नाडाले भन्सार र करका सम्बन्धमा प्रशिक्षण कार्यक्रम गर्दै, मन्त्रालयबाटै विज्ञ पठाउने

  २०७६ फागुन ८ गते १७:२९     विकासन्युज

काठमाडौं । नाडाले भन्सार, भीसीटीएस र करका सम्बन्धमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानाले सो कुरा बताउँदै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने आश्वासन दिएका हुन् ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदसीय नाडा प्रतिनिधि मण्डलले आयोजना गरेको उक्त भेटमा अर्थ मन्त्रालयका सचिव ढुङ्गानाले सो कुरा बताएका हुन् । नाडा प्रतिनिधि मण्डलले भेटी फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे विस्तृत छलफल गरेको छ ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले हालै राजश्व सचिवबाट अर्थ सचिवमा पदोन्नती हुनु भएका शिशिर ढुङ्गानालाई बधाई तथा शुभकामना दिए । उक्त भेटघाटमा नाडाका उपाध्यक्ष करण चौधरी र आकाश गोल्छाले अटोमोवाइल व्यवसायमा हाल देखा परेका सम सामयिक समस्याहरु बारे आ-आफनो धारणा राखेका छन् । सो अवसरमा महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउने बारे पनि आफनो धारणा राखे ।

सो भेटघाटमा अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।