१०३ वर्षअघि इन्जिनियर डिल्लीजङ्ग थापाले बनाएको एशिया कै पहिलो सुरुङमार्ग प्रयोगमा ल्याइँदै

  २०७६ फागुन ५ गते १८:२३     राजाराम न्यौपाने

काठमाडौं । काठमाडौंका लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउन १०३ वर्षअघि चन्द्रशमशेरको आदेशमा हेटौंडा–अमलेखगञ्ज सुरुङमार्ग बन्यो । इन्जिनियर ब्रिगेडिर डिल्लीजंग थापाले डिजाईन गरेको एशियाकै पहिलो सुरुङमार्ग २०१६ सालदेखि बन्द छ ।

बागमती प्रदेश सरकारले हटौंडा र अमलेखगञ्जलाई सडकले जोड्न चुरे पहाडमा बनेकाे साेही सुरुङमार्ग पुनः प्रयाेगकाे गृहकार्य थालेको छ । सुरुङमार्ग पुनः प्रयाेग गरि पर्यटकका लागि पार्क निर्माण गर्ने प्रदेश सरकारकाे तयारी छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ चुरेमा रहेको सुरुङमार्गमा २०१६ सालसम्म गाडी आवतजावत हुने गरेको थियो । ६० वर्षपछि पुनः प्रयाेगकाे गृहकार्यमा प्रदेश सरकार लागेकाे हाे ।

समान ल्याउँन र मानिस आवतजावत गर्न प्रयोग भएको हटौंडा-अमलेखगञ्ज सडक सञ्चालले जाेड्न प्रयोग भएको सुरुङमार्ग अब पर्यटकीय प्रयाेजनमा प्रयोग हुन लागकाे छ ।

चुरेको सुरुङमार्ग प्रयोग गरेर पर्यटकहरुका लागि पार्क निर्माण गर्न लागिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका मेयर हरिबोल महतले एशिया कै सबैभन्दा पुरानो सुरुङ मार्गको प्रयोग गरेर पिक्निक स्पट निर्माण गर्न लागिएकाे जानकारी दिए । सुरुङ मार्गको नै ५ कठ्ठा जग्गा रहेको र १५ कठ्ठा जग्गा बन कार्यलयसगँ मागिएको महतले बताए ।

त्रिभुवन राजपथ बन्न थालेपछि सो सुरुङमार्गमा गाडी गुड्न बन्द भएको थियो । २०५२ सालको माओवादी द्वन्द्व शुरू भएपछि मान्छे हिंड्न पनि रोकिएको थियो ।

साना र हलुका सवारी साधन गुडाउन मिल्ने उक्त मार्ग हुँदै राजदरबार तथा राणाहरूका लागि गाडी ल्याइएको थियो । सुरुङमार्गको डिजाइन नेपालका पहिलो इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाले १९७४ सालमा गरेका थिए ।

जङ्गबहादुरका छोरीतिरका पनाति थापाले भारतको थमसन् कलेज अफ इन्जिनियरिङ देहरादुनमा अध्ययन गरेका थिए । श्री ३ महाराज चन्द्र शमशेर राणाकाे आदेशमा सुरुङमार्ग बनाउन नेपाली सेनाको प्रयोग गरिको थियो ।

थापा पनि नेपाली सेनाका इन्जिनियर थिए । तत्कालिन सरकारले विनियोजन गरेको बजेटभन्दा कम लागतमै सुरुङ बनेकाले बाँकी रकम सरकारी कोषमा नै फिर्ता भएको स्थानीय बताउँछन् । तर, लागत कति थियो भन्ने एकिन छैन ।

उक्त सुरुङमार्गको चौडाइ ९ फिट र उँचाइ १० फिट छ । लहरी, मालबाहक सवारी साधन छिर्ने आकारमा यसको निर्माण भएको हाे । काठमाडौंको लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउनु यसको उद्देश्य थियो ।

१९९० र २०७२ सालको भूकम्पबाट सुरुङलाई खासै क्षति भएन । त्रिभुवन राजपथ बनाउँदा सुरुङको बीचमा धसिएको एक ठाउँ बाहेक करीब ९० प्रतिशत भाग प्रयोग गर्न सकिने अवस्थामा छ ।

बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाले उक्त सुरुङलाई ऐतिहासिक महत्वस्थलका रूपमा संरक्षण गर्ने योजनाअनुसार विवाह मण्डप, पिकनिक स्पट, भ्यू टावर, बगैचा तथा पार्कको निर्माण गर्न लागिएको हो ।

त्यो युगमा बनेको सुरुङमार्गलाई नेपालको विकास प्रयासको स्वर्णद्वार मानेर अरू ठाउँमा पनि सुरुङ मार्ग निर्माण गर्न सकिएको भए आज देशका धेरै ठाउँमा यातायात सहज हुने थियो ।

सुरुङ मार्गमात्र नभई इन्जिनियर थापाले काठमाडौं—हेटौंडा रोपवे, १९९० सालको भूकम्पपछि भत्किएको धरहरा, शीतलनिवास, काठमाडौं डिल्लीबजारस्थित चारखाल अड्डा, टोखा सडक, जनकपुर—जयनगर रेल्वेलगायत संरचनाको डिजाइनदेखि निर्माणसम्मको नेतृत्व गरेका थिए ।

अहिले खानेपानी, सिंचाइ र विद्युत् परियोजनाका लागि सुरुङ बनाउने क्रम बढ्दो छ । मेलम्ची खानेपानी आयोजनाका लागि बनाइएको २७ किलोमिटरको सुरुङ सबैभन्दा लामो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.