छोराछोरीको बीमा गर्ने हो ? यस्ता छन् १७ कम्पनीका योजनाहरु

  २०७६ फागुन ६ गते १८:३७     नबिन पोखरेल

काठमाडौं । आफ्ना सन्तानको उज्वल भविष्यको कामना सबै बाबुआमाले गर्छन् । छोराछोरीको सफलतामा हरेक बाबुआमाको खुसी झल्कन्छ ।

आफ्ना सन्तानको उज्वल भविष्यको लागि जोखिम न्यूनिकरण गर्दै जानु हरेक बाबुआमाको कर्तव्य पनि हो । जोखिम कम गर्ने एउटा भरपर्दाे र उपयुक्त विकल्प बीमा नै हो ।

अहिले संचालनमा रहेका १७ वटा जीवन बीमा कम्पनीले जन्मेदेखि १५ वर्ष उमेर समुहको बालबालिका लक्ष्यित बीमा कार्यक्रम संचालन गरिरहेका छन् । बीमाले जोखिमको रक्षावरण गर्ने भएकाले बालबालिकालाई बर्थ डे गिफ्ट स्वरुप बीमा गराइदिन सकिन्छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समिति पनि सबै बाबुआमालाई आफ्नो सन्तान जन्मने वित्तिकै बीमा गराउन सुझाव दिन्छ । भविष्यमा आइपर्न सक्ने जोखिमको रक्षावरण तथा आर्थिक व्यवस्थापनको लागि बीमा उयुक्त विकल्प हुने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।

‘आफ्ना सन्तानको बीमा गराउनु त सबै बाबुआमाको कर्तव्य जस्तै हो, हामीले जन्मदिनमा अरुका बालबच्चालाई बर्थ डे गिफ्ट दिदा पनि बीमा गराएको पोलिसी दिन सक्छौं, जुन हरेक बालबालिकाका लागि भविष्यमा धेरै उपयोगी हुन्छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

विभिन्न जीबन बीमा कम्पनीहरुले बालबालिका लक्ष्यित बीमा पोलिसी संचालनमा ल्याएका छन् । यी कम्पनीहरुले ल्याएका बीमा पोलिसी, त्यसको फाइदा र विशेषता यस्ता छन्ः

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिकाको बीमा गर्न मिल्ने ‘केटाकेटी सावधिक जीवन बीमा’ पोलिसी संचालन गरेको छ । यस्तो बीमा योजनामा १ वर्षदेखि ११ वर्षसम्म उमेर समुहका बालबालिका सहभागी हुन सक्छन् । उक्त बीमा योजनाको बीमाङ्क रकम ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म छ ।

नेशनल लाइफ इन्योरेन्स कम्पनी

‘चिल्ड्रेन प्लान’ शिर्षकमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा योजना संचालन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा जन्मेदेखि १५ वर्षसम्मका बालबालिकाले बीमा गराउँन सकिन्छ ।

यो योजनामा कम्तिमा २५ हजार रुपैयाँदेखि बीमा गराउन सकिन्छ । यो बीमा योजनामा बिमितले बीमा गरेको पहिलो ५ वर्षमा २५ प्रतिशत सर्भायवल बेनिफीट पाउँछन् भने दोस्रो ५ वर्षमा अर्को २५ प्रतिशत थप रकम पाउँछन् । बीमाको अवधि समाप्त हुँदा बिमितले ५० प्रतिशत सर्भायबल बेनिफीट तथा बोनस दुवै प्राप्त गर्न सक्छन् ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘एशियन चाइल्ड इन्डोमेन्ट’ नामक बीमा योजना संचालन गरिरहेको छ । यो योजनमा जन्मेदेखि १० वर्ष उमेरसम्मका बालबालिकाको बीमा गर्न सकिन्छ ।

यो बीमा योजनाको अधिकतम बीमा अवधि १८ वर्ष छ । बीमाङ्क रकम भने ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म छ ।

सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्सले ‘बाल भविष्य जीवन बीमा योजना’ शिर्षकमा बीमा योजना संचालन गरिरहेको छ । यो योजनामा ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको बीमा गराउन पाइन्छ । यो योजनाको अवधी १० वर्षदेखि बढीमा २५ वर्षसम्मको छ ।

गुराँस लाइफ इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ‘गुराँस नौलो बाल सुरक्षा बीमा योजना’ शिर्षकको योजना संचालन गरिरहेको छ । यो योजनामा जन्मेदेखि १५ वर्षसम्मका बालबालिकाको बीमा गराउन सकिन्छ । बीमाको अवधि ५ वर्षदेखि ३० वर्षसम्मको छ ।

ज्योति लाइफ

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना’ शिर्षकको योजना संचालन गरिरहेको छ । यो योजना अनुसार १ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको बीमा गराउन सकिन्छ । यस्तो बीमाको अवधि १० वर्षदेखि २५ वर्षसम्मको छ ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीबन किरण’ शिर्षकमा बीमा योजना संचालन गरिहेको छ । यो योजनमा जन्मेको १ महिनादेखि १५ वर्षसम्मका बालबालिकाको बीमा गराउन सकिन्छ ।

यस्तो बीमा योजनाको बिमांक रकम ५० हजार रुपैयाँदेखि ७५ लाख रुपैयाँसम्म छ । बीमा अवधि पूरा हुने समयभने १० वर्षदेखि ३० वर्षसम्म छ ।

राष्ट्रिय बीमा संस्थान

राष्ट्रिय बीमा संस्थानले ‘चिल्ड्रेन म्यारिज एण्ड एजुकेशन इन्डोमेन्ट’ शिर्षकको बीमा योजना संचालन गरिरहेको छ । सो योजनामा बीमा अवधि सकिए लगत्तै अभिभावक वा संरक्षकले आफ्नो बालबच्चाको विवाह वा शिक्षाको लागि तोकिएको अवधिमा एकमुष्ट रकम पाउँन सक्छन् ।

बीमा संस्थानले सो बीमा योजनामा अन्य बीमा योजनामा जस्तै ६५ प्रतिशत बोनश दिने जनाएको छ ।

रिलायबल लाइफ इन्स्योरेन्स

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले ‘रिलायबल हाइयर एजुकेशन लाइफ इन्स्योरेन्स’ शिर्षकको बीमा योजना संचालन गरिरहेको छ । सो बीमा योजनाको बिमांक रकम ५० हजार रुपैयाँ छ । यस्तो योजनामा जन्मेदेखि १५ वर्षसम्मका बालबालिकाको बीमा गराउन सकिन्छ । बीमा अवधि पूरा हुने समय भने १० वर्षदेखि २५ वर्षसम्म छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ‘रिलायन्स चाइल्ड एसुअरेन्स प्लान’ शिर्षकको बीमा योजना संचालन गरेको छ । सो योजनामा जन्मेको १ महिनादेखि बीमा गराउन सकिन्छ । सो योजनामा एउटै बीमा लेखबाट बच्चा तथा अभिभावकको बीमासमेत गर्न सकिन्छ । यो योजनमा सहभागी हुनको लागि बच्चाको उमेर २१ वर्ष ननाघेको र अभिभावकको उमेर ५५ वर्ष ननाघेको हुनुपर्छ ।

सानिमा लाइफ इन्स्योरेन्स

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘सानिमा बाल सौगात जीवन बीमा’ शिर्षकको योजना संचालन गरिरहेको छ । यो योजनमा ३ महिनादेखि ११ वर्षसम्मका बालबालिकाको बीमा गराउन सकिन्छ ।

