वर्षको २ सय ५० रुपैयाँ तिरे ५ लाखसम्मको घर बीमा हुने

  २०७६ फागुन ९ गते १२:३५     नबिन पोखरेल

काठमाडौं । वार्षिक २ सय ५० रुपैयाँ तिर्दा अब ५ लाख रुपैयाँको घर बीमा हुने भएको छ । बीमा समितिले ५ लाख रुपैयाँसम्मको घर लघु बीमा शुल्क प्रतिहजार रुपैयाँमा ५० पैसा तोकेको छ ।

यसरी २ सय ५० रुपैयाँ शुल्क तिरेर बीमा गरेपछि तोकिएका जोखिमबाट घरमा क्षति पुग्दा बीमा कम्पनीले क्षतिपूर्ति रकम दिन्छन् । घर लघु बीमामा आगलागी, भूकम्प, बाढी पहिरो, हावाहुरी, चट्यांक जस्ता प्राकृतिक तथा अन्य कारणबाट क्षति पुगेमा बीमा कम्पनीले क्षतिपूर्ति दिन्छन् ।

२०७२ को शक्तिशाली भूकम्पको कारण देशभरका करिब ८ लाख घर भत्किएका थिए । सो समयमा भत्किएकामध्ये अधिकांश घरको बीमा थिएन । बीमा नभएको कारण सरकारले पीडितलाई घर बनाउन अनुदान रकम दिएको थियो । सरकारले प्रतिघर ३ लाख रुपैयाँ अनुदान दिएको छ भने प्रतिघर २ लाख रुपैयाँसम्म सहुलियतपूर्ण व्याजमा विनाधितो ऋण दिने भनेको छ ।

सरकारले अनुदान र सहुलियतपूर्ण व्याजमा विनाधितो दिने भनेको ऋणसमेत जोड्दा एउटा घर बनाउन औसतमा ५ लाख रुपैयाँ लाग्ने देखिन्छ । सरकारले एउटा घर बनाउन ५ लाख रुपैयाँ लाग्ने औसत हिसाव देखाएकै कारण बीमा समितिले घर लघु बीमाको बिमांक रकम ५ लाख रुपैयाँ बनाएको हो ।

बीमा समितिले जारी गरेको लघु बीमा निर्देशिकामा वार्षिक २ सय ५० रुपैयाँ बीमा शुल्क तिरेर ५ लाख रुपैयाँसम्मको घरको बीमा गर्न पाइने व्यवस्था छ । लघु बीमालाई प्रवद्र्धन गरेर बीमाको दायरा बृद्धि गन तथा विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउन निर्देशिका जारी गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

निर्देशिकामा जीवन बीमातर्फ सावधिक, म्यादी र अन्य लघुबीमा तोकेको छ । यी ३ वटै किसिमका जीवन बीमाको अधिकतम बीमांक रकम ३ लाख रुपैयाँ छ ।

यस्तै, निर्जीवन बीमातर्फ सम्पति, घर, दुर्घटना, स्वास्थ, घातक रोग, बाली तथा पशुपन्छी र अन्य लघुबीमा छन् ।

सम्पति लघु बीमा र घर लघु बीमाको बीमांक रकम ५ लाख रुपैयाँसम्म छ । दुर्घटना लघु बीमाको बीमांक रकम ३ लाख रुपैयाँसम्म छ । घातक रोग लघु बीमाको बीमांक १ लाख रुपैयाँसम्म, बाली तथा पशुपंक्षी लघु बीमाको बीमांक रकम २ लाख रुपैयाँसम्म छ । यस्तै, स्वास्थ लघु बीमाको बींमाक रकम ५० हजार रुपैयाँसम्म छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.