गर्भावस्थामा के खाने ? कस्तो व्यवहार गर्ने ? बारे नयाँ पाठ्यक्रम शुरू गर्दै भारतीय विश्वविद्यालय

  २०७६ फागुन १३ गते १३:००     विकासन्युज

काठमाडाैं । गर्भावस्थामा के खाने ? सरसफाइ कसरी गर्ने ? कस्तो संगित सुन्ने ? र कसरी आफूलाई आराम र स्वस्थ राख्ने ? भन्ने बारेमा कतिपयलाई ज्ञान नहुन सक्छ । झट्ट सुन्दा महिलाका लागि मात्र काम लाग्ला जस्तो लागेता पनि पुरुषहरुले पनि यस बारे थाहा पाइ राख्न निकै जरूरी छ ।

यहि विषयलाई मध्यनजर गर्दै भारतको उत्तर प्रदेशस्थित लखनउ विश्वविद्यालयले ‘गर्भ संस्कार’ नामक एक अनौठो विषयमा अध्ययन सुरु गराउने भएको छ ।  यसै वर्षको अप्रिलबाट सुरु हुने नयाँ शैक्षिक शत्रबाट भारतमै पहिलो पटक संचालनमा आउन लागेको गर्भावस्था तथा मातृत्वसम्बन्धी यस शैक्षिक कार्यक्रमअन्तर्गत महिलाहरुले गर्भावस्थामा कस्तो कपडा लगाउने, कस्तो खानेकुरा खाने र कस्तो व्यवहार गर्ने लगायत विषयमा गहन अध्यापन गराउने उद्देश्य राखेको छ ।

प्रविणतापत्र र डिप्लोमा तहमा संचालन हुने यस विषयअन्तर्गत गर्भावस्थामा कस्तो संगित सुन्ने, गर्भावस्थामा सरसफाइ कसरी गर्ने र कसरी आफूलाई आराम र स्वस्थ राख्ने भन्ने पनि सिकाइने छ । विश्वविद्यालयले भने अहिले यूवावस्थामा प्रवेश गरिरहेका छात्राहरुलाई भविष्यमा आमा बन्न सहायता गर्ने उदेश्यले सो पाठ्य कार्यक्रम संचालन गर्न लागेको जनाएको छ ।

झट्ट सुन्दा महिलाका लागि मात्र काम लाग्ला जस्तो लागेता पनि विश्वविद्यालयले भने पुरुष विद्यार्थीहरुलाई पनि यस पाठ्यक्रममा सहभागीता जनाउन दिने टाइम्स अफ इण्डियाले जनाएको छ ।  जर्मनीमा पहिल्यैदेखि समान प्रकृतीको शैक्षिक कार्यक्रम संचालन भइरहेको जनाएको विश्वविद्यालयले यस पाठ्यक्रमका कारण भविष्यमा भारतमा रोजगारीको श्रृजना हुनसक्ने पनि विश्वास लिएको छ ।

विश्वविद्यालय श्रोतका अनुसार, यस शैक्षिक पाठ्यक्रमअन्तर्गत विद्यार्थीहरुले गर्भावस्थाभन्दा अघि र गर्भावस्थामा रहेका महिलाहरुले अंगिकार गर्नैपर्ने परिवार नियोजन, पोषण, सरसफाइ तथा स्वच्छता लगायतका १६ वटा मान्यताहरु सिक्नेछन् ।

‘गर्भावस्थामा प्रवेश गर्न लागेका केहि भारतीय महिलाहरु सचेत र शिक्षित भएता पनि अन्य असंख्या महिलाहरुको अवस्था त्यस्तो छैन । फेरी शिक्षित महिलाहरुमा पनि गर्भावस्थाको बेला के गर्नुपर्ने र के गर्नुनपर्ने भन्ने बारेमा जानकारीको अभाव रहेको पाइन्छ,’ विश्वविद्यालयका प्रवक्ता दुर्गेस श्रीबास्तव भन्छन् ।

उनका अनुसार यस विषयको अध्ययनले महिलाहरुलाई सफा तथा सुरक्षित वातावरणमा बस्न, स्वस्थ तथा पोषिलो खानेकुरा खान, आफ्नो र जन्मेको बच्चाको शरिर र स्वास्थ्यको स्याहार गर्न सघाउने छ । ‘भारतको नयाँ पुस्तालाई सुखी र स्वस्थ बनाउन यस पाठ्यक्रमको ठूलो योगदान रहनेछ,’ श्रीबास्तव थप्छन् ।

लखलउका विद्यार्थी तथा स्त्री रोग चिकित्सकहरुले विश्वविद्यालयको यस घोषणाको खुलेर स्वागत गरेका छन् । ‘यो बास्तवमै राम्रो र संबेदनशील विषय हो । यस विषयको अध्यापनले दम्पत्तिहरुलाई स्वस्थ बच्चा जन्माउन मद्धत गर्छ जसले भारतको स्वस्थ भविष्य निर्माण गर्नमा टेवा पुर्याउँछ,’ पुरुष विद्यार्थी सञ्जिब शर्मा भन्छन् ।

यसैगरी वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर मधु गुप्ता यस्तो खालको पढाइले महिला र बालबालिका सहायता कार्यक्रमलाई बल पुर्याउने बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.