उद्योग राज्यमन्त्री दुगडमाथि ट्रेडमार्क चोरेको आरोप, मुद्दाको छिनोफानो गर्ने जिम्मा उद्योग विभागलाई

  २०७६ फागुन ८ गते १०:४०     राजाराम न्यौपाने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड बहुराष्ट्रिय कम्पनीसँगको ट्रेडमार्क विवादमा छन् । बहुराष्ट्रिय कम्पनी पेप्सीको ईन्कले उत्पादन गरिरहेको कुरकुरे ब्राण्डलाई दुगडले नेपालमा ट्रेडमार्क दर्ता गरेपछि कानुनी विवाद सुरु भएको हो ।

करिब १ दशकअघि बहुराष्ट्रिय खाद्यान्न उत्पादक कम्पनी पेप्सीको ईंकले आफ्नो उत्पादनको ट्रेडमार्क चोरी भएको भन्दै नेपालको उद्योग विभागमा निवेदन दिएको थियो । २०६६ फागुन ६ मा अमेरिकी कम्पनी पेप्सीको ईंकले विभागमा निवेदन दर्ता गराएको थियो । विभागले पेप्सीको निवेदनमाथि छानबिन नगरेपछि कम्पनी कानुनी उपचारको लागि उच्च अदालत पाटन गएको थियो । उच्च अदालतले सो विवाद सल्टाउने जिम्मा पुनः उद्योग विभागलाई नै दिएको छ ।

विभागले मुद्दाको प्रक्रिया अघि बढाएको छ । उच्च अदालत हुँदै अहिले यो विवाद पुनः उद्योग विभागकै क्षेत्राधिकारमा पुगेको छ । उद्योग विभाग पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतकै निकाय हो । दुगड सोही मन्त्रालयको राज्यमन्त्री हुन् ।

ट्रेडमार्क चोरी गरेको आरोपमा मुद्दा खेपिरहेको स्पाइसेज एन्ड फुड प्रडक्ट प्रालिका मालिक मोतीलाल दुगड आफै उद्योग राज्यमन्त्री छन् । उनै दुगडको कम्पनीविरुद्धको मुद्दा छिनोफानो गर्ने जिम्मेवारी उद्योग विभागलाई आएको छ ।

कुरकुरे ब्रान्डलाई दाबी गर्दै अर्काे कम्पनी मेरिगोल्डले पनि दुगडबिरुद्ध अर्काे मुद्दा सर्वाेच्च अदालतमा दायर गरेको थियो । मेरिगोल्डले कुरकुरे ब्रान्ड आफ्नो हो भन्दै अदालतमा रिट दायर गरेको थियो । यो विषयमा सर्वाेच्च अदालतले उद्योग विभाग, उच्च अदालत हुँदै जानु पर्ने मुद्दा सोझै अदालतमा रिट दायर गरेको भन्दै मेरिगोल्डले दायर गरेको रिट खारेज गरेको थियो । यो मुद्दामा ट्रेडमार्क कसको हो भन्ने निक्र्याेल हालसम्म सरकारले गरेको छैन ।

२०६६ देखि नेपालमा कुरकुरे उत्पादन गर्ने दुगड स्पाइसेस एन्ड फुड्स र अमेरिकी कम्पनी पेप्सीकोबीच मुद्दा चलिरहेको छ । दुगड गु्रपले २०६३ सालमा कुरकुरे नामको ट्रेडमार्क दर्ता गरेको थियो ।

भारतमा २०५५ सालदेखि उत्पादन सुरु भएको कुरकुरे उत्पादनको केही वर्षमै नेपाल भित्रिएको थियो । निकै लामो समयदेखि नेपालमा बिक्री गर्दै आएको पेप्सीकोले भने २०६४ सालमा मात्रै ट्रेडमार्कका लागि विभागमा निवेदन दिएको थियो ।

त्यसपछि कुरकुरे नेपालीको हुने कि पेप्सीकोको भन्ने मुद्दा चलिरहेको छ । केही समय अघि उच्च अदालतले विभागलाई नै फैसला गर्नुपर्ने रायसहित मुद्दा फिर्ता पठाएको थियो । नेपालमा दुगड स्पाइस एन्ड फुड्स प्रोडक्ट्सले आफूले उत्पादन गरिरहेको कुरकुरेसँग हुबहू मिल्ने भारतलगायत तेस्रो मुलुकबाट हुने आयतलाई रोक लगाउन अदालतमा रिट दर्ता गरेको थियो ।

मुद्दा चलिरहेकै अवस्थामा २०७४ मंसिर ६ गते पाटन उच्च अदालतले कुरकुरे ब्रान्ड नेपाली उत्पादक दुगड गु्रपको भएको भन्दै विदेशी कुरकुरे आयातमा रोक लगाउन अन्तरिम आदेश दिएको थियो । तर लामो बहसको केही समयपछि अदालतले विदेशबाट आयात हुने कुरकुरेमा आयत रोक लगाउने अन्तरिम आदेशलाई निरन्तरता दिएन । उद्योग विभागका कानूनका उपसचिव टंकबहादुर महतले पेप्सीकोसँग लिखित जवाफ प्राप्तिका लागि प्रयास गरिरहेकोे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.