कोरिया जान नाम निकालेका नेपालीलाई रोक्यो कोरोना भाइरसले, अब के होला ?

  २०७६ फागुन ११ गते १२:३१     राजाराम न्यौपाने

काठमाडौं । राेजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा भएका नेपाली कामदार राेकिएका छन् । चीनबाट शुरू भएको र अहिले धेरै देशमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरियाले नेपाली कामदार लिन समय सारेकाे हाे ।

इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले ७ दिन अगाडी नै हुनुपर्ने फ्लाइट राेकिएकाे र अब कहिले हुन्छ भन्ने जानकारी नआएको बताए । सन् २०१७ र २०१८ इपिएसमा नाम निकालेका ४५ जना नेपाली सबै प्रक्रिया पुरा गरेर बसेका छन् ।

‘कोरियाले फ्लाइट दियो भने आगमी १८ र १९ गते सबै प्रक्रिया पुरा गरेर बसेका ४५ जना नेपाली कामदार जाने छन, अरु बाँकी इपिएसमा नाम निकालेका कामदारहरुको भने नेपाल सरकार र कोरिया सरकारले छलफल गरेर निर्णय गर्ने छ,’ खनालले भने ।

दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल पनि गरेको छ । विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ ।

कोरियामा संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेका छन् । दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि नेपालीलाई सुझाएको छ । अवैध रूपमा रहेका कामदारलाई पनि कोरिया सरकारले केही नगर्ने सहमति गरेकाले उपचारका लागि अस्पताल जान दूतावासले आग्रह गरेको छ ।

इपिएस कार्यालयको तथ्याङ्क अनुसार प्रत्येक वर्ष झण्डै ५० हजार नेपाली युवाले आवेदन भर्ने गरेका छन् । तर कोरिया जान पाउनेको संख्या कम रहेको छ ।

सन् २००७ मा नेपाल सरकार र कोरिया सरकारबीच भएको द्वीपक्षीय सम्झौताका आधारमा सन् २००८ देखि इपिएस प्रणालीमार्फत नेपाली युवा कामका लागि कोरिया जान थालेका हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.