सिटिजन्स बैंकद्वारा धरानको विद्यालयलाई आर्थिक सहयोग

  २०७६ फागुन १२ गते १८:३३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धरान उपमहानगरपालिकाको वार्ड नं १५ ज्ञानचक्षु मार्ग स्थित श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई ८० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ । बैंकले सोमबार विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम विद्यालयलाई हस्तान्तरण गरेको हो ।

यस विद्यालयले दृष्टिविहिन, न्यूनदृष्टि लगायत बहुअपाङ्ग बालबालिकाहरुको लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । शारिरिक रुपमा अशक्त विद्यार्थीहरूलाई विशेष माध्यमद्वारा अध्ययन अध्यापन गराईने यस विद्यालयले सम्पूर्ण विद्यार्थीहरु आवासीय रूपमा रही अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।

यस विद्यालयको छात्रवासमा विद्यार्थीहरु भुईमा बसेर पढ्न जाडोको समयमा कष्टप्रद हुने भएकोले उक्त सहयोग रकमबाट छात्रवासमा न्यानो कार्पेट राख्नुका साथसाथै शारिरिक रुपमा अशक्त विद्यार्थीहरूको लागि पानी फिल्टर गर्ने यन्त्रको खरिद गर्ने कुरा विद्यालय प्रशासनले जनाएको छ ।

शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने तथा चिसोबाट जोगिन मद्दत हुनेछ ।

नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका अपाङ्ग बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.