माथिल्लो दोर्दीमा चैत्रभित्र विजुली बल्ने, ३७ करोड ५० लाखको सेयर छिट्टै

  २०७६ फागुन ६ गते २२:५२     विकासन्युज

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरेहको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना को ९६ प्रतिशत काम सकिएको छ । २५ मेगावाट क्षमताको यो आयोजनाको बाँकी काम आगामी चैत मसान्तसम्म सक्ने लक्ष्य रहेको सञ्चालक राम पाण्डेले बताए ।

जलविद्युत योजनाको पावर हाउस बनाउने, पाइप राख्ने, सुरुङ बनाउने, बाँध बनाउने लगायत भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणका लागि आवश्यक सबै मेसिनरी सामान परियोजनास्थलमा लगेर धमाधम फिटिङको काम भईरहेको छ ।

परियोजनाको पावर हाउससँग नेपाल विद्युत प्राधिकरणले सवस्टेशन बनाईरहेकोले विद्युत उत्पादन लगत्तै १३२ केभी प्रसारणलाईनमा जोडिने छ । ‘चैत ३० सम्म हामी विजुली उत्पादन थाल्छौं । त्यतिबेलासम्म विद्युत प्राधिकरणले पनि विद्युत् प्रसारण लाइन निर्माण कार्य सक्ने देखिन्छ’ पाण्डेले भने ।

आयोजना निर्माणको कुल लागत ४ अर्ब ६३ करोड ६१ लाख रुपैयाँ पुग्ने भएको छ । शुरुमा यस आयोजनाको लागत ४ अर्ब रुपैयाँ भन्दा कम हुने अनुमान गरिएको थियो ।

आयोजनाको लागत प्रति मेगावाट १८ करोड ५४ लाख रुपैयाँ पुग्ने भएको छ । ‘शुरुमा लागत प्रति मेगावट करिव १६ करोड हुने अनुमान गरिएको थियो । भूकम्प र नाकाबन्दीको असर परियोजनालाई पर्यो । श्रमिकको ज्याला, निर्माण सामाग्रीको उच्च मूल्यवृद्धिले लागत बढायो । गत साउनमा आएको बाढीले पनि परियोनामा क्षति पुगेकोले खर्च बढ्यो’ पाण्डेले परियोजनास्थलमा पत्रकारहरुलाई जानकारी दिए ।

परियोजनाले वार्षिक १३ करोड ६७ लाख ८४ हजार किलोवाट विद्युत उत्पादन गर्छ । वर्षात यामको ८ महिनामा प्रति किलोवाट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसाको दरले विद्यतु खरिद बिक्री सम्झौता पीपीए भएको छ । व्यवसायिक उत्पादन शुरु भएको मितिले पहिलो ५ वर्षसम्म प्रत्येक वर्ष ३ प्रतिशतका दरले महसुल वृद्धि हुने छ । उत्पादन शुरु भएको ६१ औं महिनामा प्रति किलो वाट सुख्खायाममा ९ रुपैयाँ ६६ पैसा र वर्षायाममा ५ रुपैयाँ ५२ पैसामा खरिद बिक्री हुनेछ ।

३७ करोड ५० लाखको साधारण सेयर

कम्पनीको जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । प्रर्वद्धकको तर्फबाट ७५ प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपैयाँ चुक्ता भएको कम्पनीले जनाएको छ । यस कम्पनीमा ५५६ जना प्रवद्र्धक रहेका छन् ।

कम्पनीले ३७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने योजना बनाएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत अर्थात १५ लाख कित्ता स्थानीय वासीलाई दिनेछ भने १५ प्रतिशत सेयर सर्बसाधारणमा बिक्री गरिने छ । स्थानीय र सर्ब साधारणको लागि सेयर निष्काशनको प्रक्रिया शुरु भएको सञ्चालक पाण्डेले बताए ।

आयोजनाको कुल लागत ४ अर्ब ६३ करोड ६१ लाख रुपैयाँ हुने लिबर्टीले जनाएको छ । यस परियोजनाको लागि नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा प्रभु लगायतका बैंकले कर्जा लगानी गरेका छन् । उर्जा उत्पादन शुरु भएको ८ वर्ष ३ महिनामा लगानीकर्ताले आफ्नो लगानी उठाउने कम्पनीको विश्लेषण छ ।

उर्जा मन्त्रालयले २०७१ सालमा उक्त परियोजना निर्माणको लागि अनुमति दिएको थियो । विद्युत उत्पादनको लागि २१०६ बैशाख १४ गतेसम्मको लागि सरकारबाट अनुमति पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.