प्राथमिक सेयर नबिकेको शिवममा किन आकर्षण ? (समग्र विश्लेषण)

  २०७६ फागुन ११ गते १०:५९     विकासन्युज

काठमाडौं । स्थानीय जनतामा प्रतिकित्ता २ सय रुपैयाँमा ५ लाख कित्ता सेयर जारी गर्दा मात्रै ८५ प्रतिशत बराबर बिकेको शिवम् सिमेन्टको सेयर सर्वसाधारणलाई जारी गर्ने क्रममा भने मागभन्दा बढिको आवेदन प¥यो ।

सेयर बजारमा कुनै समय ३ सयको तहमा आउने र कुनै समय ६ सयसम्म पुग्ने गरिरहेको कम्पनीको वित्तीय आकार ठूलो (अर्बौं) भएकै कारण लगानीकर्ताहरुलाई तानिरहेको छ । पछिल्लो समय वर्षकै उच्च विन्दुमा आइपुगेको कम्पनीको सेयर नयाँ लक्ष्य बनाउने क्रममा छ ।

आगामी दिनमा कम्पनीको सेयर मूल्य कसरी अगाडी जाला, कम्पनीको वित्तीय अवस्था के छ भन्नेलगायतका विषय यस विश्लेषणात्मक आलेखमा समेट्ने प्रयास गरेका छौं ।

परिचय

९ जेठ २०६० मा निजी कम्पनीको रुपमा स्थापना भएको शिवम् २०७२ बाट पब्लिक कम्पनीको रुपमा रुपान्तरण भयो । कम्पनीले हाल ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीको दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिङ्कर उत्पादन गर्ने अनुमति पाएको छ । गत वर्ष कम्पनीले दैनिक (३६५ दिनकै आधारमा) १ हजार ५ सय ६३ टन क्लिङ्कर र २ हजार १ सय १६ टन सिमेन्ट उत्पादन गरेको छ ।

कम्पनीले हाल ४ वटा चुन ढुंगा खानी क्षेत्रको अनुमति लिएर उत्खनन गरिरहेको छ । केही खानी राष्ट्रिय वन क्षेत्रमा परेपनि सरकारबाट भोगाधिकार पाइसकेको छ ।

उपाधी

कम्पनीले गुणस्तर तथा नापतौल बिभागबाट आइएसओ प्रमाणपत्र पाएको छ । यस्तो प्रमाणपत्र पाउने यस कम्पनी नै सिमेन्ट क्षेत्रको पहिलो भएको कम्पनीको दाबी छ ।

सरकारले सिमेन्टलाई निर्यातजन्य उद्योगको रुपमा लिएसँगै कम्पनीले भारतीय केन्द्रीय गुणस्तर बिभागबाट स्ट्याण्डर्ड सर्टिफिकेशन मार्क प्राप्त गरिसकेको छ । त्यस्तै, युआरएस नेपाल, ओएचएसएएसबाट समेत गुणस्तरको लागि प्रमाणपत्र पाएको छ ।

सेयर स्वामित्व

कम्पनीमा लक्की, गोयल, सारडा समूहका लगानीकर्ताहरुको पकड छ । ५ प्रतिशत माथि सेयर स्वामित्व हुनेको विवरण अनुसार गोयल समूहको २० प्रतिशत, गुप्ता (लक्की समूह) समूहको १० प्रतिशत र भिमसरा समूहको करीब १३ प्रतिशत सेयर स्वामित्व छ ।

सञ्चालकहरुमा गोयर समूहका सुरेन्द्र कुमार गोयल अध्यक्ष छन् । सारडा समूहबाट सन्दिप कुमार सारडा र लक्की समूहबाट भने अमित मोर, रोहित गुप्ता र अल्का गोयललगायत छन् । अल्का गोयल सर्वसाधारण सेयरधनीको तर्फबाट समेत प्रतिनिधित्व गर्छिन् ।

अन्य लगानी

कम्पनीले शिवम् होल्डिङ्स प्रालिको ८८ प्रतिशत सेयर स्वामित्व लिएको छ । शिवम् प्रालिले भने होङसी सिमेन्टमा ३ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेको छ ।

विभिन्न क्षेत्रमा लगानीको लागी कम्पनीले शतप्रतिशत लगानीमा सहायक कम्पनी एससीएल इन्भेष्टमेन्ट प्रालि खोलेको छ । जसमा यस कम्पनीमा हाल २० करोड लगानी गरेको छ । एससीएलको जारी पूँजी ८१ करोड रहेको छ । एससीएलको भने शिवम् रेडिमिक्स कंक्रिट, अरुणभ्याली माइन्स एण्ड मिनिरल्स, दन्तकाली सिमेन्टमा शतप्रतिशत सेयर छ ।

त्यस्तै, एससीएललको ८० प्रतिशत लगानी रहनेगरी अर्को लगानी कम्पनी एचएस इन्भेष्टमेन्ट संस्थापना गर्ने तयारी भइरहेको छ ।

संस्थापक जोडिएकासँगको कारोबार

कम्पनीले दोस्रो त्रैमाशसम्ममा लगानीकर्ता सुशील गुप्ताको कम्पनी मोडर्न इन्फ्रास्टक्चरबाट ११ करोड ५५ लाख, सुरेन्द्र कुमार गोयलको कम्पनी अरविन्द इम्पोरियमबाट १७ करोड ८७ लाख, होङसी सिमेन्टबाट ५४ करोडको खरीद गरेको छ । कम्पनीले होङसीलाई भने १० करोडको बिक्री गरेको छ ।

