एमसीसी अनुमोदन गराउन अमेरिकी सांसदको नेपालमा दौडधुप, अर्थमन्त्रीले भने–’पास हुन्छ’

  २०७६ फागुन ८ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपालको संसदबाट मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुमोदन गराउने लविङ गर्दै अमेरिकी सांसदहरुको एक टोलीले नेपालका उच्च अधिकारीहरुसँगको भेटघाट तिब्र पारेका छन् । संयुक्त राज्य अमेरिकाको कंग्रेसका सदस्यद्वय जर्ज होल्डिगं र अमी बेराले नेपालका उच्च सरकारी अधिकारीहरुसँग छलफल गरिरहेका छन् ।

यसै क्रममा उनीहरुले विहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँग अर्थ मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटमा अर्थमन्त्रीले एमसिसि अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्नु हुँदै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास दिलाएका छन् ।

अमेरिकी कंग्रेसका सदस्यद्वयले माननीय अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राखेका छन् ।

भेटका अवसरमा अर्थमन्त्रीले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिएका छन् ।

अर्थमन्त्रीले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराए । अर्थमन्त्रीले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भैरहेको उल्लेख गर्नु हुदै यसमा थप सहयोग आवश्यक भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.