राष्ट्रिय ललितकला प्रदर्शनी वैशाख २ गतेदेखि सुरु, यस्ता छन् हालसम्मका कार्ययोजना

  २०७६ फागुन ११ गते १६:०७     विकासन्युज

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षको राष्ट्रिय ललितकला प्रदर्शनी पनि २०७७ वैशाख २ गतेदेखि सुरु गर्ने प्रस्ताव प्राज्ञपरिषद्बाट दशौं प्राज्ञसभामा पेश भइ अनुमोदन भइसकेको छ ।

तीन हप्तासम्म चल्ने प्रदर्शनीको तयारीका लागि २०७६ चैत्र २४ गतेदेखि नेपाल कला परिषद्, बबरमहलमा हल बुक गरिसकिएको छ । माघ २२ गतेको प्राज्ञपरिषद् बैठकबाट कुलपति के.के. कर्माचार्य, अध्यक्ष उपकुलपति गोपाल चित्रकार सह–अध्यक्ष तथा सदस्य सचिव विपिन कुमार घिमिरे सचिव रहने गरी ६५ सदस्यीय मूल आयोजक समिति गठन तथा समितिको काम कर्तव्य र अधिकार निर्धारण गरिएको छ ।

विभिन्न समाचार माध्यममा राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रदर्शन गर्न विभिन्न कलाकारहरुका कलाकृति एक महिनाभित्र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुझाउन आह्वान गर्नका साथै सहभागिता जनाउने कलाका विधाहरु, प्रदर्शनीसम्बन्धी नियमहरु, कलाकृतिको मापदण्ड र कलाकृति तथा कलालेखन र कलापत्रकारितालाई दिइने पुरस्कारहरुको विवरणसमेत उल्लेख गरी सूचना प्रकाशित गरिएको छ ।

जस अनुरुप २०७६ फागुन १३ गतेभित्र कलाकृतिहरु यस प्रतिष्ठानमा बुझाइ सक्नुपर्ने हुन्छ । तर अपेक्षा गरे अनुरुप कलाकृतिहरु प्राप्त नभएको हुँदा बुझाउने म्याद ७ दिन अर्थात् २०७६ चैत २० गतेसम्मका लागि थप गरिएको व्यहोरा जानकारी गराइएको छ ।

राष्ट्रिय ललितकला प्रदर्शनीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पहिलो पटक राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि २०७७ निमार्ण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

२०७६ फागुन ०२ गते बसेको मूल आयोजक समितिको बैठकबाट उपकुलपति गोपाल चित्रकारको संयोजकत्वमा सदस्य सचिव विपिन कुमार घिमिरे सचिव तथा विभिन्न सात वटा उपसमितिका संयोजकज्यूहरु सदस्य रहने गरी कार्यसमितिको गठन गरी सो कार्यसमितिको काम, कर्तव्य र अधिकारसमेत तोकिएको छ ।

त्यसरी नै प्रस्तावित सात वटा उपसमितिका संयोजकज्यूहरु (सबै प्राज्ञपरिषद् सदस्य रहने) को नाम तथा उप–समितिको काम, कर्तव्य र अधिकार समेत बैठकबाट अनुमोदन गरिएको छ ।

२०७६ फागुन ६ गते बसेको कार्यसमितिको बैठकबाट विभिन्न उपसमितिका सदस्यमा उपसमितिका संयोजकबाट प्रस्तावित नामावली अनुमोदन गरिएको छ । यसअघिदेखि नैै विभिन्न उपसमिति संयोजकको आ–आफ्नो उप–समितिको काम कारवाही सम्बन्धमा गृहकार्य सुरु गरिसकिएको छ र विभिन्न उपसमितिका बैठक बसी कार्य योजनाहरु बन्दै गरेको अवस्था छ ।

यसमध्ये प्रचार प्रसार उपसमितिको २०७६ फागुन ७ मा बसेको बैठकको निर्णय अनुसार नै यो पत्रकार सम्मेलन भइरहेको छ भने विविध कला गतिविधि व्यवस्थापन उपसमितिको बैठक २०७६ फागुन ८ मा बसी कार्ययोजना तयार गरेको छ ।

त्यसरी नै कलाकृति संकलन उप–समितिका संयोजकबाट निकै अगाडिदेखि नै कलाकृति संकलनको कार्ययोजना बनाई आवश्यक पहल गरिरहेका छन् । अन्य उप–समितिबाट पनि आ–आफ्नो जिम्माको कार्यको कार्ययोजना बनाई कार्य अघि बढिरहेको छ ।

पुरस्कारको सम्बन्धमा माथि उल्लेख भएबमोजिम माघ १४ गते प्रकाशित सूचनामा विस्तृत विवरण दिइएको भएता पनि यहाँ जानकारीका लागि प्रस्तुत गरिएको छ ।

क. ललितकला

विधा
१. क) परम्परागत चित्रकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष)  २५ हजार रूपैयाँका दरले दुई जनालाई
ख) आधुनिक चित्रकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष) २५ हजार रूपैयाँ तीन जनालाई
२. क) परम्परागत मूर्तिकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष) रु. २५ हजार रूपैयाँ दुई जनालाई
ख) आधुनिक मूर्तिकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष)  २५ हजार रूपैयाँ दुई जनालाई
३. हस्तकला/शिल्पकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष)२५ हजार रूपैयाँ दुई जनालाई
४. लोककला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष) २५ हजार रूपैयाँ दुई जनालाई
५. वास्तुकला तथा सृजनात्मक कला (राष्ट्रिय)६० हजार रूपैयाँ दुई जनालाई (विशेष)२५ हजार रूपैयाँ चार जनालाई

ख. कला लेखन
१. राष्ट्रिय ललितकला लेखन पुरस्कारः रु. २५ हजार रूपैयाँ एक जनालाई ।
२. राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कारःरु. २५ हजार रूपैयाँ एक जनालाई ।

ग. प्रादेशिक पुरस्कारःदफा ४ (क) मा उल्लेख भएको कलाका ५ विधामध्ये उत्कृष्ट कलालाई प्रत्येक प्रदेशबाट १/१ जना गरी ७ प्रदेशबाट २५ हजार रूपैयाँका दरले ७ जनालाई दिइनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.