लाभांश

सर्वसाधारणमा सेयर जारी गरेको करीब २ वर्ष पुग्न लागेको कम्पनीले लगानीकर्तालाई यसबीच दुई पटकसम्म लाभांश दिएको छ । कम्पनीले दुवै वर्ष १५ दशमलव ७८ प्रतिशत नगद लाभांश दिएको छ ।

बोनस सेयरको तुलनामा नगद लाभांशलाई कम रुचाउने नेपाली लगानीकर्ताहरुको प्रवृत्ति छ । अंकित मूल्य (१ सय रुपैयाँ) लगानी गरेकोले यो अवधिमा प्रतिकित्ता ३२ रुपैयाँ पाएका छन् । ६ सय रुपैयाँसम्म बजार मूल्य तिरेका लगानीकर्तालाई यो दर भनेको ३ प्रतिशत हाराहारी मात्रै हुन आउँछ ।

वित्तीय अवस्था

चालु आवको दोस्रो त्रैमाशमा कम्पनीको उत्पादन बिक्री आम्दानी १० प्रतिशतले घटेपछि नाफा रकममा पनि २९ प्रतिशतले कमी आएको छ । देशमा निर्माण क्षेत्रमा आएको मन्दी र सिमेन्ट उद्योगको संख्याका साथै उत्पादनमा भइरहेको वृद्धिले यो क्षेत्रमा प्रभाव परेको छ ।

कम्पनीले उत्पादनको लागि नयाँ सामान झार्नेभन्दा स्टोर गरिने कच्चा पदार्थहरुको प्रयोग बढाएको देखिन्छ । कम्पनीको इन्भेन्ट्रिज (कच्चा पद्धार्थ) करीब २२ प्रतिशतले घटेको छ ।

कम्पनीले व्याज लाग्ने सापटी रकम घटाइरहेको छ । चालु दायित्व तर्फको यस्तो रकममा १ अर्ब ६० करोड रुपैयाँबाट घटाएर ६० करोड रुपैयाँमा सीमित पारेको छ । त्यस्तै, गैर चालु दायित्व अन्तरगतको यस्तो रकम २ अर्ब १६ करोड रुपैयाँबाट घटाएर १ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ ।

कम्पनीले व्यापारको क्रममा भुक्तानी गर्नुपर्ने रकम ३४ प्रतिशतले बढेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले लिनुपर्ने रकम भने ३५ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यसमा सुधार गर्नुपर्ने देखिन्छ । यसले कम्पनीले बजारबाट पैसा उठाउन नसकेको देखाउँछ ।

ह्रास कट्टी खर्चमा घटेको छ । यसमा २९ करोड ५९ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीका सामानहरुको पुनर खरीदलाई यो रकम प्रयोग हुने छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा, मूल्य आम्दानी अनुपात २३ दशमलव ३६ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ८९ रुपैयाँ रहेको छ ।

सन्तुलित क्षेत्रमा सेयर कारोबार

कम्पनीको सेयरको माग उच्च भएको आरएआई सूचकले देखाइरहेको छ । कम्पनीको मूल्य १४ दिने आरएसआई स्केलको ८२.१९ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ ।

सिम्पल मुभिङ एभरेज रेखामा दुई महिनाअघि क्रसओभर भएको छ । २१ दिने रेखाले ७ दिनेलाई काटेर माथि रहेको छ । ३ सय ५५ रुपैयाँसम्म पुगेर बढ्न थालेको मूल्य बुलिश प्रवृत्तिमा छ ।

पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे एक महिनामा ७ सय २१ मा पहिलो लक्ष्य लिएर अगाडी बढेको छ । घट्ने क्रममा रहे ५ सय ६० मा पहिलो टेवा पाउने देखाउँछ ।

बढ्दो क्रममा रहेको कम्पनीको सेयर मूल्य एक वर्षकै उच्च विन्दुमा आएकोले लगानीकर्ताहरु केही अन्योल देखिएका छन् । सोही अनुरुप अन्तिम दिन ६ सय ९३ सम्म पुगेको भएपनि बजार बन्द हुँदा ६ सय ६७ सम्म ओर्लियो ।

अन्तिम दिन सुटिङ स्टार बनेकोले मूल्य घट्न सक्ने संकेत गरिरहेको छ । यो संकेत दरिलो भने होइन । हालसम्मकै उच्च विन्दुमा रहेकोले सचेत हुनुपर्ने भने देखिन्छ ।

५ सय ८९ विन्दुबाट घटेर ३ सय ५५ सम्म पुगेर हालसम्मको विन्दुमा आउँदा कम्पनीको मूल्यले कप विथ ह्याण्डल प्रवृत्ति बनाएर ब्रेक इभनबाट माथि लागेको समेत संकेत गरिरहेको छ । कपको डेप्थको आधारमा मूल्य थप बढ्न सक्ने र ८ सयको तह पुग्न सक्ने संकेत गरिरहेको छ । प्राविधिक पक्षबाट मात्र हेरेर निर्णय लिनु भने सही हुँदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.