बीमा संस्थानको समस्या सुल्झाउनु मेरो जीवनकै उल्लेख्य अवसरः अध्यक्ष चापागाईं

  २०७६ फागुन ११ गते १९:१६     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईंले बीमा संस्थानको समस्या सुल्झाउनुलाई आफ्नो जीवनकै उल्लेख काममा गन्दा हुने बताएका छन् ।

लामो समयदेखि नियमित साधारणसभा हुन नसकेको, कम्पनीले बीमा समितिका सबै नीति निर्देशनको पालना गर्न असमर्थ भइरहेको तथा लामो समयदेखि लेखापरीक्षण नै नगरेको सन्दर्भमा अध्यक्ष चापागाईंले यस्तो बताएका हुन् ।

अध्यक्ष चापागाईंले संस्थानको ५३औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष चापागाईंले यस्तो बताएका हुन् ।

‘मैले आफ्नो ४ वर्षे कार्यकालको सुरुवातमा बीमा संस्थानमा केही समस्या छन् भन्ने सुनेको थिए, अब मेरो कार्यकाल सकिन जम्मा १० महिना बाँकी छ तर संस्थानका समस्या भने जस्ताको त्यस्तै छन्, केही गति लिएपनि संस्थानका पूराना सबै समस्या समाधान गर्न सकिएको छैन, सबै समस्या समाधान गर्न सकेँभने सके यो मेरो जीवनकै उल्लेख्य अवसर हुने म आफैलाई लागेको छ’, बीमा समितिका अध्यक्ष चापागार्इंले भने ।

घातक रोग बीमा प्रोडक्ट ल्याउन पाउने

संस्थानलाई नयाँ प्रोडक्ट ल्याउन रोकिरहेको समितिले घातक रोगको बीमा गराउने सम्बन्धी प्रोडक्ट ल्याउन भने दिने भएको छ । समितिले संस्थानलाई फागुन मसान्तभित्रै घातक रोगहरुको बीमा योजनालाई स्वीकृति दिने भएको छ ।

आगामी १० महिना भित्र बीमा संस्थानमा अड्किएका विषयलाई फुकुवा गर्ने लक्ष्य रहेको अध्यक्ष चापागाईंले जानकारी दिए । तर, यसका लागि संस्थानले नियामक निकायले तोकेका मापदण्ड र नीति नियमको पालना गर्नुपर्ने अध्यक्ष चापागाईंको भनाइ छ ।

संस्थानको लागि छुट्टै बीमांकी खटाइने

नेपालको आफ्नै बीमांकी नहुँदा बीमा क्षेत्रले बीमांकीय मूल्याङ्कन (एक्चुरी) को लागि भारतसँग निर्भर हुनुपरेको छ । समितिले संस्थानमा रोकिएका साभारणसभा गराउँन विदेशमा एक्चुरी बढेर नेपाल फर्किएकालाई एक्चुरी गराउन दिने भएको छ ।

‘हामीले भारतको बीमांकी मार्फत काम गर्दा केही ढिलाई हुँदै आएको छ, बाहिरी देशमा गएर एक्चुरी पढेर नेपाल फर्किएकाहरुलाई एक्चुरी गर्न लगाएर भएपनि संस्थानलाई साधारणसभा गर्न योग्य बनाउँने तयारी गर्दैछौं,’ अध्यक्ष चापागार्इंले भने ।

नेपालमा १९ वटा कम्पनीहरुले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । सरकारी लगानी पनि रहेको संस्थानले पनि जीवन बीमा व्यवसाय गर्दै आएको छ ।

जोखिममा आधारित पुँजी लागू गरिने

नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको लागि अहिलेको नियामकले तोकेअनुसारको चुक्ता पुँजीको व्यवस्था परिवर्तन गर्न लागेको छ । यो व्यवस्था परिवर्तन गरी जोखिममा आधारित पुँजीको व्यवस्था गर्न लागिएको समितिका अध्यक्ष चापागाईंको भनाइ छ । जोखिममा आधार पुँजीको व्यवस्था लागू गर्ने अन्तिम तयारी भएको समितिले जानकारी दिएको छ ।

सबै स्थानीय तहमा बीमा

बीमा समितिले सबै स्थानीय तहमा बीमा कम्पनी पुग्नै पर्ने प्रबन्ध गर्न लागेको छ । बीमा सचेतना कम भएकोले बीमामा समेटिएको क्षेत्र सानो भएको भन्दै समितिले सबै स्थानीय तहमा बीमा कम्पनीलाई पुर्याउन लागेको हो ।

सबै स्थानीय तहमा बीमा कम्पनी पुर्याउन सहज बनाउन भन्दै समितिले घुम्ती लघुबीमा कार्यक्रम संचालन गरिरहेको छ । यस्तो कार्यक्रमबाट बीमाको दायरा र सचेतना बृद्धि हुने समितिको विश्वास छ ।

नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउन पहल गरिरहेको छ । अब केही स्थानीय तहमा मात्रै बैंक पुग्न बाँकी छ । बैंकिङ क्षेत्रको नियामक निकायले सबै स्थानीय तहमा बैंक पुर्याउन पहल गरिरहेको समयमा बीमा क्षेत्रको नियामक निकायले पनि सबै स्थानीय तहमा बीमा पुर्याउन खोजेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.