किन हुन्छ पुरुष र महिलामा बाँझोपन ? यसरी सम्भव हुन्छ उपचार

  २०७६ फागुन ६ गते १२:२७     डाेमी शेर्पा

काठमाडौं । प्रत्येक ६ जोडीमध्ये १ जनामा बाँझोपनको समस्या हुने गर्दछ । कुनै पनि जोडीको एक वर्षसम्म गर्भधारण गर्ने प्रयास विफल हुन्छ भने उनीहरु एक वा दुवैमा बाँझोपना भएको बुझिन्छ ।

बाँझोपन भन्ने बित्तिकै मानिसहरुले सामान्य रुपमा महिलालाई हुने समस्याको रुपमा बुझ्छन् । तर, बाँझोपनको समस्या महिलालाई मात्र हुँदैन । महिला र पुरुष दुबै बाँझोपनको समान रुपमा सिकार हुन्छन् ।

सय जना दम्पतीमा चाहेको बेला १५ जनामा गर्भ नबस्ने समस्या हुन्छ । चाहेको बेला भन्नाले १ वर्षसम्म परिवार नियोजनको कुनै पनि साधन प्रयोग नगरी यौन सम्बन्ध राख्दा पनि गर्भ नबस्नु हो । यसलाई निःसन्तानपन भनिन्छ ।

यो दुई प्रकारको हुन्छ । एउटा रहेको छ प्राइमरी इनफर्टिलिटी जो कहिले पनि बच्चा नपाएकालाई भनिन्छ । दोस्रो, सेकेण्डरी इनफर्टिलिटी जो एक पटक बच्चा भइसकेर पनि दोस्रो पटक बच्चा हुँदैन ।

साधरणतय महिलाको कारणले गर्भ नबस्ने समस्या ४० प्रतिशत जति हुन्छ भने पुरुषको कारणले ३० प्रतिशत जति हुन्छ । र, दुवै जनाको कारण वा बिनाकारण बच्चा नबस्ने समस्या ३० प्रतिशत हुन्छ ।

पुरुषलाई किन हुन्छ बाँझोपन ?

गर्भ बस्नलाई लाखौं सुक्रकिट बन्नु पर्छ । त्यसैले सुक्रकिट धेरै नबन्नु पुरुषमा बाँझोपन हुनुको एक कारण हो ।

राम्रोसँग विकास नभएको टेसटिसका कारण पनि पुरुषमा बाँझोपनको समस्या हुन्छ । टेसटिसहरु पेटमा विकास हुन्छ । पुरुष बच्चा जन्मँदा नौं महिना पुगेर जन्मेपछि टेसटिस अण्डकोषमा आएर बाहिर निस्केर बस्छ । कतिको भित्रै अड्केर बसेको पनि हुन्छ । त्यस्तो अवस्थामा पनि सुक्रकिट बन्दैन र बाँझोपन हुने गर्दछ ।

टेस्टिस (अण्डकोष) को वरिपरि भेरिकोसिल (रगतको नशाहरु फुल्ने समस्या) को कारण पनि शुक्रकिट नबन्ने हुन्छ ।

शुक्रकिट बन्ने तापक्रम भनेको ३३–३४ डिग्रि सेन्टीगे्रड हो । शरीरको तापक्रम ३७ डिग्रि सेन्टीगे्रड हुन्छ । यसै कारण टेसटिस शरीरभन्दा केही टाढा रहेको हुन्छ । जसले गर्दा तापक्रम नियन्त्रण भएर शुक्रकिट बन्छ । तर, केही मानिसहरु एकदमै तापक्रम भएको ठाउँमा काम गर्छन्, एकदमै टाईट लुगा लगाउँछन्, तातो पानीमा धेरै नुहाउँछन् भने उनीहरुमा पनि शुक्रकिटको संख्या कम हुन्छ ।

अर्काे कारण भनेको संक्रमणले हो । सिफिलिस, गोनोरिया जस्ता यौन रोगले शुक्रकिट आउने बाटो बन्द गरिदिन्छ । सेतो पदार्थ आउँछ तर त्यसभित्र शुक्रकिटहरु हुँदैनन् ।

अर्काे कारण हो एन्टीक्यान्सर औषधी र साईटोटक्सिक औषधी । त्यसले पनि शुक्रकिट नबन्ने हुन्छ । कसैले रेडियोथेरापी दिएको छ वा शरीरमा विकिरणको प्रयोग धेरै भएको छ भने पनि शुक्रकिट उत्पादनमा समस्या हुन्छ । यस्तै, सर्जिकल अपरेसन गरेर टेस्टिस निकालिएको छ वा हर्नियाको अपरेसन गर्दा टेसटिसको तापक्रम गडबड भएको छ भने पनि पुरुषमा बाँझोपनको समस्या हुन्छ ।

महिलालाई किन हुन्छ बाँझोपन ?

डिम्बा अण्डा नबन्नु महिलामा बाँझोपन हुनुको मुख्य कारण हो । यो नबन्ने अवस्थालाई पोलिसिस्टिक ओभरियन डिजिज भनिन्छ । केमोथेरपी, रेडियोथेरापी, ओषधीको प्रयोग र अन्य धेरै कारणले अण्डा बन्दैनन् ।

फ्यालोपिन ट्युब बन्द भएर पनि समस्या उत्पन्न हुन्छ । यस्तो समस्या भएको अवस्थामा अण्डा बन्ने तर पाठेघरसम्म नपुग्ने अवस्था रहन्छ । यस्तै, पाठेघर नै खराब भएर पनि महिलामा बाँझोपनको समस्या देखिन्छ ।

उपचारहरु के के छन् ?