बीमा अवधि २१ वर्षसम्म छ । बीमाङ्क रकम ५० हजार रुपैयाँदेखि माथिको छ ।

यो योजनामा बीमा गरेको पहिलो ५ वर्ष प्रतिहजार रुपैयाँमा ६५ रुपैयाँका दरले बोनस दिने कम्पनीले जनाएको छ । बीमाको अवधि सकिएपछि बिमितको थप ५ वर्षसम्म जोखिमको रक्षावरण हुन्छ ।

वार्षिक रुपमा बीमा शुल्क बुझाउँदा १.५ प्रतिशत डिस्काउट पाइन्छ भने अर्ध वार्षिक रुपमा बीमा शुल्क बुझाउँदा ०.७५ प्रतिशत डिस्काउण्ट पाइने व्यवस्था छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘बाल समृद्ध जीवन बीमा’ शिर्षकको योजना संचालन गरिरहेको छ । यो योजनामा जन्मेदेखि १५ वर्षका बालबालिकाको बीमा गराउन सकिन्छ । बीमाको अवधि १० वर्षदेखि ३० वर्षसम्म रहेको छ ।

बीमा शुल्क वार्षिक एकमुष्ठ बुझाउँदा २ प्रतिशत छुट छ भने बर्षको २ पटक गरेर बुझाउँदा १ प्रतिशत छुट पाइन्छ ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चाइल्ड इन्डोमेन्ट प्लान’ शिर्षकको योजना संचालन गरिरहेको छ । सो योजनमा १५ वर्ष उमेरसम्मका बालबालिकाको बीमा गर्न सकिन्छ । बीमा अवधि कम्तिमा १० वर्षसम्मको छ भने बढीमा ३० वर्षसम्मको छ । बीमाङ्क रकम ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म रहेको छ ।

यो योजनामा पनि वार्षिक रुपमा बीमा शुल्क बुझाउँदा २ प्रतिशत तथा अर्धवार्षिक रुपमा बीमा शुल्क बुझाउँदा १ प्रतिशत डिस्काउन्ट पाइन्छ ।

यूनियन लाइफ इन्स्योरेन्स

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘चाइल्ड इन्डोमेन्ट प्लान’ शिर्षकको बीमा योजना संचालन गरिहेको छ । सो योजनाको बिमांक रकम ५० हजार रुपैयाँदेखि माथि छ । यस्तो बीमा योजनामा सहभागी हुन भर्खर जन्मिएकादेखि १३ वर्षसम्मको उमेर समूहका बालबालिका सहभागी हुन पाइन्छ ।

बीमा अवधि भने ५ वर्षदेखि १८ वर्षसम्मको छ । बीमा शूल्क मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रुपमा बुझाउँन सकिने व्यवस्था छ । यो योजनमा दुर्घटना लाभ स्वरुप ७५ लाख रुपैयाँ छ । बीमा शुल्क बुझाएको २ वर्षपछि बिमितले ऋण लिन सक्ने व्यवस्था छ ।

आईएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘आईएमई बाल उमंग’ शिर्षकको बीमा योजना संचालन गरिरहेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्राइम लाइफ स्वर्णीम जीवन बीमा योजना संचालनमा ल्याएको छ । सो योजनामा बीमांक ५० हजार देखी १० लाख रुपैयाँसम्म रहेको छ । जन्मेदेखी १५ वर्षसम्मका बालकालिको उक्त योजना अनुसार बीमा गर्न सकिन्छ ।

कम्पनीले १० वर्ष देखी ३० वर्षसम्मको बीमा योजना संचालन गरि रहेको छ ।

एलआईसी नेपाल

एलआइसी नेपालले ‘चिल्ड्रेन इन्डोमेन्ट’ प्लान शिर्षकमा बालबालिकाको जीवन बीमा पोलिसी संचालन गरिरहेको छ । यो पोलिसी अनुसार एलआइसी नेपालमा १० वर्ष र सोभन्दा कम उमेरका बालबालिकाको बीमा गर्न सकिन्छ । उक्त कम्पनीको बिमांक रकम न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्मको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.