प्रसुुति गृहमा जागेश्वरको जागरणः ३० लाख खर्चेर व्यवस्थापन गरिने फोहोर बेचेर लाखौं कमाई

  २०७६ फागुन ६ गते १५:५८     डोमी शेर्पा

काठमाडौं । कुनै पनि वस्तु आफैमा फोहोर हुँदैन । जुन वस्तुलाई जहाँ राख्नु पर्ने हो त्यहाँ नराखेर अन्यत्र राखेमा त्यो वस्तु फोहोरमा परिणत हुने हो । पुनः प्रयोग गर्न सकिने वस्तु तथा सामानलाई व्यवस्थित र मिलाएर राखियोे भने त्यो फोहोर हुन सक्दैन ।

फोहोरलाई व्यवस्थित गरियो भने त्यसलाई कुनै विधी वा पद्धतीबाट पुनः प्रयोग गर्न सकिन्छ । तर, हामी भने फोहोरलाई फोहोरकै रुपमा लिएर जथाभावी रुपमा फ्याँक्छौं । जसको असर व्यक्ति आफै र समाजलाई पर्छ ।
फोहोर व्यवस्थापन गर्न नत धेरै समय चाहिँन्छ नत कुनै ठूलो खर्च नै । त्यसको लागि चाहिँन्छ त केवल आइडिया ।

कुरा चार वर्ष अगाडिको मात्र हो । काठमाडौंको प्रसुति गृह तथा स्त्री रोग अस्पताललाई आफ्नो अस्पताल परिसरमा भएको फोहोर व्यवस्थापन गर्न हम्मेहम्मे पर्थ्याे । अस्पतालमा भएको फोहोर र दुर्गन्धले अस्पताल मात्र होइन, अस्पतालका कर्मचारीलेसमेत बदनामी हुनु र पटक–पटक वाक्क–दिक्कका कुरा सुन्नु पर्ने अवस्था थियो ।

त्यति मात्र होइन, अस्पतालले अस्पतालमा भएको फोहोर व्यवस्थापन गर्नका लागि वार्षिक ३० लाख रुपैयाँ खर्चिनु पर्ने बाध्यता थियो । त्यसपछि प्रसुति गृहको प्रमुख भएर आए जागेश्वर गौतम । उनले अस्पतालको दुर्गन्ध र वार्षिक ३० लाख रुपैयाँ तिर्नु परेको परिस्थितीलाई अन्त्य गर्ने सोच बनाए ।

अस्पताल परिसर सफा सुग्घर मात्र होइन चार वर्ष अगाडि खर्चनु परेको ३० लाख रुपैयाँ घटाएर अहिले वार्षिक ३७ लाख रुपैयाँ नाफामा छ ।

अस्पतालको फोहोर व्यवस्थापन गर्ने उनकै आइडियाले अहिले परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल सफा सुग्घर र चिटिक्क छ । अस्पताल परिसर सफा सुग्घर मात्र होइन चार वर्ष अगाडि खर्चनु परेको ३० लाख रुपैयाँ घटाएर अस्पताल अहिले वार्षिक ३७ लाख रुपैयाँ नाफामा छ ।

हाल अस्पतालले अस्पतालबाट निस्केको फोहोरलाई व्यवस्थापन तथा विक्री गरेर ७ लाख रुपैयाँ कमाउने गरेको प्रमुख गौतमले बताए । अस्पतालले महिनाभरि गरेको जोखिमरहित र जोखिमयुक्त फोहोर व्यवस्थापन गरेर बेच्ने गौतमको भनाइ छ ।

‘महिनाको अन्तिमतिर फोहोर विक्रीको लागि टेण्डर गर्छौं, फोहोरलाई पुनः प्रयोग गर्ने कम्पनीका मानिस आएर लैजाने गरेका छन्,’ उनले भने ।

फोहोर बेचेरै मासिक ६० हजार रुपैयाँ आम्दानी हुने गौतमले बताए । ‘अस्पतालको फोहोर व्यवस्थापन संसारभरमै चुनौतीको विषय रहेको उनको भनाइ छ ।

‘अस्पतालले फोहोरहरु छुटाईसकेपछि त्यसलाई फोहोर व्यवस्थापन कक्षमा पठाउँछ, फोहोर व्यवस्थापनकै लागि हामीले पूर्णकालिन रुपमा ६ जना कर्मचारी खटाएका छौं, उनले भने ।

जोखिमरहितलाई स्टोर गरेर राखिन्छ र जोखिम युक्त फोहोरलाई अस्पतालले अटोकेल्भले आफै निर्मलीकरण गर्दछ।
उपचारका लागि अस्पतालमा आउने मानिसहरु अस्पतालकै फोहोरले झन बढी समस्यामा पर्ने गरेका उदाहरण धेरै छन् । विशेष गरेर फोहोरले सरुवा रोग फैलिने गर्छ ।

यसरी फोहोर व्यवस्थापन गरेर विक्रि गर्नु आफुहरुको कला भएको गौतम बताउँछन् । अप्रेसन गर्दा एक पटक प्रयोग भएको सामाग्री दोस्रो पटक प्रयोग गर्नुहुँदैन । यसलाई पुन: प्रयोग गर्नको लागि उक्त जोखिमयुक्त सामाग्रीलाई सफा गरेर, सुख्खा पारेर, १ सय २१ डिग्रि सेन्टीग्रेड तापक्रम आधा घण्टा पकाएर त्यसलाई जोखिमरहित सामाग्री बनाएर पुनः गर्न सकिने उनको भनाइ छ ।

हाल परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालसँग दुई अटोक्लेभ (सरसफाई गर्ने मेसिन) छन् । अस्पतालले अटोक्लेभ प्रयोग गरेर मात्र जोखिमयुक्त सामानलाई डिस्पोज गर्दै आएको छ । कागज पुनः प्रयोगमा आउँदा हजारौं रुखहरु काटिनबाट बच्ने उनले बताए ।

यसले हरियाली पनि कायम राख्ने र वातवरणलाई पनि प्रभाव कम पर्दछ । त्यसैले पनि फोहोर व्यवस्थापन सबैका लागि आवश्यक रहेको गौतमको भनाइ छ । हिक्याप, विश्व स्वास्थ्य संगठन र कर्मचारीलाई १ वर्षको तालिम पछि मात्र अस्पतालले आफै फोहोर व्यवस्थापन गर्न सकेको गौतमले बताए ।

जोखिमरहित फोहोर भन्नाले कागज, पाल्स्टिक, सलाईनका बोटलहरु हुन् । यस्तै, जोखिमयुक्त फोहोर भन्नाले रगत, रगत लागेका कपडा, शरीरबाट बग्ने पानी, मासु, दिसा–पिसाब हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.