सबैभन्दा पहिला के कारण बाँझोपन भएको भन्ने पत्ता लगाउन जरुरी छ । किनभने हरेक समस्याको भिन्नाभिन्नै उपचार विधि छ । जस्तै शुक्रकिट कम भएको छ भने त्यो किन कम भयो भन्ने पत्ता लगाउन पर्छ । अण्डा नबन्ने समस्यो हो भने अण्डा बनाउने औषधीको प्रयोग गर्नुपर्छ ।

यस्तै, फ्यालोपिन ट्युब बन्द छ भने नली खोल्ने अप्रेसन गर्नुपर्छ । पाठेघरमा मासु पलाएर वा पाठेघरकै अन्य समस्याले बच्चा नबसेको हो भने त्यो निकाल्न सकिन्छ ।

त्यसैले पहिला कारण पत्ता लागउनु पर्छ । जस्तै अण्डा बनेको छ कि छैन भनेर अल्टा«साउण्डबाट हेर्न सकिन्छ । शुक्रकिट ठिक छ कि छैन भनेर ल्याबमा जाँच्न सकिन्छ । यस्तै, नली खुला छ कि छैन भनेर हिस्टेरोसाल्पिङ्गोग्राम, सानोस्टेरोग्राम अथवा ल्याप्रोस्कोपी गरेर हेर्न सकिन्छ ।

के कारणले बच्चा नभएको हो भनेर पत्ता लगाउने विधिहरु छन् । यसरी कारण पत्ता लागेपछि सोही अनुसार उपचार गर्नुपर्छ ।

आईभिएफ र आईयुआई उपचार विधि

यदि पुरुषको सुक्रकिट नै छैन र भित्र टेसटिसमा मात्र त्यो छ भने त्यसलाई लिएर टेस्ट्युब बेबी बनाउन सकिन्छ । यदि पुरुषको भित्र शुक्रकिट पनि छैन र बाहिर पनि छैन भने उसले आफ्नो पार्टनरलाई दोस्रो पुरुषको शुक्रकिट राखेर प्रसोधन गरेर पाठेघरमा राख्न सकिन्छ । यसलाई कृत्रिम गर्भाधान भनिन्छ ।

कृत्रिम गर्भाधान दोस्रो व्यक्तिको सुक्रकिट लिएर पनि गर्न सकिन्छ र आफ्नै श्रीमानको पनि लिएर गर्न सकिन्छ । यसलाई आईयुआई भनिन्छ । यसमा महिलाको डिम्बा भित्रै बन्छ र शुक्रकिटलाई मात्र भित्र पठाइन्छ । यो गर्नको लागि १० देखि १५ हजार खर्च लाग्दछ ।

यस्तै महिलाको लागि भने आईभिएफ विधि पनि छ । बच्चा बसाउने यो अर्को विधि हो । यसले महिलाको अण्ड बनाउने काम गर्छ । साधारणतः महिलालमा एक महिनामा एउटा अण्डा बन्छ । औषधीहरु दिएर महिनामा ५–७ वटा अण्डा बनाउन सकिन्छ । त्यो बनेको अण्डा वा डिम्बलाई अल्ट्रासाउण्डको माध्यमबाट योनीबाट सुईको माध्यमले सबै निकाल्न्छि ।

यसरी निकालिएको अण्डामा पुरुषको शुक्रकिट मिसाइन्छ । अनि ४८ घण्टापछि कुन कुनमा गर्भधान भएको छ भनेर हेरिन्छ । त्यसपछि त्यसमध्येको बनेको दुई भु्रण योनीबाट सुइको माध्यमबाट पठाईन्छ । यो दुईटा नली काटेको महिलामा पनि गर्न सकिन्छ । यो विधिको उपचार गर्नको लागि औषिधी उपचारसहित २ लाख रुपैयाँसम्म खर्च लाग्ने गर्दछ ।

निसन्तान पनबाट बच्ने उपायहरु

–तौल बढी र कम पनि हुनुहुँदैन

–नियमित व्ययाम र तागतिलो खाना खाने

–पुरुषहरुले धेरै गर्मी ठाउँमा काम नर्गने, टाईट कपडा नलगाउने

उमेरले बाँझोपनमा प्रभाव पार्छ

उमेरले बाँझोपन प्रभाव पार्छ । सानो उमेरले बाँझोपनमा खासै प्रभाव नपारेपनि ३५ वर्षपछि महिलाहरुमा बच्चा बस्ने सम्भावना कम भएर जान्छ । एक महिलामा डिम्ब उत्पादन हुन फोलिकलको आवश्यकता पर्छ । उमेरको बृद्धिसँगै फोलिकल उत्पादनमा कमी हुँदै जान्छ । एक जना महिलामा जीबनभर ५ सय फोलिकल मात्रै बन्छ र उमेर बढेसँगै घट्दै जान्छ । तर यसको मतलब ३५ वर्षपछि बच्चा हुनै सक्दैन भन्ने भने होइन ।

एउटा महिला र पुरुषको लागि बच्चा पाउन उपयुक्त उमेर २० वर्षदेखि ३० वर्ष रहेको छ ।

(परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीका निर्देशक जागेश्वर गौतमसँग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.