मन्त्रीपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, अब को आउला नयाँ अर्थमन्त्री ?

  २०७६ फागुन ११ गते १९:४२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्ने तयारी गरिरहेका छन् । ओली निकट स्रोतले मन्त्रीपरिषद पुर्नगठनका लागि आवश्यक गृहकार्यसमेत ओलीले अगाडि बढाइसकेका जानकारी दियो ।

सत्तारुढ दल समाजवादी पार्टी पुस ८ गते सरकारबाट बाहिरिएपछि कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालय रिक्त थियो । कही दिन अघि मात्रै डा. शिवमाया तुम्बाहम्फेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व समालेकी छन् ।

यस्तै, ७४ करोड रुपैयाँ कमिसनको सेटिङ गरेको अडियो सार्वजनिक भएपछि सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले पनि पदबाट राजीनामा दिएका छन् । अब सूचना संचार तथा प्रविधि र शहरी विकास मन्त्रालय खाली छन् ।

प्रधानमन्त्री ओलीले तत्कालका सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको कामकाज हेर्ने जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई दिएका छन् भने शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई दिएका छन् ।

तर, २० फागुनमा अर्थमन्त्री डा. खतिवडाको राष्ट्रियसभा सदस्य पदको अवधी सकिदैछ । यस्तो अवस्थामा सरकारले डा. खतिवडालाई राष्ट्रियसभा सदस्यमा पुन मनोनित गरेमा उनको सांसद पद थमौती हुनेछ भने मन्त्री पद पनि जोखिन सक्छ ।

तर, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेकपा नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सहमती भएको संचार माध्यमहरुले उल्लेख गरेका छन् । राष्ट्रियसभामा गौतमलाई मनोनित गरिएमा अर्थमन्त्रालय पनि मन्त्री विहीन हुनेछ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा तालमेल गरेको राजपालाई पनि सरकारमा ल्याएर मन्त्रीपरिषद पुर्नगठन गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेका स्रोतले बताउँछ ।

प्रधानमन्त्री ओली मन्त्रिपरिषद पुर्नगठनमा आफूसँग असन्तुष्ट रहेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष बामदेव गौतमका माग सम्बोधन गर्ने प्रयास रहेका बताइएको छ । निकटस्थ स्रोतका अनुसार ओलीले राजपालाई दुई मन्त्रालय र उपसभामुख दिने तयारी गरेका छन् ।

राष्ट्रियसभा निर्वाचनबाट नेकपाको तर्फबाट विजयी भएका १६ नयाँ अनुहारलाई समेत ध्यानमा राखेर मन्त्रिपरिषद् पुर्नगठन गर्नुपर्ने वाध्यतमा प्रधानमन्त्री ओली रहेका बताइएको छ ।

स्रोतका अनुसार अर्थमन्त्रीमा राष्ट्रियसभामा निर्वाचनमा विजयी सांसद तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ल्याउने तयारी भइरहेको छ । राम्रो प्रफमेन्स नदेखाएका भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्याल, बन मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगरलगायतलाई पनि बिदा गरेर नयाँ अनुहार भित्र्याउने तयारी ओलीको छ ।

पूर्व माओवादीबाट गृहमन्त्री रहेका रामबहादुर थापालाई हटाएर नारायणकाजीलाई भित्रयाउने कि भन्नेमा पनि छलफल भइरहेको छ ।

नारायणकाजी भित्रिएमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बिदा पाउँने छन् ।

नयाँ मन्त्रीहरुमा प्रभु शाह, महेश बस्नेत, कृष्णप्रसाद दाहाल लगायतका नेताहरुको नाम चर्चामा छ । दाहाल अहिले अर्थसमितिको सभापति छन् । समिति सभापति भएका नेताहरुलाई मन्त्री बनाउने गरिएको विगत छ । यस्तै, मन्त्रिपरिषदमा महिला सहभागिता कम भएको आलोचना खेपिरहेका प्रधानमन्त्री ओली केही नेतृलाई मन्त्री बनाउने नामसहित छलफलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.