२०७६ फागुन ६ गते १२:४० विकासन्युज
हेटौँडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
मन्त्री फुयाँलले मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पारेको योजना पूरा गर्न आफू लागिपर्ने बताए ।
उनले प्रदेशका १३ वटा जिल्लाका ११९ वटै स्थानीय तहको विकासका लागि आफूले दिनरात नभनी काम गर्ने बताए । मन्त्री फुयाँलले भने, ‘अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछु ।’
उनले कर्मचारीतन्त्रलाई जनतामुखी बनाउन मुस्कानसहितको सेवाको अवधारणा पूर्णरुपमा कार्यान्वयन गरिने बताएका छन् । कर्मचारी क्षेत्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
उनले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिबद्ध भएर अगाडि बढ्ने उल्लेख गरे । काठमाडौँ जिल्ला क्षेत्र नम्बर ३ तथा प्रदेशसभा “ख” बाट प्रदेश सभा सदस्यमा निर्वाचित फुयाँल यसअघि संविधानसभा सदस्य थिए । नेकपा बाग्मती प्रदेशका प्रमुख सचेतक समेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि मन्त्री बनेका हुन् ।
विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका फुयाँल २०४१ सालमा तत्कालीन एमालेको सदस्य भएका थिए । विसं २०६५ सालमा सम्पन्न पार्टीको आठौ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएका फुयाँल २०४९ र २०५४ सालमा काठमाडौँको आलापोट गाविसको अध्यक्ष, २०७० सालको संविधानसभाको चुनावमा निर्वाचित भएका थिए । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.