऐजेन्सी तथा विभिन्न अन्तराष्ट्रिय वेभसाइटको सहयोगमा तयार पारिएको होः

१. यस पदमा रहेर योभन्दा अगाडी काम गर्ने कर्मचारीहरु के कस्ता थिए ? उनीहरुको काम गर्ने तौरतरिका कस्ता थिए ? र उनीहरुको गुणदोष केके थिए ?
माथि उल्लेखित प्रश्नहरुले तपाईं आफूलाई र आफ्नो काम गर्ने शैलीलाई अरुसँग तुलना गरी उनीहरुबाट केहि सिक्न खोजीरहनुभएको छ भन्ने प्रष्ट्याउँछ जसलाई रोजगारदाताले तपाईंको सकारात्मक चतुर कदमको रुपमा लिनसक्दछन् ।

२. यस पदमा रहेर काम गर्नेहरुमध्ये कस्ता कर्मचारीलाई तपाईं सफल कर्मचारी मान्नुहुन्छ र सोको मापन कसरी गर्नुहुन्छ ?
यस प्रश्नले तपाईं आफ्नो पदभारप्रति जिम्मेवार हुनुहुन्छ र सफलता हासिल गर्नेतर्फ प्रयासरत हुनुहुन्छ भन्ने तथ्यलाई इंगित गर्दछ ।

३. मैले यस जागिर सुरु गरेको खण्डमा तपाईं मैले पहिलो तीन महिना, छ महिना वा एक वर्षभित्र केकस्तो योगदान गरोस् वा उपलब्धी हासिल गरोस् भन्ने चाहनुहुन्छ ?
यस प्रश्नले तपाईं कुनै पनि काम योजनाबद्ध ढंगबाट गर्न रुचाउनुहुन्छ भन्ने जनाउँछ ।

४. तपाईं आफ्नो नवनियुक्त कर्मचारीले कार्यालयभित्र केकस्तो नयाँ मूल्य मान्यता भित्र्याओस् भन्ने चाहनुहुन्छ ? नवनियुक्त कर्मचारीले कार्यवातावरणमा के-कस्तो योगदान गरोस् भन्ने अपेक्षा राख्नुहुन्छ ?
यस्ता प्रश्नले तपाईं काममा मात्रै नभएर मावन मूल्य तथा कार्यालयको प्रोफेसनल वातावरणप्रति पनि सचेत हुनुहुन्छ भन्ने जनाउँदछ ।

५. यस कम्पनीभित्र के-कति अन्तरालमा पारिश्रमिक तथा सेवा सुविधाको मूल्यांकन हुन्छ ? कर्मचारीको क्षमता अभिवृद्धिका लागि कम्पनीले केकस्ता क्रियाकलापहरु संचालन गरिरहेको छ ?
यस्ता प्रश्नले तपाईं भविष्यप्रति सचेत हुनुहुन्छ र आफ्नो करियरको वृत्ती-विकासप्रति गम्भिर हुनुहुन्छ भन्ने स्पष्ट गराउँछ ।

६. तपाईं कर्मचारीले समयमै वा सोभन्दा अघि कार्यसम्पादन गरोस् भन्नेमात्रै चाहनुहुन्छ वा कार्यसम्पादन गर्दा प्रोफेसनल, ह्यूमन तथा यथिकल भ्यालुज्तर्फ पनि ध्यान देओस् भन्ने चाहनुहुन्छ ?
यस प्रश्नले तपाईं काम, डेडलाइनको अलावा नीतिगत तथा मानविय मूल्य-मान्यताप्रति पनि सजग हुनुहुन्छ भनेर प्रष्ट्याउँछ ।

७. तपाईंको कम्पनीको दृष्टिकोण, लक्ष्य तथा उद्देश्य के के हुन् ?
यस प्रश्नले तपाईं सो कम्पनीसँग दीर्घकालसम्म आवद्ध हुन चाहनुहुन्छ भन्ने देखाउँछ ।

८. यस कम्पनीभित्र सहकर्मीहरुबीच सहकार्य, सहअस्थित्व एवं सौहाद्रपूर्ण वातावरण निर्माणका लागि के-कस्ता पहलहरु भएका छन् ?
यस प्रश्नले तपाईंलाई समूहकार्य गर्न रुचाउने र सबैसँग मिलेर काम सम्पादन गर्न रुचाउने व्यक्तिको रुपमा चिनाउँछ ।

९. यस कम्पनीले कस्तो नेतृत्वको शैलीलाई प्रोत्साहन गर्दछ ? अवस्थाअनुसार गुनासो गर्ने प्रणालीको विकास भएको छ कि छैन ?
यस प्रश्नले तपाईंभित्र रहेको नेतृत्व कलासम्बन्धी चेतलाई उर्जागर गर्दछ ।

१०. कम्पनीले  व्यवसायिक सामाजिक उत्तरदायित्वप्रति कत्तिको ध्यान दिएको छ ? अथवा सोअन्तर्गत केकस्ता कार्यहरु संचालित छन् ?
यस प्रश्नले तपाईंको समाजप्रतिको जिम्मेवारीको बोधलाई झल्काउँछ ।

११. के तपाईंले मेरो रिज्यूमेमा केहि त्यस्ता चिज वा गुणहरु देख्नुभयो जसको कारण तपाईंले मलाई आदर्श उम्मेदवार मान्न सक्नुहुन्छ वा जसको कारणले म यस रोजगारीको लागि अन्यभन्दा बढी योग्य देखिन्छु ?
यस प्रश्नले तपाईं सो रोजगारीको अवसरप्रति चासो राख्नुभएको छ भनेर बुझिन्छ ।

अन्तमा, कार्यालय वा कामको प्रकृतिअनुसार तपाईंले रोजगारदातालाई सोध्न सक्ने प्रश्नहरु अन्य पनि हुन सक्छन् जुन तपाईं आफ्नो क्षमता वा सुविधाअनुसार आफैले विकास गरी सोध्न सक्नुहुन्छ । तर याद राख्नुस्, अन्तर्वार्ता तपाईंको हो न कि रोजगारदाताको । तसर्थ, आफूलाई अन्य प्रतिस्पर्धीभन्दा अलग प्रमाणित गर्ने एक वा दुईभन्दा बढी प्रश्न नगनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.