बीमा समितिको प्रष्टिकरणः दम्पती बीमा बन्द गरिएको होइन

  २०७६ फागुन ८ गते १३:१९     विकासन्युज

काठमाडौं । फागनु ७ गते बीमा समितिले एक परिपत्र जारी गर्यो । जहाँ लेखिएको छ- ‘बीमा समितिबाट पूर्व स्वीकृति लिएको तथा स्वीकृतिका लागि पेश हुने जीवन बीमा लेखहरुमा पति/पत्नी (स्पउज कभर) को सुरक्षण लाभ समावेश नगर्नु हुन यो परिपत्र जारी गरिएको छ ।’

परिपत्रका आधारमा समाचारहरु छापिए । श्रीमान् वा श्रीमती एकको बीमा गर्दा अर्कोले पनि लाभ लिन सक्ने गरी बीमा कम्पनीहरुले जारी गर्दै आएका बीमालेखहरु बिक्री गर्न अब बन्द भयो ।

जीवन बीमा कम्पनीहरुले फागुन ८ गते दम्पत्ति बीमालेख बिक्री गर्न नमिल्ने गरी सिस्टम पनि बन्द गरे । राष्ट्रिय बीमा संस्थान, नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, एलआईसी, एशियन लाइफ इन्स्योरेन्स लगायत नेपालका पुराना र अगुवा बीमा कम्पनीहरु समेत आश्चर्यमा परे कि बीमा समितिले किन दम्पती बीमा (ज्वाइट लाइफ कभर) लेख बन्द गर्यो ?

ज्वाइट लाइफ कभर अर्थात दम्पती बीमालेख बिक्री बन्द किन गरियो ? विकासन्युजको प्रश्नमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने- ‘ज्वाइट लाइफ कभर’ रोकिएको होइन । ‘स्पउज कभर’ मात्र रोकिएको हो ।

परिपत्रमा प्रयोग भएको भाषा अलि प्रष्ट पार्नु पर्ने देखिएको उनले बताए । ‘स्पउज कभर भने पछि बीमा क्षेत्रका अनुभवी व्यक्तिहरुले बुझ्नु पर्ने हो । तर बजारमा दुविधा सिर्जना भएको हामीले पनि महसुश गरेका छौं’ उनले भने- ‘हामी यसलाई प्रष्ट पार्छौ ।

‘ज्वाइट लाइफ कभर’ र ‘स्पउज कभर’ फरक

‘ज्वाइट लाइफ कभर’ र ‘स्पउज कभर’ मा फरक रहेको छ । स्पउज कभरमा एक जना मात्र बीमित हुन्छ । दोस्रो व्यक्ति बीमित हुँदैन । बीमितको पोलिसीमा बीमा कम्पनीले अतिरिक्त सुविधा दिन्छन् । त्यस्तो सुविधाले निम्त्याउने जोखिमको विश्लेषण गरिएको हुँदैन । त्यसले बीमा कम्पनीको लागि अतिरिक्त आर्थिक सिर्जना गर्छ । यस्तो पोलिसी मेटलाइफ इन्स्योरेन्स कम्पनीले बढी मात्रमा बिक्री गरेको पाइएको छ । पछिल्लो समय लघु बीमालेखमा स्पउज कभर हुने गरेको जानकारहरु बताउँछन् ।

तर ‘ज्वाइट लाइफ कभर’ मा भने बीमा लेखमा उल्लेखित दुबै जना बीमित हुन्छन् । दुबैको जोखिम भार गणना गरी प्रिमियम निर्धारण गरिएको हुन्छ । यस्तो बीमा पोलिसी बजारमा लैजानुपूर्व त्यसको बीमाङ्कीय मूल्याङकन पनि गरिएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.