बैंकरसँग ३ घण्टा अर्थमन्त्री, बैंकिङ क्षेत्रको समस्या समाधान गर्ने आश्वासन

  २०७६ फागुन ५ गते १७:३६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ क्षेत्रका समस्या समाधान गरिदिने आश्वासन दिएका छन् । मन्त्रालयमा २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँगको छलफलपछि मन्त्री खतिवडाले समस्या समाधान गर्न समिति नै बनाए ।

छलफलका क्रममा उठेका विषयहरुमा केन्द्रित भई थप सहजीकरण गर्न आवश्यक गृहकार्य गरी कार्यान्वयनको प्रकृयामा लैजान अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले यथाशीघ्र छलफल गरी टुंगोमा पुर्याउन मन्त्री खतिवडाले निर्देशन दिए ।

देशको समसामयिक आर्थिक तथा वित्तीय अवस्था तथा वैंकिङ्ग क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्देश्यले मन्त्री खतिवडाले बैंकर बोलाएका अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए ।

छलफलमा वैंकिङ्ग क्षेत्रमा विशेष गरी तरलताको अवस्था, कर्जाको माग, असुली र व्याजदर, सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी पालना गर्नुपर्ने विषयहरू, सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको स्वतःस्फूर्त सहभागिता अभिवृद्धि, संस्थागत सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउने लगायतका विषयमा छलफल भएको थियो ।

यस्तै, सहुलियतपूर्ण कर्जा वितरणलाई ऋणीको आवश्यकता र माग बमोजिम परिचालन, नेपाल राष्ट्र वैंकको एकीकृत निर्देशनहरुको कार्यान्वयन र वित्तीय ग्राहक पहिचान (केवाईसी) को मौजुदा व्यवस्थालाई सरलीकरण गर्ने, हेजिङ्ग सुविधा, मर्जर नीतिको कार्यान्वयन लगायत विषयहरूमा छलफल भएको थियो ।

छलफलमा मन्त्री खतिवडाले वैंक तथा वित्तीय संस्थामा रहेका समस्याहरूको तत्काल र दीर्घकालीन समाधानको लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गरी सबै पक्ष तयार हुन आग्रह गरे । यस्तै, निजी क्षेत्रलाई विश्वासको वातावरण सृजना गरी लगानीमैत्री र व्यवसायिक वातावरणको सुनिश्चित गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक तथा बैंकर्स एशोसियसनलाई आग्रह गरे ।

छलफलमा अर्थसचिव शिशिर कुमार ढुङ्गाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव बिनोद केसी, नेपाल राष्ट्र वैंकका डेपुटी गभर्नरहरू लगायत अन्य पदाधिकारीहरु, अर्थ मन्त्रालयका पदाधिकारीहरु सहित सवै वाणिज्य वैंक एवं सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.